काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले तालमेल गर्न जरुरी भएको बताएका छन्। भक्तपुरको सुर्यविनायकमा एक तरकारी बजार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन बिना एमालेसँग कुनै पार्टीले आँट्न नसक्ने दाबी गरे।
सत्तारुढ दल नेपाली कांग्रेसले मंगलवार सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको थियो। उक्त निर्णयप्रति कटाक्ष गर्दै ओलीले आफ्नो दल क्विन्टलको ढक भएको उल्लेख गरे। कांग्रेस माओवादीलाई एक एक किलोको ढकसँग तुलना गर्दै ओलीले एमालेसँग कुनै पार्टीले नसक्ने दाबी गरे। 'एउटा तराजु एक एक किलोका ढक यतातिर राखे र अर्कोतिर क्विन्टलको ढक राख्यो भने के हुन्छ?' ओलीले थपे, 'एमाले क्विन्टलको ढक हो। अरु एक एक किलोको ढक।'
कांग्रेस, माओवादी, एकीकृत समाजवादीलाई बच्चासँग दाँज्दै ओलीले बच्चासँग निहुरेर लड्न नसकिने बताए। 'गठबधन्धन गर्न जरुरी छ। उहाँहरुले गठबन्धन गर्न जरुरी छ। हामीलाई साह्रै बच्चा भयो भने गाह्रो हुन्छ थपिँदै थपिँदै गयो भने अलि बराबर आउन सक्छ नि पाँच वटा भयो भने बच्चाबच्चासँग कसरी निहुरेर फाइट खेल्ने,' ओलीले भने, 'निहुरेर लडाई खेल्ने। त्योभन्दा बरु एउटाको काँधमा अर्को। अर्कोको काँधमा अर्को। सक्छन् भने चढुन्। यो त लोभी पापीहरुको गठबन्धन हो नि।'
गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने कुरा हामी निर्वाचनमा बुझाउने ठोकुवासमेत ओलीले गरे।