PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जनकपुरधाममा राम नवमीको रौनक : निश्चालानन्द सरस्वती शंकराचार्यले दिए विवादित अभिव्यक्ति



सुमित मिश्र

जनकपुरधाममा राम नवमीको रौनक : निश्चालानन्द सरस्वती शंकराचार्यले दिए विवादित अभिव्यक्ति

जनकपुरधाम : जनकपुरधाममा रामनवमी पर्व आज धूमधामका साथ मनाइँदै छ। भगवान रामको जन्म चैत शुक्ल नवमी तिथिकै दिन भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामनवमी पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ। जनकपुरधाम भगवान रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्व रहेको छ।

रामनवमी पर्वको अवसर पारेर जानकी मन्दिरमा विशेष तयारी गरिएको छ।

जनकपुरधामस्थित राम मन्दिरमा समेत रामनवमी पर्वको अवसरमा तयारी गरिएको राम मन्दिरका महन्थ राम गीरिले जानकारी दिए। राम मन्दिरमा हुने रामनवमी पूजाको सम्पूर्ण तयारी गुठी संस्थानले गर्दै आइरहेको छ। राम नवमीको अवसरमा जनकपुरमा भारत र नेपालका सयौं साधु सन्त सहभागी भएका छन्।

गत २ वर्षदेखि कोरोना महामारीका कारण रामनवमी पर्व प्रभावित हुँदै आईरहेको थियो।

शंकरचार्यको विवादित अभिव्यक्ति

जानकी मन्दिरमा चैते दशैँ र राम जन्मोत्सवको अवसर पारेर भारतको गोवर्द्धन मठका निश्चालानन्द सरस्वती शंकराचार्यले प्रवचन दिने कार्यक्रमको आयोजना गरिएको थियो। प्रवचन कार्यक्रममा शंकराचार्य निश्चालानन्दले नेपाल सुरक्षित रहे भारत पनि सुरक्षति रहने बताएका थिए। उनले नेपाललाई हिन्दु राष्ट्रकै मान्यता दिनुपर्ने अभिव्यक्ति समेत दिएका थिए। नेपाल हिन्दु राष्ट्र भए भारतसँगै विश्वका अन्य १५ देश पनि हिन्दु राष्ट्र हुने उनको दाबी थियो।

‘नेपाल भारतको सांस्कृतिक धरातल एउटै छ, खासगरी दुई देशबिचको भाग अर्थात मिथिलाञ्चल क्षेत्र तर चीनको षड्यन्त्रमा नेपाल नफसोस, उनले भने।’

आफ्नो मन्तव्यको क्रममा नेपालका राजनीतिज्ञहरुलाई चेतावनी समेत दिन भ्याए। भने ‘ओलीजी, प्रचण्डजी सावधान आफ्नो पूर्वजको विषयमा ज्ञान राख्नुस,’ अगाडि भने ‘मृत्युपछि धर्मले नै साथ दिन्छ वितण्डावादले तपाईंलाई साथ दिँदैन।’

राम र जनकपुरको सम्बन्ध

चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान रामको जन्म भएको थियो। अगस्त्यसंहिताका अनुसार चैत शुक्ल पक्षको नवमी तिथिका दिन पुनर्वसु नक्षत्र, कर्क लग्नमा जब सूर्य अन्य ५ ग्रहको शुभ दृष्टिका साथ मेष राशिमा रहेको समय भगवान् श्रीरामको जन्म  माता कौशल्याको गर्भबाट भएको थियो।

 

भगवान रामको मिथिलासँग सम्बन्ध प्रगाढ छ। उनको विवाह मिथिला नरेश जनकको पुत्री सीतासँग भएको थियो। भगवान राम विवाहका लागि विश्वामित्र ऋषिसँगै जनकपुरधाम आएका थिए। जानकीसँगको पहिलो भेट गिरिजा स्थानमा भएको थियोर। स्वम्बर रंगभूमि मैदानमा र विवाह मणि मण्डपमा भएको अवशेषहरु अहिले पनि मिथिलामा छन्।

जनकपुरमा मात्र नभई पूरै मिथिलाञ्चलमा कुनै उत्सव भयो कि सीतारामको गुणगान गाउने गरिन्छ। जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव भन्छन् ‘मन्दिरमा हरेक समय हुन्छु, मलाई सीताराम यही छन् भन्ने अनुभूति भईरहेको हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell