- डा. सुरेश तामाङ-
पूर्वी नेपालको एक हिमाली जिल्ला हो संखुवासभा। गृहजिल्ला भएकोले यसमा मलाई विशेष चासो हुन्छ नै। यहाँ पुग्न काठमाडौंबाट तुम्लिङटारसम्मको दैनिक सिधा हवाइ उडान छन्। तर सडकबाट हुँइकिँदै अरुण उपत्यका भएर जाँदा धेरै दृश्य देख्न र आनन्द लिन पाइन्छ। विराटनगरबाट धरान धनकुटा हुँदै खाँदवारीसम्म सहजै पुग्न सकिन्छ गुड्दै। जोगवनीदेखि किमाथाङ्कासम्मको कोशी राजमार्ग भारत र चीनको सीमाना जोड्ने देशकै छोटो सडक मार्ग हो। यो करिब ३९० किमी छ जसको निरन्तर निर्माण, विस्तार र सम्भार भइरहेको छ। कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड भने २०३५/३६ सालतिर नै तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा बनेको हो। बेलायत सरकारको आर्थिक सहयोगमा यो सडकखण्ड बनेपछि त्यस भेगका जनतालाई आउजाउ गर्न धेरै सजिलो भयो। तर संखुवासभा, तेह्रथुम र भोजपुर सदरमुकाम लगायतका क्षेत्रहरु भने धेरैपछि मात्र राष्ट्रिय सडक सञ्जालमा जोडियो।
तुम्लिङटार विमानस्थल।
अघिल्लो पुस्तासम्म साँगुरी भन्ज्याङको बाटो ढाकर बोकेर ३/४ दिन पैदल हिँडेर धरान जानु पर्थ्यो भन्ने सुनेको। स्थानीय रुपमा उत्पादित अन्नपात बेच्न र नून तेल, कपडालगायत सरसामान किन्न धरान बजार जानुको विकल्प थिएन। पूर्वको मुख्य व्यापारिक शहर धरान नाम रहनुको पनि आफ्नै कथा रहेछ। उसबेला त्यस भेगमा चारकोशे घनाजङ्गल भएकाले गोलिया काठ काट्ने (चिरान गर्ने) आरा “धरान” (परम्परागत काठ चिर्ने खट) जताततै हुन्थे रे। त्यही भएर पछि यसैको नामबाट धरान रहन गएको भनाइ छ। मैले थाहा पाउँदासमेत पनि २०४०/४२ साल ताका हामी डेढ दुई दिनको पैदल हिँडेरमात्र धनकुटा र धरान पुग्थ्यौं।
आज समयले कोल्टे फेरेको छ। संखुवासभा आज दूर्गम छैन। ३/४ घण्टामै तुम्लिङटारबाट धनकुटा, धरान र विराटनगर पुगिन्छ। सडक यातायातको व्यापक विस्तार र स्तरोन्नति भएको छ। तर जिल्लाको उत्तरी भेग भोटखोला भने सामाजिक आर्थिक र भौतिक पूर्वाधार विकासका हिसाबले अझै पनि बन्चित नै छ। जहाँ जान खाँदवारीबाट नूम, हेदाङना, हटियागोला, चेपुवा, च्याम्ताङ हुँदै किमाथाङ्कासम्मको करिब १६२ किमि दूरी पार गर्नुपर्छ।
देशका कुना कन्दरासम्म सडक सञ्जाल विस्तारले विपद् पनि थप्दैछ। जथाभावी सडक ट्रयाक खन्नाले भूक्षय र पहिरोको समस्या थपिएका छन्। सवारी दूर्घटना दैनिक बढ्दो छ। यो जनस्वास्थ्यको एक जटिल सवाल हो। करिब एक महिनाअघि संखुवासभामा एक भयानक सडक दूर्घटना भयो। मादी नगरपालिका ६ को सात घुम्तीमा एउटा यात्रुवाहक बस दूर्घटना हुँदा १५ जनाको घटनास्थलमै ज्यान गयो। यसरी हरेक दिन देशका विभिन्न भागमा साना ठूला कयौ दूर्घटनाहरु भइरहेका छन्। तिनको कारण केलाउने हो भने हाम्रो भूगोल, सडक र सवारीसाधनको अवस्था जिम्मेवार छन्। तर चालकको ब्यक्तिगत लापरबाही, उनको स्वास्थ्य र मनोसामाजिक अवस्था पनि प्रमुख रुपमा आउँछन्। अझ सवारी चालकले गर्ने मादक पदार्थ र लागूपदार्थ सेवन, मोबाइल फोनको प्रयोगसमेत यसको कारण रहेको छ। तसर्थ यस्तो अवस्था नभोग्न, सवारी साधनको नियमित जाँच, मर्मतसम्भार, चालकको अनुशासन र पेशाप्रतिको लगाव अनिवार्य छ। यसमा आम जनताको सजगता र सरकारी निकायहरुको खवरदारी अति आवश्यक हुन्छ। सडकलगायत अन्य भौतिक विकास र निर्माणका कामले वातावरणीय प्रदुषण र फोहरमैला पनि बढेको छ। त्यसको व्यवस्थापन र न्यूनीकरण अर्काफो चुनौती भएको छ।
यस भेगमा सडक निर्माणपछि केही साना ठूला बजार बढेका रहेछन्। हिलेबाट पाख्रीबास, डिकुरे भञ्ज्याङ हुँदै जाने साविकको पैदल यात्राको बाटो (रुट) हराएछ। आज सहजै मोटरमा जान सकिने भएपछि को हिँडने त्यो गोरेटोमा? त्यस्तै माङमाया, लेगुवा आसपासमा पनि व्यापारीहरु बढेछन्। लेगुवाघाटबाट बायाँतर्फ भोजपुरको लागि सडक छुट्टिन्छ। जुन करिब ७२ किमीको दूरीमा रहेको छ। दायाँतर्फ सरासर अगाडि बढे चानुवा, खहरे, सातटारे भएर सभा र अरुण नदी दोभान कत्लेभञ्ज्याङनिर पुगिन्छ। त्यहीबाट संखुवासभा जिल्लाको पुरानो सदरमुकाम चैनपुर पुग्ने सडक पनि छुट्टिन्छ। सभा खोलामाथिको बेलीब्रिज तरेपछि तुम्लिङटार पुगिन्छ। जिल्लाकै मूलद्वार मानिने तुम्लिङटार र सदरमुकाम खाँदवारी भने विगतको दशकमा व्यापक फेरबदल आएको छ। तुम्लिङटार विमानस्थलको अवस्था अति नै राम्रो भएको छ। यो बाह्रै महिना सञ्चालन हुन्छ। जो देशकै एक उत्कृष्ट विमानस्थलमध्ये पर्दछ। यहाँ बुद्ध, यति लगायतका उडान नियमित हुन्छन्।
अरुण नदी तीरको धनकुटा तुम्लिङटार सडक खण्ड।
अरुण उपत्यकामा दक्षिणबाट प्रवेश गर्दा तुम्लिङटार मधेश वा चितवन हो कि जस्तो लाग्छ। समथर भूमि, सिधा र चिल्लो सडक भएको यो भूमि नै अरुण उपत्याकाको मुटु हो। अरुण र समा खोलाको तिरमा अवस्थित विश्वकै होचो उपत्यका भएकोले यहाँको मौसम भने अलि गर्मी छ। स्थानीय तर लामो इतिहास बोकेको मनकामना माताको मन्दिर परिसरमा नयाँ भवन तथा अन्य पूर्वाधार निर्माण भएका छन्। खानेपानीले अभावग्रस्त यस ठाउँमा अरुण नदीबाट खानेपानी तानेर वितरण गरिएको छ। आन्तरिक सडक सन्जालले वरिपरिका गाउँबस्ती पनि जोडिएका छन्। मैले आधारभूत शिक्षा लिएको तुम्लिङटारको रत्न अम्बिका उच्च माध्यमिक विद्यालयको अपत्यारिलो सुधार भएको छ। अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माणस्थल र कार्यालय यहीँ रहेको छ। हालै प्रस्तावित योगमाया विश्वविधालयको लागि पनि जमिन अधिग्रहण गर्ने क्रम सुरु भएको छ। वैद्यगाउँमा वडा कार्यालयका लागि दाता जनक तामाङले ३ रोपनी जमिन दान दिएपछि नयाँ भवन निर्माणाधीन छ। त्यस्तै भौतिक पूर्वाधार विकास कार्यालयका लागि स्थानीय खड्गबहादुर तामाङ र तिलक तामाङले निशुल्क जग्गा प्रदान गरेका छन् भने आँखा अस्पतालको लागि जग्गा खरिद भइसकेको छ। खाँदवारी अस्पतालको अलवा तुम्लिङटारमा एक सरकारी स्वास्थ्य चौकी, दुई निजी अस्पतालहरुले पनि अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन्, जहाँ हप्ताअन्तमा राजधानीका विशेषज्ञ डाक्टर पनि भेट्न सकिन्छ।
संघीय खानेपानी मन्त्रालयको सहयोगमा खानेपानीको लागि ओभरहेड ट्याङ्क निर्माण भइरहेको छ। त्यसैगरी सहरी विकास मन्त्रालय र सडक विभागको गत आर्थिक वर्षको विनियोजित बजेटबाट तुम्लिङटारको सालविसौनादेखि वैधगाउँ गुम्बासम्मको लिङ्क रोड कालोपत्रे गर्ने कामसमेत भइरहेको छ। यसरी तुम्लिङटारको पनि निरन्तर र द्रुत गतिमा भौतिक रुपमा विकास भैरहेको देखिन्छ। साथै त्यहाँको अन्य सामाजिक र आर्थिक रुपमा पनि धेरै परिवर्तन आएका छन्।
विदेशी पदयात्री तथा मकालु र सगरमाथा हिमाल पर्वतारोहण गर्नेहरुका लागि यो पनि एक प्रमुख रुट मानिन्छ। मकालु बरुण राष्ट्रिय निकुन्ज, सभा पोखरी, तिनजुरे मिल्के जलजले (टिएमजे), गुफापोखरी र अन्य पर्यटकका लागि आकर्षक स्थल पनि यही भेगमा पर्दछ। देशकै अधिकतम् जैविक विविधता, भाषिक, धार्मिक, सामाजिक र साँस्कृतिक विविधता पनि यसै क्षेत्रमा देखिन्छ। अरुण नदीमा पर्यटन र मनोरन्जनका लागि मकालु एग्रो फार्म सन्चालित छ। यसका सन्चालक युवा राजकुमार घिमिरेको उच्च मनोवलको कदर गर्नै पर्छ। तर यो अरुण नदीकै किनारामा अवस्थित भएकोले त्यहाँ कुनै पनि बेला नदीको उच्च बहावको खतरा रहेको छ। जलवायू परिवर्तन र मौसमी गडबडीको हालको अवस्थामा विपतको पूर्वानुमान गर्न पनि कठिन छ। यसबाट हुन सक्ने धनजनको क्षतिबारे अहिले नै सतर्क रहन र आवश्यक तयारी गर्न जरुरी छ। यसबाट स्थानीय युवाहरुमा केही गरौँ भन्ने भावना र जोश देखिन्छ। तर कतिपय नवयुवा भने बेरोजगार बसिराखेका छन्। जसको भविष्य भने अन्धाकार र अनिश्चित छ।
अरुण उपत्याकाको पर्यटकीय र समग्र विकास निरन्तर हुनुपर्छ। यसको लागि स्थानीय नागरिक, संचार माध्यम, सरकार र दाताहरुको सहयोगका उत्तिकै आवश्यक हुन्छ। विश्वकै होचो उपत्यकामध्ये एक र जैविक विविधताले भरिएको यस क्षेत्रको वातावरणीय र पर्यावरणीय विकास, संरक्षण र प्रवद्र्धृन कायम राख्नुपर्छ।
सडक सञ्जाललगायत पूवार्धार विकासको साथै शिक्षा, स्वास्थ्य, कृषि विकास र समाज कल्याणमा राज्यको लगानी बढाउनु आवश्यक छ। राज्य संयन्त्रको अलवा देश बनाउने कर्तव्य आम नागरिकको पनि हो। यसरी नै हरेक गाउँ, नगर, शहर अनि प्रदेश बनेको हेर्न पाइयोस्। अरुको मात्र मुख नताकी हरेक नागरिक, राष्ट्रसेवक कर्मचारी, राजनेता र समाजसेवीहरुले जसले जे जति सकिन्छ त्यो गरौँ। यसरी नै देश त उसै बन्दै जान्छ।