- डा. सुरेश तामाङ -
बाजुराकी एक महिलाले बाटैमा बच्चा जन्माएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अझै पनि नेपालका ग्रामीण क्षेत्रमा उचित स्वास्थ्य सेवा समयमा उपलब्ध छैन भन्ने कटुसत्य प्रस्टिन बाजुराका पत्रकार प्रकाश सिंहले केही समयअघिको भन्दै राखेको यही एउटा तस्विर नै काफी छ।
विगतको तुलनामा यस्ता घटना कम भए पनि हरेक वर्ष सुत्केरी र नवजात शिशुको ज्यान जोखिममा रहेको रिपोर्ट सार्वजनिक भइरहेकै छ। सुत्केरी र नवजात शिशुको ज्यान बचाउन पछिल्लो समय निक साइमन्स इन्स्टिच्युटको सक्रियतामा सरकारले देशका ग्रामीण क्षेत्रमा रहेका सरकारी अस्पतालहरुमा तालिमप्राप्त चिकित्सक र नर्स सहितका स्वास्थ्य टोली खटाइरहेको छ। अहिले देशभरका करिब ५० अस्पतालमा २०० बढी यस्ता जनशक्ति यस कार्यक्रममा सक्रिय सहभागी छन्। यसका साथै, निक साइमन्स इन्स्टिच्युटले स्वास्थ्यकर्मीको विभिन्न तालिम, नीति निर्माण, अनुसन्धान र जनवकालतमा पनि प्रशस्त लगानी गर्दै आएको छ।
मेयरकै बुहारीको शल्यक्रिया सरकारी स्वास्थ्य केन्द्रमा
खटिएका ठाउँमा तालिम प्राप्त चिकित्सकहरुको कामको अवस्था के कस्तो छ? अध्ययन गर्न हाम्रो टोली एक साता पश्चिमी जिल्लाका सरकारी अस्पतालहरुमा निस्कियो। एक टोली त्रिशुली, मुगु र डोटीतिर लाग्यो। अर्को टोलीको नेतृत्व गर्दै म बाग्लुङ र रोल्पा अनि पूर्वका संखुवासभा र सप्तरीतिर। फागुनको दोस्रो साता लागियो बाग्लुङको बुर्तिवाङतिर। विगत तीन चार दशकदेखि नै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालित छ। यस केन्द्रमा आपतकालीन सेवा लिन र सुत्केरी गराउन पूर्वी रुकुम, म्याग्दी, गुल्मी र बाग्लुङका अन्य क्षेत्रका सेवाग्राही आउँछन्। हिजोआज यस्ता आपतकालीन सेवा लिन र जटिल सुत्केरीमा शल्यक्रिया गराउन कतिपयले अन्तिम अवस्थामा बाग्लुङ, पोखरा वा अन्यत्र लैजानुपर्थ्यो। यसरी लैजाने क्रममा कतिपयले बाटोमै ज्यान गुमाउँथे। यस्ता घटना धेरै हुन थालेपछि स्थानीय ढोरपाटन नगरपालिका र प्रदेश सरकार, अन्य दातृ र निक साइमन्स इन्स्टिच्युटको समेत सहकार्यमा गत वर्षबाट बुर्तिवाङमा जटिल सुत्केरी र अन्य आकस्मिक शल्यक्रिया सेवाहरु सञ्चालन भयो।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र
बुर्तिवाङमा खटेका टोलीले अहोरात्र काम गरिरहेका रहेछन्। दैनिकजसो एक जना सुत्केरी हुने अस्पतालमा महिनामा कम्तीमा ३ जनाको शल्यक्रियाबाट बच्चा जन्माउने रहेछन्। विशेषज्ञ चिकित्सक नभएको यस्तो सानो तहको अस्पतालमा महिनामा ३ जनाको शल्यक्रिया हुनु उदाहरणीय हो। यस्तो सफलता ७० दिन लामो एडभान्स्ड स्किल बर्थ एटेन्डेन्ट [एएसबिए] तालिमका कारण सम्भव भयो। यस्तो तालिम मेडिकल अफिसरहरुलाई दिइन्छ।
बुर्तिवाङ केन्द्रको टोलीले हालै मात्र ढोरपाटनका मेयर देवकुमार नेपालीको बुहारीको समेत आकस्मिक सफल शल्यक्रिया गरेका रहेछन्। दरबार होटलका सञ्चालक समेत रहेका मेयर जनताको सेवामा हेलिकोप्टर समेत उडाउन सक्छन्। नेपालीको दरबार होटलको छतमा हेलिप्याड नै छ। तर, मेयरले यो बुर्तिवाङको सानो सरकारी अस्पतालमा खटेका चिकित्सक टोलीलाई विश्वास गर्नु राम्रो मान्नुपर्छ। बुर्तिवाङमा मेयर नेपालीसँग यही प्रसंगमा कुराकानी पनि भयो। मेयर नेपाली सरकारी चिकित्सकको टोलीको सेवा देखेर दंग थिए।
ढोरपाटनका मेयर देवकुमार नेपालीको दरबार होटल(अग्लो)
बुर्तिवाङमा दुई दिने बसाइपछि हामी हुँइकियौं रोल्पाको लिवाङतिर। हामी थवाङस्थित जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा पनि रोकियौं। केन्द्रका प्रमुख राजकुमार घर्ती मगर,थवाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तुल पुन र जापानका सेवा निवृत्त हाडजोर्नी विशेषज्ञ डाक्टर रिउकिची इसिदा सँग पनि भेट भयो। थवाङमा स्थानीय समुदाय र ७५ वर्षीय जापानी स्वयम्-सेवी डा. इसिदाको अर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य केन्द्रमा दैनिक नियमित बिरामी जाँचमात्र होइन, स्किन ग्राफ्टिङ (शरीरको एक ठाउँको छाला बिरामीको अर्को अंगमा सार्ने काम) र हाडजार्नीको शल्यकृयासमेत हुन्छ भन्दा विश्वास नलाग्न सक्छ। डा. इसिदा विगत १५ वर्षदेखि दिनरात त्यही जनताको सेवा कार्यरत छन्। उनले स्थानीय ३ युवाहरुलाई फार्मेसी, एमबीबीएस र हेल्थ एसिस्टेन्ट पढ्न आर्थिक सहयोग गरिरहेका छन्। डा. इसिदा स्थानीय श्रोत साधनको उच्चतम उपयोग र परम्परागत औषधि विज्ञानमा पनि रुचि राख्छन्।
जलजला अस्पतालमा डा इसिदा र थवाङ पालिकाका स्वास्थ्य संयोजक तुल पुनसँग।
त्यसपछि हामी लाग्यौं रोल्पा अस्पताल। शल्यक्रिया कक्षका तथ्याङ्क, कर्मचारीसँगका कुराकानी र सेवाग्राहीसँगको अन्तरक्रियाले अस्पतालको नियमित सेवाहरु सन्तोषजनक नै देखियो। मातृशिशु र प्रसृति सेवाको हकमा यहाँ पनि दैनिक चिरफार र सुत्केरीको जटिल शल्यकृया भइरहेको देखियो। जिल्ला अस्पताल भएको हुनाले यहाँ बुर्तिवाङभन्दा बढी चिकित्सक र कर्मचारीको दरबन्दी छ। तर, पनि जनशक्ति अझै अपुग देखियो। अधिकांश कर्मचारी अस्थायी र करारका रहेछन्। अर्को कुरा दुर्गममा पाका चिकित्सक कमै बस्छन्। धेरैजसो अनिवार्य प्रयोगात्मकका लागि बाध्य भएर पुग्ने सिकारु चिकित्सक अस्पतालमा भेटिन्छन्। भौतिक पूर्वाधार र औजार उपकरणहरुको कमी नै छ। यस्ता दृश्य यात्रामा सामान्य बन्न थालिसकेका थिए।
हालै लुम्बिनी प्रदेश सरकारले ग्रामीण दूर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई अधिकतम ७० हजारसम्म अतिरिक्त सुविधा दिने भएको छ। यसले दुर्गममा स्वास्थ्यकर्मी टिकाउन केही हदसम्म आशा गर्न सकिन्छ।
बिरामीलाई लिफ्ट
रोल्पाबाट फर्किने क्रममा सिटी स्क्यानका लागि रिफर भएका एक बिरामीलाई बुटवल ल्याउनुपर्ने भयो। आर्थिक समस्या होला। बुटवल अस्पताल आउन अनकनाइरहेका थिए। एकतर्फी एम्बुलेन्सको खर्चमात्र १५ हजार रुपैयाँ लाग्ने रहेछ। उनीहरुको अवस्था बुझेर प्रस्ताव गरेँ - हामी लगिदिन्छौं। प्रादेशिक अस्पतालको आपतकालीन कक्ष पुग्दा त्यहाँको अवस्था नाजुक थियो। अस्पताल प्रवेशद्वारदेखि नै अब्यवस्थित। आपतकालीन कक्षमा बिरामीलाई राख्ने र ट्राइएज गर्ने बेड थिएन। भएका सीमित बेडमा पनि २, ३ जनासम्म बिरामी राखिएका। एउटा चालु हालतको ह्विलचेयर पनि देखिएन। कर्मचारीहरुको बिरामीतिर ध्यान थिएन। बिरामीको रिफरल स्लिप हेर्नसाथ कर्मचारीबाट जवाफ आयो, 'ए यहाँ त बिजुली छैन, सिटी स्क्यान बिग्रको छ।'
अनि बिरामी भर्ना गर्न पनि माथिको फोन लगाउने अवस्था भयो।
यो भ्रमणमा सरकारी सेवा खासगरी स्वास्थ्य जस्तो संवेदनशील कुरामा आम नागरिकको पहुँच र गुणस्तरमा अझै थप काम गर्न जरुरी छ र यो सुधार्न सकिन्छ भन्ने अनुभूति भयो। समग्रमा सरकारी स्वास्थ्य सेवा पनि सर्वसुलभ र गुणस्तरीय हुन्छ भन्ने कुरा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, थवाङमा रहेको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र र रोल्पा अस्पतालहरुले प्रमाणित गरिदिएको देख्यौं।
उल्लेखित स्वास्थ्य संस्थाहरुमा कार्यरत युवा स्वास्थ्यकर्मी डाक्टर, नर्स र अन्य कर्मचारीको जोश जाँगरलाई कायम राख्न स्थानीय, प्रादेशिक र संघीय सरकार अनि सहयोगी संघसंस्थाहरुको योगदान प्रमुख देखियो। उचित सरकारी नीति नियम, आवश्यक कर्मचारी ब्यवस्थापन, औजार उपकरण र समयसापेक्ष आवश्यक पेशागत तालिम र सीप विकासले उनीहरुमा थप उर्जा दिने पक्का देखियो। यो उत्साहप्रद यात्रा थियो।
पूर्वी क्षेत्रको एक फन्को
फागुनको तेस्रो हप्ता पूर्वी नेपालको खाँदवारी अस्पताल पुग्यौं। त्यहाँ हालको स्वास्थ्य सेवाहरु विस्तार भएको र सुधारिएको रहेछ। दैनिक सयौं सेवाग्राहीहरुको भिड लाग्ने रहेछ। उसो त स्वास्थ्यकर्मी र कर्मचारीहरुको मनोबल पनि उच्च देखियो। नयाँ अस्पताल भवन पनि बन्दै रहेछ। रेडक्रस शाखासँगको सहकार्यमा ब्लड बैंकसमेतको योजना अघि बढेको रहेछ। यस अवस्थाको सृजना गर्नमा अस्पताल नेतृत्व, तालिम प्राप्त चिकित्सक, नर्सलगायत अन्य कर्मचारीहरुको सीप, आचारण र काम गर्ने वातावरण तयार गर्ने ब्यवस्थापन समितिको भूमिका हो। समग्रमा भन्दा यहाँका कर्मचारीहरुले राम्रो सेवा दिइरहेको देखियो। यसमा प्रदेश सरकार, निक साइमन्स इन्स्टिच्युटलगायत केही सहयोगी संघसंस्थाको पनि योगदान रहेको छ।
अन्य नियमित सेवाका अलवा दन्त सेवा र हाडजोर्नीको समेत चिरफारको सुविधा भएकाले सेवाग्राहीहरु दंग देखिए। हरेक महिना सयौं महिलाहरु प्रसूति सेवा लिन यहाँ भर्ना हुन्छन्। त्यसमध्ये जटिल अवस्थाका एक दुई जना गर्भवती महिलाहरुको शल्यक्रिया समेत दैनिक रुपमा हुने गर्दछ। जिल्ला र बाहिरका समेत गर्भवती प्रसूति सेवाको लागि र तत्काल केही परे शल्यक्रियासमेत हुने भएकाले यहाँ आउने रहेछन्। करिब २५ प्रतिशत गर्भवती महिलाको शल्यक्रिया भएको तथ्याङ्कले देखाएको छ। तर, यो एक प्रेषण केन्द्र (रिफरल सेन्टर) भएकाले स्वभाविक नै मान्न सकिन्छ। सामान्य अवस्थामा बच्चा जन्माउन जिल्लाका अन्य थुप्रै स्वास्थ्य केन्द्रहरुमा पनि बर्थिङ सेन्टरहरु (प्रसूति केन्द्र) सन्चालित छन्।
तर यहाँको कर्मचारी संख्या र दरबन्दीका केही समस्याहरु छन्। यहाँ हालै ५ शैयाको प्रसूति प्रतिक्षालय पनि सञ्चालित रहेछ। टाढाबाट आएका गर्भवती महिलाले त्यसमा बस्न र तत्कालै प्रसुति सेवा लिन उपयोगी हुने एक अध्ययनले देखाएको छ। स्थानीय कर्मचारीहरुको यसमा विशेष योगदान छ। खासगरी खाँदवारी आसपास मै जन्मिहुर्किएका र भोटखोलाका डाक्टरहरु समेत त्यहाँ कार्यरत रहेछन्। सेवाग्राहीहरु चिनजानकै डाक्टरसमेत भेट्दा खुशी हुन्छन नै।
राजविराजस्थित गजेन्द्र नारायण अस्पताल भने प्रदेश स्तरको ठूलो अस्पताल भएकोले त्यहाँको परिवेश अलि फरक देखियो। जहाँ ७ जना स्त्रीरोगका डाक्टरसहित करिब १५ जना विशेषज्ञहरु कार्यरत छन्। तसर्थ विशेषज्ञहरुको दरबन्दी भएको ठूला अस्पतालमा भने एएसबिए तालिम लिएका मेडिकल अधिकृतहरुको भूमिका कम हुने यहाँबाट थाहा भयो । यस्तो तालिम लिएका एकजना डाक्टरलाई इमरजेन्सी र कोभिड ब्यवस्थापनको जिम्मा दिइको पाइयो । अन्य विविध समस्याका वावजुद सम्पूर्ण सेवाहरु सन्चालित छन्। तर, सरकारी अस्पतालकै मुलढोका आसपासमा उनीहरुको निजी क्लिनिकहरु छन्। आज जनताको आशा सरकारी स्वास्थ्य संस्थामा नै छ, निजी अस्पतालहरुमा सेवा राम्रो भए पनि खर्चिलो छ।
जलजला अस्पताल तथा अनुसन्धान केन्द्र रहेको रोल्पाको थवाङ।
यी सबै घुमाइबाट के बुझियो भने ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा अझै धेरै सुधार गर्न सकिन्छ। सीमित श्रोत, ब्यवस्थापकीय कमजोरी, राजनीतिक विवाद र आर्थिक अपचलनका कारण पूर्वाधार निर्माण र सार्वजनिक सेवा प्रभावित छ। अर्कोतर्फ सहयोगी संघसंस्थाले पनि स्थानीय रुची र खाँचोका आधारमा मात्र कार्यक्रमहरु तय गर्नुपर्ने देखियो। अनि त्यसलाई प्रभावकारी रुपमा लागू गर्ने, अस्पताल ब्यवस्थापनलाई सुदृढ गर्ने र सुशासनमा जोड दिनुपर्ने देखिन्छ।