काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नारा दिने तर काम नगर्ने पार्टी कम्युनिस्टहरु भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसको ‘घर-घरमा जाउँ, कांग्रेस जिताउँ’ अभियान अन्तर्गत आज काठमाडौंको थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा सिंहले देश विकासको बाधक नेकपा एमाले भएको आरोप समेत लगाए।
‘२०४६ को परिवर्तनपछि मुलुकको विकास जसरी हुनु पर्ने हो त्यो हुन नसक्नुको मुख्य बाधक एमाले हो’, नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिस्टहरु भएको कुरा लियर जन्ता सामु पुग्नु पर्छ।’
जनताको घर-घरमा पुग्दा सालिनता र नम्र व्यवहार देखाउन समेत कार्यकर्ताहरुसँग उनले आग्रह समेत गरेका छन्।
सिंहले ‘घर-घरमा जाउँ, कांग्रेस जिताउँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको दावी गर्दै कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले सालिन प्रतिस्पर्धामा खरो रुपमा उत्रनु पर्ने बताए।
उनले पार्टी गतिविधि कागजमा सीमित नगरी पारदर्शीता अपनाउन समेत आग्रह गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भए देशभरको संगठन बलियो हुने बताए। काठमाडौंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भएकाले यो अवसर नगुमाउन पनि उनले आग्रह गरे।
कांग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जित, राजेन्द्र कुमार केसी, काठमाडौं जिल्ला सभापति सबुज बानियाँलगायले कांग्रेसका उम्मेद्वारलाई जिताउन दिनरात खटिनु पर्ने धारणा राखेका थिए।