PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जीतपुर सिमरा गोल्डकप : आयोजक जनजागृति सेमिफाइनल प्रवेश



जीतपुर सिमरा गोल्डकप : आयोजक जनजागृति सेमिफाइनल प्रवेश
फोटो : आयोजक सेतो, सुदूरपश्चिम ११ निलो।

वीरगंज : आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमवार राति भएको खेलमा सुदूपश्चिम ११ लाई १–० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे। खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्दतले आयोजक अघिल्लो यात्रा तय गर्न सफल भएको हो।

उद्घाटन खेलमा फ्रेण्ड्स क्लबमाथि ३–१ को जित निकाल्दै सुदूरपश्चिमले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। फ्रेण्ड्समाथि सहज जित निकालेको सुदूरपश्चिमले जनजागृतिविरुद्ध भने आकर्षक खेल पस्कन सकेन। सुरुवातदेखि नै दवावमा देखिएको सुदूपश्चिमविरुद्ध जनजागृतिले लगातार आक्रामक खेल प्रदर्शन गरेको थियो।

डोना थापासहित ए डिभिजन क्लबका र स्थानिय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजक सुरुवातदेखि नै उत्कृष्ट लयमा देखियो। सुदूरपश्चिममाथी हावी बन्न सफल आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर सदुपयोग गर्न सकेन।

सुदूरपश्चिमले खेल सुरु भएको दोस्रो मिनेटमै उत्कृष्ट अवसर गुमाउन पुग्दा आयोजक हावी हुन पुगेको हो। सुदूरपश्चिमका विनोद केसीले डिबक्सभित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन्। विनोदले बल नियन्त्रणमा लिन नसक्दा जनजागृतिका रक्षापंक्ती सम्हालेका यानिक केट्चाले क्लियर गरेका थिए।

आकर्षक अवसर गुमाएको सुदूरपश्चिमले त्यसपछि खेलमा राम्रो अवसर बनाउन सकेन। पहिलो हाफ जनजागृतिले आफ्नो नियन्त्रणमा लिए पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको थियो। खेलको १०औं मिनेटमा सुनिल खड्काको उत्कृष्ट प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुगेको थियो।

गेम मेकरको भूमिकामा देखिएका डोनाले खेलको १३औं मिनेटमा सुनिल खड्कालाई अर्को अवसर बनाए। सुदूरपश्चिमको रक्षापंक्तिलाई झुक्याउदै डोनाले निकालेको पासमा सुनिल गोल गर्न चुके। उनको फितलो प्रहारलाई सुदूरपश्चिमका खेलाडी नियन्त्रणमा लिएका थिए।

खेलको २७औं मिनेटमा जनजागृतिले अर्को अवसर गुमायो। डोनाको क्रस बललाई आयोजकका मोहित गुरुङ् गोल गर्न चुके। आयोजकले लगातार अवसर बनाईहदा सुदूरपश्चिम भने दवावमा देखिन्थ्यो। झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासाङ लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाएपनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिएका थिए।

उत्कृष्ट तालमेलमा देखिएको जनजागृतिले दोस्रो हाफमा पनि उस्तै प्रदर्शन गरेको थियो। दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो। अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि जनजागृतिका हेमन्त थापा मगर, सुनिल खड्का, मोहित गुरुङ्ले थुप्रै अवसर चुकाएका थिए। खेलको ८३औ मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाउ गरे।

खेलमा डोना थापाले गरेको दुई वटा गोलले मान्यता पाएन्। पहिलो हाफ र दोस्रो हाफमा उनले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले अफ घोषित गरेका थिए। उत्कृष्ट लयमा देखिएका डोनाको दुई वटा गोलले मान्यता नपाएपनि आयोजकले खेलको ५०औं मिनेटमा सुनिल खड्काले गरेको गोलको मद्दतले जित हात पार्दै अघिल्लो यात्रा तय गर्‍यो।

सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell