PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पूरा भएन लालकिशोर साहले गरेका वाचा : न डिलक्स शौचालय बन्यो न सरोवर नै भए सुन्दर



सुमित मिश्र

पूरा भएन लालकिशोर साहले गरेका वाचा : न डिलक्स शौचालय बन्यो न सरोवर नै भए सुन्दर

जनकपुरधाम : मधेश प्रदेशमा रहेको कुल १ सय ३६ पालिकामध्ये केन्द्रमा पर्छ - जनकपुरधाम उपमहानगरपालिका। जनकपुरधाम मधेश प्रदेशको राजधानी पनि। यहाँका नगर प्रमुख हुन् लालकिशोर साह। उनले स्थानीय तहको प्रमुखका लागि निर्वाचन लड्दा जनता समक्ष कयौ नाराका साथै प्रतिवद्धताहरुको सूची पेश गरेका थिए। उनका आकर्षक प्रतिवद्धताकै आधारमा यहाँका जनताले विश्वास गरे। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवारी दिएका लालकिशोर साहलाई नगर प्रमुख र रिता मिश्रलाई उपप्रमुखका रुपमा विजयी गराए।

चुनाव लड्नु अघि गरेका वाचा तथा प्रतिवद्धताहरुको फेहरिस्त नगरप्रमुख लालकिशोर साहले उपमहानगरको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि प्रस्तुत गरेका थिए। उनले २०७४ साल फागुन ९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा २६ बुँदे प्रतिवद्धता जनाएका थिए। उनले प्रस्तुत गरेको प्रतिवद्धताहरु मध्ये एकाध बाहेक अधिकांश नारा र कागजबाट बाहिर निस्किएन। २० वर्षको लामो अन्तरालपछि पाएको स्थानीय सरकारको प्रतिवद्धताबाट जनकपुरधामवासी निक्कै उत्साहित थिए। तर जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा स्थानीयमा देखिएको त्यो उत्साह निराशामा परिणत भएको छ।

पहिलो नगरसभामा नगरप्रमुख साहले प्रस्तुत गरेका प्रतिवद्धतामध्ये शहीदद्वारको निर्माण, नगरको धार्मिक पहिचान झल्काउने गरी जनकपुरधाम नामाकरण, नगरका केही स्थानमा सीसी क्यामेरा जडान, सडक बत्ती जडान लगायतका केही प्रतिवद्धता बाहेक अरु महत्वपूर्ण चाहिँ कुनै पनि पूरा गर्न सकेनन्।

नगरप्रमुख साहले पहिलो नगरसभा बैठकमा जनकपुरधामको फोहोरमैला व्यवस्थापन, अन्तर्राष्ट्रिय स्तरको ल्यान्डफिल साइटको निर्माण, धार्मिक सरोवरहरुको संरक्षण सम्बर्द्धन, लामखुट्टे नियन्त्रण, प्लास्टिकजन्य वस्तुको प्रयोगमा निषेध, छाडा चौपाया नियन्त्रण लगायतका प्रतिवद्धताहरु जनाएका थिए जुन कागजमै सीमित रहे। त्यसैले स्थानीय भने नगरप्रमुख र जनप्रतिनिधिहरुको कामबाट सन्तुष्ट छैनन्।

जनताको जनजीविकासँग सम्बन्धित कुनै पनि काम जनप्रतिनिधिले गर्न नसकेको जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का स्थानीय प्रकाश साह बताउँछन्। फोहोर मैला व्यवस्थापन, लामखुट्टे नियन्त्रणलाई महत्वपूर्ण नारा बनाएर जनप्रतिनिधिले जनतासँग मत मागेका थिए तर अहिले पनि ती समस्या पहिले जस्तै रहेको उनको भनाइ छ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न जनप्रतिनिधि पूर्णतः असफल भएको स्थानीय आनन्द झाले पनि सुनाए। ‘सीप विकास तथा रोजगार प्रवर्द्धनका कार्यक्रम ल्याइने प्रतिवद्धता जनाएका थिए जबकि जनकपुरधाममा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सफलतापूर्वक संचालन हुन सकेन,’ असफलताको कारण सुनाए उनले।

नगरप्रमुख लालकिशोरको पछिल्लो स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका जनकपुरधाम उपमहानगरपालिकाका नेपाली कांग्रेसको नगर सभापति मनोजकुमार साहले फोहर व्यवस्थापनको स्थायी समाधान गर्न अन्तर्राष्ट्रिय स्तरको स्यानेटरी ल्याण्डफिल साइट निर्माण गर्ने भनेर मत मागे पनि ५ वर्ष हुनै लाग्दा कामको थालनीसम्म हुनसकेको आरोप लगाउँछन्। ल्यान्डफिल्ड साइटका लागि आइयुडीपी परियोजना अन्तर्गत ४८ करोड रुपैयाँ छुट्याइएको थियो तर ५ वर्षमा समेत उक्त परियोजना निर्माण गर्न नसक्नु साहको असफलता प्रमाण भएको कांग्रेसका नगर सभापति साहले बताए।

जनप्रतिनिधि जनताको काम वा विकासभन्दा पनि लुट र अनियमिततामा मात्रै लिप्त देखिएको साहले आरोप लगाए। ‘जनकपुरधामको सडक बत्ती जडान गर्नका लागि समेत बिना कुनै टेण्डर आफ्नै भान्जालाई सो ठेक्का दिए। त्यो बत्ती जडानमा पनि करोडौँ अनियमितता भयो,’ उनले भने।

उनले साहले शहीदको अपमान गरेको समेत आरोप लगाए। शहीदको सम्मानमा निर्माण गरिएको शहीदद्वार निर्माणको टेण्डर प्रक्रियामै कमिसनको खेल भएको मनोजको आरोप छ।

के भन्छन् मेयर?

नगरप्रमुख लालकिशोर साह भने ५ वर्ष अगाडिको जनकपुरधाम र अहिलेको जनकपुरधामलाई हेरेर मात्रै आफ्नो कामको मूल्यांकन गर्न आग्रह गरिरहेका छन्। उनले आफूले सोचेभन्दा बढी नै काम गरेको दाबी गर्दै आइरहेका छन्। जनकपुरलाई ‘धाम’ बनाउनुका साथै यहाँका सडक विस्तार गरिएको उनको दावी छ।

‘म नगर प्रमुखमा निर्वाचित भएपछि सडकहरु फराकिलो मात्रै होइन चिल्ला पनि छन्।  दशकौंसम्म विद्यालयमा हुन नसकेको शिक्षक दरबन्दी मिलान भएको छ,’ उनले भने।

जनकपुरधामको उत्तरी प्रवेशद्वारमा शहीदद्वारको निर्माण गरिएको र सडकभर बत्ति जडान गरिएको उनको दाबी छ।

‘निर्वाचित भए शहीदहरुको सम्मानमा शहीदद्वार निर्माण गर्ने भनेको थिएँ, सोही अनुरुप शहीदद्वारको निर्माण गरिएको छ,’ उनले भने।

अलपत्र परे सरोवर

जनकपुरधामलाई सुन्दर र पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि आकर्षणको स्थल बनाउनका लागि ४५ करोडको परियोजना संचालन हुनै सकेन। शहरी विकास मन्त्रालयले सोही अनुसारको योजनालाई स्वीकृति दिएको थियो तर टेण्डर र योजना समयमा संचालन गर्न नसकेपछि त्यो सौन्दर्यकरणको योजना नक्सामै सीमित भयो। योजना अन्तर्गत ३२ वटा जनकपुरधामका ऐतिहासिक पोखरीहरुको सौन्दर्यीकरण गर्ने लक्ष्य लिइएको थियो।

सोही परियोजना अन्तर्गत १०० वटा डिलक्स शौचालय बनाइने योजना पनि रहेको थियो । तर, अहिलेसम्म एउटा पनि डिलक्स शौचालयको काम पूरा हुन सकेको छैन।

नगरमा बेरुजुको चाङ

जनकपुरधाम उपमहानगरपालिका वित्तीय अनुशासन कायम गर्न समेत असफल देखिएको छ। आर्थिक वर्ष २०७४/७५ मा २५ करोड ८४ लाख ७७ हजार बेरुजू देखिएको थियो। जसमध्ये असुल गर्नुपर्ने २ करोड ६७ लाख २८ हजार, नियमित गर्नुपर्ने ५ करोड ६६ लाख ५५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड १४ लाख ३२ हजार र पेश्की १६ करोड ३६ लाख ६२ हजार रहेको थियो। त्यसपछि जनकपुरधाम उपमहानगरपालिकाले एक आर्थिक वर्ष आफ्नो लेखा परीक्षण नै गराएन।

आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ५७ लाख ३२ हजार बेरुजु देखिएको थियो। जसमध्ये असुल गर्नुपर्ने १ करोड ७४ लाख ३ हजार, प्रमाण पेश गर्नुपर्ने २२ करोड १७ लाख ३ हजार, नियमित गर्नुपर्ने ७ करोड ७ लाख ९३ हजार र पेश्की ४ करोड ५७ लाख १८ हजार रहेको थियो। 

जनकपुरधामको पहिलो नगरसभामा नगरप्रमुख लालकिशोर साहले निति तथा कार्यक्रम मार्फत गरेका २६ बुँदे प्रतिवद्धताहरु।  

  • नगर क्षेत्रको पुर्वाधार निर्माणमा प्राथमिकता दिइनेछ।
  • फोहरमैला व्यवस्थापन तथा ढल निर्माणमा जोड दिइनछ।
  • नगर भित्रका ऐतिहासिक धार्मिक मठमन्दिर व्यवस्थापनमा जोड दिइनेछ।
  • धार्मिक सरोवरहरुको सौन्दर्यीकरण तथा संरक्षणमा विशेष ध्यान दिइनेछ।
  • नगर सुरक्षालाई ध्यान दिँदै सडक बत्ती, सि.सि. क्यामरा, ट्राफिक संकेतको व्यवस्थापनमा जोड दिइनेछ।
  • स्मार्ट सिटीको अवधारणालाई अवलम्बन गरिनेछ।
  • पर्यटकिय सम्भावनालाई मध्येनजर गर्दै पर्यटन वेब साइट, पर्यटकिय गाइड बुक तयार गरिनेछ।
  • प्लाष्टिक जन्य वस्तुहरुको प्रयोगलाई निषेध गरी माटोका भाडा, कागज र कपडाको झोला तैयारीमा अनुदान दिइनेछ।
  • सामाजिक समावेशिकरण तथा लैङ्गकि सामनताका दृष्टिकोणले वालमैत्री स्थानीय शासन, महिला, दलित, अपाङ्ग, जेष्ठ नागरिक, अनाथ बालवालिकाको हेरचाहमा जोड दिइनेछ।
  • सिप विकास तथा रोजगार प्रवर्धन कार्यक्रममा जोड दिई गरिवी न्यूनीकरण गरिनेछ।
  • सूचना प्रविधिमा अधारित प्रशासन संचालन गर्दै सुसाशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवर्धन गरिनेछ।
  • फोहर व्यवस्थापनको स्थाई समाधान गर्न अन्तर्राष्ट्रिय स्तरको स्यानिटरी ल्यान्डफिल साइट निर्माण गरिनेछ।
  • सामुदायिक विद्यालयका दलित छात्राहरुलाई (९ कक्षा १२ कक्षा) शिक्षामा सहज पहुचका लागि साईकल उपलब्ध गराउने नीति लिइएको छ।
  • नगर भित्रका सार्वजनिक जमिनहरुको संरक्षण गरिनेछ।
  • जानकी मन्दिर राम मन्दिर आदि पुरातात्विक महत्व बोकेका सांस्कृतिक धरोहरहरुको संरक्षण र संर्वधनका लागि विश्व सम्पदा सूचीमा समावेश गर्ने प्राथमिकताका साथ पहल गरिने छ।
  • मिथिला कला र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा जोड दिइनेछ।
  • लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम संचालन गरिनेछ।
  • जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश नागरिकहरु कृषिमा आधारित रहेको सभ्यलाई आत्मसात् गर्दे कृषि क्षेत्रको आधुनिकीकरण तथा विकासलाई प्राथमिकिता प्रदान गरिनेछ।
  • नगर क्षेत्रमा शिक्षा एवं स्वास्थय जस्ता सामाजिक पुर्वाधारको विकास तथा स्तरीयता प्रदान गर्न विशेष कार्यक्रम संचालित गरिनेछ।
  • वर्तमान जनकपुरधाम उपमहानगरपालिकाको जनघनत्व एंव क्षेत्रफल अत्यन्त विस्तार भईसकेको वर्तमान परिप्रेक्ष्मा नगरको व्यवस्थित तथा संतुलित विकासलाई दृष्टिगत गर्दै बाह्य चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन र कार्य योजना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।
  • जनकपुरधाम उपमहानगरपालिका प्रवेश गर्ने उत्तर तिर भव्य शहीद प्रवेशद्वार निर्माण गरिनेछ।
  • जनकपुर उपमहानगरपालिका क्षेत्र भित्र मधेश आन्दोलनमा शहादत प्राप्त परिवारका एक-एक सदस्यलाई नगरपालिकामा रोजगार प्रदान गरिनेछ।
  • मिथिला कलालाई पाठक्रममा समावेश गर्ने पाईला चालिनेछ।
  • मिल्स एरियामा स्थित शुभ चौकमा भव्य स्व. शुभ नारायण स्मारक निर्माण गरिनेछ।
  • प्रदेशिक राजधानी भएको जनकपुर उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नतिका लागि अग्रसरता साथ सार्थक प्रयास गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell