PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एक पटकका लागि अवसर दिनुस् भन्दै हात जोडेर निर्वाचन लडेकाहरुले - किन दोहोरिने?



एक पटकका लागि अवसर दिनुस् भन्दै हात जोडेर निर्वाचन लडेकाहरुले - किन दोहोरिने?

  • खुसराज लामा-

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। संघीय संरचनामा मुलुक प्रवेश गरेपछि स्थानीय तहमा दोस्रो कार्यकालको लागि नयाँ जनप्रतिनिधि चुनिन लागेका छन्।

देश संघीयतामा प्रवेश गरेपछि पछिल्लो पाँच वर्ष निर्वाचित जनप्रतिनिधिले धेरैजसो समय सिक्नमै बिताए। तिनै जनप्रतिनिधि पुन सोही पदमा दोहोरिने मुडमा देखिन्छन्। कतिपय उपप्रमुख भने अपग्रेड भएर माथिल्लो पदमा आउने दाउमा छन्। आफूले चाहेको पदमा टिकट हत्याउन नेताको घरदैलो चहार्ने दैनिकी शुरु भइसकेको छ।

नयाँलाई अवसर नदिनेगरी के यसरी पुरानै उम्मेद्वारहरु दोहोरिनु ठीक हुन्छ त? स्थानीय तहमा नेतृत्व गर्न चाहिरहेका युवापिढीको अहिलेको प्रश्न हो यो।

पाँच वर्षे कार्यकालमा सिंहदरबारबाट स्थानीय तहमा आइपुगेको अधिकारबारे कति स्थानीय तहमा अभ्यास नै हुन पाएन। न्यायिक समितिले सिक्दैमा पाँच वर्ष सकायो। धेरैजसो स्थानीय तहले पूर्वाधार निर्माणमै आफ्नो समय सकायो। कतिले बधाई र सम्मान खाँदै आफ्नो कार्यकाल बिताए। नीतिगत रुपमै उपलब्ध हुने सेवासुविधा जनप्रतिनिधिको आकर्षण पनि रह्यो। आँगनमै गाडीदेखि बाइकसम्म रजाई गर्न पाउने पदमा बस्ने लोभ कसलाई हुन्न? अझ भाइभतिजादेखि भतिजीबुहारीसम्मलाई नियुक्ती गर्न मिल्ने मुकाम छड्न कसलाई मन लाग्छ र? यही तलतल फेरि लाग्न सक्छ स्थानीय जनप्रतिनिधिलाई। 

त्यसैले होला अधिकांश जनप्रतिनिधिले स्थानीय तहमा सोही पदमा दोहोर्‍याउने चाहना देखाइरहेका छन्। एक पटकका लागि अवसर दिनुस् भन्दै हात जोडेर निर्वाचन लडेकाहरुले - किन दोहोरिने?

अबको कार्यकाल भनेको जनताले महसुस गर्ने गरि सामाजिक एवं भौतिक विकासको काममा केन्द्रित हुनुपर्छ। पहिलेकै जनप्रतिनिधिले दोहोर्‍याउने चाहना राख्छ भने उनीहरुले पार्टी र जनतासँग प्रस्ट भिजन राख्न सक्नुपर्छ।

पुरानै उम्मेदवार पुरानै एजेण्डा बोकेर चुनावमा उत्रिँदा जनमत तान्ने अवस्था पनि हुँदैन। पहिलो कार्यकालमा सुरु गरेको कामहरु पूरा गर्नुपर्छ भन्ने आधारमा जनताले मत दिने अवस्था रहँदैन। दोहोरिने जनप्रतिनिधिले पाँच वर्षको अवधिमा सबै काम पूरा नभएकोले अपूरो काम पूरा गर्ने एजेन्डा बोकेर जाने एउटा कुरा भयो। तर समग्रमा पालिकाको आवश्यकता र त्यो आवश्यकता पूरा गर्न देखिएको चुनौतीको बारेमा ब्याख्या गर्दै थप योजना स्पष्ट रुपमा राख्न सक्नुपर्छ।

नयाँ जनप्रतिनिधिले आफू कुनै पालिकाको प्रमुख या उपप्रमुखमा योग्य छु भनेर दलसँग कुरा राख्दा वा स्वतन्त्र हैसियतले जनतासँग कुरा राख्दा आफ्नो बखान गरेर भन्दा पनि आफूले नेतृत्व गर्न चाहेको पालिकाको अवस्था र त्यसको सुधारको लागि वा त्यसको भौतिक, सामाजिक, राजनीतिक र आर्थिक विकासको लागि के के योजना छन् भनेर स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ।

अर्को कुरा कुनै पालिका वा वडा र टोलको विकास गर्न चाहेको हो भने कार्यकारी पदमा नै बस्नुपर्छ भन्ने छैन। पालिकामा नेतृत्व गर्ने जनप्रतिनिधि जुनसुकै राजनीतिक दलको भए पनि उसलाई सहयोग गरेर पनि आफ्नो दक्षता, योग्यता प्रदर्शन गर्न सकिन्छ।

स्थानीय तहको विकास र समृद्धिको लागि जनप्रतिनिधिको भूमिका मुख्य हुने कुरामा कुनै दुविधा छैन तर जनप्रतिनिधिले आफ्नो योजनालाई सफल बनाउन सम्बन्धित विषयका विज्ञहरुको राय सुझाव र सहयोग अवश्य लिनुपर्ने हुन्छ र त्यो भूमिका निर्वाह गर्ने बौद्धिक वर्ग पनि पालिकाको लागि छाँया जनप्रतिनिधि सरह नै हुन्छन्।

त्यसैले अहिलेको मुख्य विषय भनेको पालिकाको विकासको लागि कसको भूमिका के र कसको नेतृत्व कुन कुरामा भन्ने छुट्टाउन जरुरी हुन्छ। अबको निर्वाचनमा सकेसम्म एक कार्यकाल पूरा गरिसकेका जनप्रतिनिधिले दोहोर्याउने कुरालाई प्राथामिकतामा राख्नु हुँदैन। यस्तो कुराले नेतृत्व विकास जाम हुने अवस्था बन्छ भने अर्कोतिर लोकप्रिय काम गरेको व्यक्ति पनि फेरि अर्को कार्यकाल त्यही लोकप्रियताको शिखरमा नरहन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell