PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा



सुमित मिश्र

धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

जनकपुरधाम : आइतवारदेखि नेपाल रेल्वेले नियमित रेल सेवा सुरु गरेको छ। नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका थिए।

रेल सेवा सुरु भएको दुई दिनको अवधिमा रेलमा यात्रा गर्नेहरुको संख्या बढिरहेको छ। नेपाली नागरिकहरुमा रेलमा चढ्ने आकर्षण पनि बढी नै देखिएको छ।

रेल सेवा सुरु भएसँगै यसले चौतर्फी रुपमा फाइदा पुग्ने अनुमान गरिएको छ। रेल सेवा नियमित रुपमा संचालन भएपछि नाफा- घाटाबारे सर्वसाधारणमा जानकारी गराउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

‘यसको हिसाबका लागि एक साता वा एक महिना कुर्नै पर्छ। हामीले आम जनतामा पुग्ने गरी सम्पूर्ण हिसाब सार्वजनिक नै गर्नेछौं,’ उनले भने।

शनिवार भएको उद्घाटनका कार्यक्रमका लागि कम्पनीले भव्य कार्यक्रम आयोजना गरेको थियो। साथै रेललाई फूलै फूलले सजाएको थियो। उद्घाटनमा लाखौ रुपैयाँ खर्च गरिएको तर त्यसको हिसाब सार्वजनिक नभएको भन्दै प्रश्न पनि उठिरहेको छ। कम्पनीका लेखा अधिकृत आएपछि मात्रै यसको हिसाब सार्वजनिक गर्ने महाप्रबन्धक झाले बताए।

नेपाली रेल यात्रुहरुका लागि नियमित सेवा दिनु अगावै घाटामा गईरहेको चर्चाका बिच मालवाहक बगी समेत जोड्नुपर्ने माग उठिरहेको छ। यस अघि नेपाल रेल्वे कम्पनीले गत फागुन १ गतेदेखि एक महिनासम्म भएको ड्राई रनमै ३० लाखभन्दा बढी खर्च भएको थियो। जसमा २० लाख रुपैयाँ कर्मचारीहरुमै खर्च भएको थियो भने ईन्धनमा १० लाख बढी खर्च भएको थियो। रेल्वे कम्पनीसँग ११ जना स्थायी कर्मचारी छन् भने ५९ जनालाई करारमा राखिएको छ।

हाल यात्रु ओसारेर मात्रै नेपाल रेल्वे कम्पनी फाइदामा जान नसक्ने महाप्रबन्धक झा स्वीकार्छन्।

‘प्यासेन्जर ट्रेनले मात्रै फाइदा हुँदैन। यसका लागि मालवाहक बगी जोड्नै पर्छ भनेर हामीलाई लागेका छौं। यस विषयमा योजना बनाईरहेका छौं,’ उनले भने।

महाप्रबन्धक झा सरकारको साथ रह्यो भने ६ महिना भित्र मुनाफामा लगेर देखाउने दाबी गर्छन्। यसका लागि रेल्वे कम्पनीका जग्गाहरु व्यापारिक प्रयोजन वा अन्य प्रयोजनका लागि प्रयोग गरेर आम्दानी गर्न सक्ने उनको भनाई छ।

नेपाल रेल्वे कम्पनीको प्रत्येक रेल्वे स्टेशनमा आफ्नो जग्गाहरु छन् भने भारतको रक्सौलमा समेत २८ हेक्टर जग्गा रहेको छ। 

यता नेपाली रेलले नियमित सेवा दिन सुरु गरेसंगै रेल यात्राको आकर्षण बढ्दै गईरहेको छ। धनुषाको पूर्वी भेगका जनता रेल सेवा सुरु भएसँगै लाभान्वित भएका छन्। पहिलो दिन १५ सय भन्दा बढी यात्रुले रेल सेवाको प्रयोग गरेका थिए भने दोस्रो दिन त्यो संख्या बढेर १९ सयसम्म पुगेको थियो।

नेपाली रेलले दिनको २ पटक यात्रत्रुहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल गुड्दै आइरहेको छ भने सोही रेल जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि प्रस्थान गर्छ। जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे जनकपुरधाम फर्कन्छ भने सोही रेल फेरी जनकपुरबाट जयनगरका लागि ५ बजेर १५ मिनेटमा प्रस्थान गर्छ। जनकपुरदेखि जयनगरसम्मका लागि जेनरल बगीको ७० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ३५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै एक स्टेशनबाट अर्को स्टेशनसम्मका लागि जेनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १०० रुपैयाँ भाडादर निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell