बुटवल : संघीय सांसद वृजेश कुमार गुप्ता र लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनीहरु हृदयेश त्रिपाठी समूहका नेताहरु हुन्।
यो समूहबाट सूर्य चिन्ह लिएर केन्द्रमा दुई र लुम्बिनी प्रदेशसभामा दुई जनाले चुनाव जितेका थिए। त्रिपाठीले भने अहिले जनता प्रगतिशील पार्टी गठन गरेका छन्।
स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित गुप्ता र कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका श्रीवात्सवलाई सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।
कपिलवस्तुको तौलिहवा नगरपालिकामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताकासमर्थक नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए। नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए।
गुप्ता र श्रीवात्सवसँगै कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा पनि एमाले प्रवेश गरेका छन्।
यसैगरी, कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। विभिन्न राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, राप्रपा लगायतबाट एमाले प्रवेश गरेका छन्।