PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिकामा कोरोनापछि ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ नोरोभाइरस



अमेरिकामा कोरोनापछि ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ नोरोभाइरस
फोटो : dailypost.co.uk

अमेरिकामा कोभिड-१९ संक्रमण घट्ने क्रम जारी रहँदा अर्को भाइरसको संक्रमण ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डरलाग्दो पेटको फ्लूको लागि जिम्मेवार ‘नोरोभाइरस’को प्रकोप जनवरीदेखि बढ्दै गएको छ।

अगस्ट २०२१ देखि गत महिनाको सुरुवातसम्ममा ४४८ नोरोभाइरस आउटब्रेक (प्रकोप) रिपोर्ट गरिएको सीडीसीले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यसको संक्रमण ७८ वटामात्रै रिपोर्ट गरिएको थियो।

जनवरीको सुरुदेखि साप्ताहिक रुपमा प्रकोपको संख्या १० भन्दा कमबाट बढेर ५० भन्दा बढी पुगेको छ। यो तथ्यांक म्यासाचुसेट्स, मिचिगन, मिनेसोटा, नेब्रास्का, न्यू मेक्सिको, ओहायो, ओरेगन, साउथ क्यारोलिना, टेनेसी, भर्जिनिया, विस्कोन्सिन र वायोमिङका प्रदेश स्वास्थ्य विभागहरूको रिपोर्टमा आधारित छ।

नोरोभाइरसको प्रकोप कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँग जोडिएको छ या छैन भन्नेबारे कुनै पुष्टि भएको छैन।

तर, कोभिड नियन्त्रणको लागि जारी गरिएका प्रतिबन्धहरू हटाउँदा यो भाइरस फैलिन मद्दत पुगेको हुन सक्ने अनुमान गरिएको छ। बान्ता र पखाला निम्त्याउने नोरोभाइरस सतहमार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिने अत्यधिक संक्रामक रोग हो।

यसको प्रकोपमा बृद्धि हुनु राष्ट्रव्यापी रुपमा कोभिड प्रतिबन्धहरु खुला गरिनुको प्रतिबिम्ब हुन सक्ने आशंका गरिएको ह्युस्टनस्थित बेलोर कलेज अफ मेडिसिनका मेडिसिन प्रोफेसर तथा संक्रामक रोग विशेषज्ञ डा रोबर्ट एटमारले बताए।

उदाहरणको लागि अहिले देशका अधिकांश क्षेत्रहरुमा मास्क लगाउनु अनिवार्य छैन। नोरोभाइरस ड्रपलेट्स (थुक, खकार आदि)को माध्यमबाट नफैलिने भएपनि सामान्य रूपमा संक्रमण नियन्त्रणका उपायहरु खुकुलो पारिँदा यसको संक्रमणमा वृद्धि भएको हुन सक्ने डा एटमारको भनाइ छ।

सतहमार्फत तथा दूषित खाना वा पानीको माध्यमबाट अरबौँ माइक्रोस्कोपिक (सुक्ष्म) नोरोभाइरस कणहरू फैलिन सम्भव भएकाले पनि यसको फैलावट चिन्ताजनक छ। यसबाट संक्रमित हुनको लागि केही नोरोभाइरस कणहरू मात्रै पनि पर्याप्त हुन्छ।

‘दिसाको नमूनाहरूमा भाइरसको कन्सन्ट्रेसन धेरै नै उच्च हुन्छ, त्यसैले पनि यसले मानिसहरूलाई संक्रमित गर्न धेरै माइक्रोस्कोपिक कन्टामिनेसन आवश्यक पर्दैन,’ एटमारले भने।

क्रुज शिप तथा ‘डे केयर सेन्टर’ जस्ता मानिसहरू धेरै भेला हुने स्थानहरूमा यसको प्रकोप बढी हुन सक्छ।

नोरोभाइरसबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको हातको सरसफाइ भएको उनले बताए। अर्थात्, शौचालयको प्रयोग गरिसकेपछि र खाना पकाउनुअघि करिब २० सेकेन्डसम्म साबुन-पानीले हात धुनुपर्ने उनको सुझाव छ।

पातलो ‘ब्लिच सोलुसन’ले सफा गरेर संक्रमित सतहहरूलाई निसंक्रमण गर्न सकिने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell