इन्द्रावती : माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले स्थानीय तहका जनप्रतिनिधिको मुल्याङ्कन गर्ने दिन आएको बताएका छन्। वाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका दुलालले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा २ को कार्यालय उद्घाटन गर्दै यस्तो बताएका हुन्।
'कुन स्थानीय तहमा कताको जनप्रतिनिधिले केके काम गरे? विकास कति गरे त्यसको हिसाबकिताब र मुल्याङ्न गर्ने बेला आयो,' उनले भने, 'वैशाख ३० मा चुनाव हुँदै छ मुल्यांकन गरेर नेतृत्व छान्नु होला।'
जिल्लामा भ्रष्ट र डन खालका जनप्रतिनिधि भएको उल्लेख गर्दै यस्ता व्यक्तिलाई नचुन्नसमेत उनले आग्रह गरे। 'भ्रष्ट र डन खालका जनप्रतिनिधि सिन्धुपाल्चोकमै छन्। कमजोरी औंल्याउनु होला,' दुलालले भने।
जिल्ला समन्वय समिति र गाउँपालिकाको सहयोगमा ५० लाख लागतमा बनेको वडा कार्यालय उद्घाटन कार्यक्रम वडाध्यक्ष वीरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भयो।