काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो।
एमालेले आचारसंहिताको दफा ४ को प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको बताएको छ।
‘निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्नो विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि हो। संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभुति गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
यो जनतालाई साक्षी राखी ‘विचार तथा व्यवहार’ बिच गरिने प्रतिस्पर्धात्मक अभ्यास पनि भएको भन्दै एमालेले आचारसंहिताको यस्तो प्रावधानले दलहरूका विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दल रोज्ने जनताको संवैधानिक हकलाई समेत कुण्ठित गर्ने बताएको छ। यस्ता प्रावधानहरु पुनर्विचार गर्न एमालेले आग्रह गरेको छ।