PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाकिस्तानका १९ प्रधानमन्त्रीको एउटै नियति : कोही बर्खास्ती, कसैको हत्या, कसैले पूरा गर्न पाएनन् पूर्ण कार्यकाल



पाकिस्तानका १९ प्रधानमन्त्रीको एउटै नियति : कोही बर्खास्ती, कसैको हत्या, कसैले पूरा गर्न पाएनन् पूर्ण कार्यकाल
फोटो : Reuters

नयाँ पाकिस्तान निर्माणको नारासहित पाकिस्तानको 'कप्तान' बनेका पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव असफल भयो। प्रधानमन्त्री  खान बहिर्गमनमा परेसँगै विपक्षी दलहरुले 'पुरानो पाकिस्तान'मा स्वागत छ को नारा गुञ्जाए। 

अविश्वासको प्रस्ताव दर्ता भएको एक महिनापछि राजनीतिक उतारचढावसँगै खान विरुद्धको प्रस्ताव पारित भयो। पाकिस्तानको इतिहासमा पहिलोपटक अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीलाई बहिर्गमनको बाटो देखाउन राष्ट्रिय सभाका सांसदहरु मतदानमा सहभागि भए।

प्रमुख प्रतिपक्षी दल पीएमएल-एनका उपाध्यक्ष मरियम नावाज सरिफले 'प्यारो पाकिस्तानका लागि दुःस्वप्न सकिएको' टिप्पणी गर्दै अब 'उपचार र पुन निर्माणको' समय आएको प्रतिक्रिया दिएकी छन्।

पीएमएल-एन नेता ख्वाजा साद रफाकले 'वेलकम नेशन ब्याक टु- पुराना पाकिस्तान' भन्दै ट्वीट गरेका छन्।

खान क्याबिनेटका शिक्षामन्त्री साफकत महमुद पाकिस्तानका लागि दु:खको दिन भएको टिप्पणी गरेका छन्। साथै उनले पुन: अनको उदय हुने विश्वास व्यक्त गरेका छन्।

कुनै प्रधानमन्त्रीले पूरा गरेनन पाँच वर्षे कार्यकाल

गत रात प्रधानमन्त्री खान 'सत्ताको पूरा इनिङ' खेल्न नपाउँदै 'आउट' हुँदै पभेलियन फर्किए। राजनीतिक खेलमा 'म्याच अम्पाएर' (उपसभामुख)बाट 'नट आउट' त भए। तर, विपक्षीहरुले रिभ्युका लागि 'थर्ड अम्पायर' गुहारे। 'थर्ड अम्पाए (सर्वोच्च अदालत)'बाट 'खेल निरन्तर गराएसँगै' विपक्षी बलले बोल्ड आउट हुँदै पभेलियन फर्किन बाध्य भए खान।

सन् २०१८ मा भएको निर्वाचनमा एक्लै ठूलो दल बनेको पाकिस्तान तेहारिक-ए इन्साफ (पीटीआई)का नेता खान प्रधानमन्त्री हुँदै गर्दा उनले नयाँ पाकिस्तान निर्माणको नारा दिएका थिए। 

कहिले निर्वाचनको बहिस्कार, कहिले शुन्य सीटमा खुम्चिनुपर्ने अवस्था हुँदै पीटीआई २०१८ सम्म आइपुग्दा ठूलो पार्टी त बन्यो तर खानले पाँच वर्षे कार्यकाल पुरा गर्न सकेनन्। 

२०१३ को निर्वाचनमा खानले राजनीतिक उचाइ लिन थालेका थिए। उनले भ्रष्टाचारको मुद्दा उठाउन गर्दै 'नयाँ पाकिस्तान'को नारा दिए। तर, उनले गरेको वाचा पूरा गर्न खरो उत्रिन सकेनन्। अन्त्यमा 'पुरानो पाकिस्तान'लाई जित सुम्पिँदै खानले दिएको 'नयाँ पाकिस्तान' लाई बिदासमेत गरेका छन्। 

खान पाकिस्तानमा अविश्वासको प्रस्तावबाट बहिर्गमन हुने पहिलो प्रधानमन्त्री भए पनि २०४७ साल यता कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्। खान कार्यकाल पूरा नहुँदै बहिर्गमनमा पर्ने १९  औं प्रधानमन्त्री हुन्।

सन् १९५१ अक्टोबरमा देशकै प्रथम प्रधानमन्त्री लियाकत अली खानको हत्या भयो। हत्या भएसँगै उनले कार्यकाल पूरा गर्न पाएनन्। त्यसपछि बनेका सात प्रधानमन्त्रीले राजिनामा दिए।  पाँच प्रधानमन्त्री बर्खास्तमा परे भने चार प्रधानमन्त्री सैन्य 'कु'मार्फत हटाइए। त्यस्तै दुई जना प्रधानमन्त्रीलाई अदालतले नै अयोग्य ठहर गरिदियो।

पाकिस्तानको इतिहासमा सौकत अजिज, राजा परवेज अशर्फ र शाहीद खाकन अब्बासीमात्र यस्ता प्रधानमन्त्री जुन जसले राष्ट्रिय सभाको पाँच वर्षे कार्यकाल पूरा त गरे तर उनीहरु अघिल्ला प्रधानमन्त्रीको राजिनामा, बर्खास्ती वा अयोग्य भएपछिको कार्यकाल पूरा गर्न आएका थिए।

नवाज सरिफ यस्ता पात्र हुन् जसले तीन पटकको कार्यकालमा चार पटक प्रधानमन्त्रीबाट हट्नुपरेको छ। यद्यपि उनी पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी रहने प्रधानमन्त्री हुन्। उनले तीन हजार ४२२ दिन प्रधानमन्त्री कार्यालयमा बिताएका छन्।

इमरान खान यो सूचीमा छैठौँ नम्बरमा छन्। उनले प्रधानमन्त्री कार्यालयमा एक हजार ३३५ दिन बिताएर फर्किए।

पाकिस्तानको दोस्रो प्रधानमन्त्री बनेका सिर ख्वाजा नजिमुद्दिन एक वर्ष १८२ दिन प्रधानमन्त्री कार्यालयमा रहे। लियाकत अली खानको हत्यापछि प्रधानमन्त्री बनेका उनको सरकारलाई गभर्नर जनरल मलिक गुलाम मुहामदले बर्खास्त गरे। त्यसपछि कुटनीतिज्ञ मोहम्मद अली बोगारा प्रधानमन्त्री बने। २ वर्ष ११७ दिनमा नयाँ संसदको निर्वाचन भए पनि बिदा भए।

१९५५ अगस्तमा मुस्लिम लिग, अवामी लिग र रिपब्लिकन पार्टीको गठबन्धनबाट प्रधानमन्त्री बनेका चौधरी मोहम्मद अली पनि एक वर्ष ३१ दिनमै बहिर्गमनको बाटो रोज्न बाध्य भए। उनलाई उनकै पार्टी मुस्लिम लिगले हटाएको थियो।

त्यसपछि अवामी लिगका हुसेइन सहीद सुहारवार्दी प्रधानमन्त्री बने। उनी अलीभन्दा चार दिन बढीमात्र सत्तामा रहे। उनी पनि आफ्नै पार्टी भित्रको किचलोका कारण बहिर्गमनमा परे। उनले आफ्नै पार्टीमा विश्वासको मत प्राप्त गर्न सकेनन्।

उनी पछि मुस्लिम लिगका नेता इब्राहिम इस्माइल चुनड्रिगर ६० दिनका लागि मात्र प्रधानमन्त्री बने। उनी माथि गठबन्धन दलकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि गठबन्धनकै अर्को दल रिपब्लिकन पार्टीका सर पिरोज खान नुन प्रधानमन्त्री बने। उनको कार्यकाल २९५ दिन मात्र रह्यो। उनी उनकै पार्टीका अध्यक्ष इस्कान्दर मिर्जाका कारण बहिर्गमन हुन बाध्य भए। 

सन् १९७१ डिसेम्बर ७ मा प्रधानमन्त्री बनेका नुरुल अमिन पाकिस्तानमा सबैभन्दा कम प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनी १३ दिनमात्र पाकिस्तानको प्रधानमन्त्री बने। यद्यपि उनी सन् १९७० देखि १९७२ सम्मको इन्डो पाकिस्तान युद्धमा उपराष्ट्रपति थिए।

सन् १९७३ अगस्ट १४ मा जुल्फिकर अली भुट्टो प्रधानमन्त्री बने। पाकिस्तान पिपल्स पार्टीका संस्थापक उनले कार्यकारी प्रधानमन्त्री बन्न राष्ट्रपति पदबाट राजिनामा दिएका थिए। उनी पनि सन् १९७७ जुलाई ५ मा तीन वर्ष ३२५ दिनमै प्रधानमन्त्री कार्यालयबाट बाहिरिनुपर्‍यो। उनी आफैले नियुक्त गरेका सैन्य प्रमुख जनरल जिया उल हकबाट तीन वर्ष ३२५ दिनमै बर्खास्तमा परे। 'अप्रेसन फेयर प्ले' नाम दिइएको सैन्य 'कु' मार्फत उनी बर्खास्तमा परे। हिंसा बिना नै भएको 'कु' पछि भुट्टो र विपक्षी दलका नेताहरु जेल परे।

१९८५ मा भएको निर्वाचनपछि मुहम्मद खान जुनेजो मार्च २४ मा प्रधानमन्त्री बने। पार्टीविहिन निर्वाचनबाट स्वतन्त्र रुपमा निर्वाचित भएका जुनेजो पनि तीन वर्ष ६६ दिनमात्र प्रधानमन्त्री कार्यालयमा रहे। स्वतन्त्र रुपमा नर्वाचित भए पनि उनी पहिलो मुस्लिम लिगका नेता थिए। मे २९, १९८८ मा संविधान ८ औं संशोधनपछि राष्ट्रपतिबाट  उनलाई बर्खास्त गरिएको थियो।

सन् १९८८ डिसेम्बर २ मा बेनेजिर भुट्टो प्रधानमन्त्री बनिन्। उनी पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री हुन्। उनलाई राष्ट्रपति गुलाम इसाक खानले १९९० अगस्ट ६ मा बर्खास्त गरे। उनले प्रधानमन्त्री कार्यालयमा एक वर्ष २४७ दिनमात्र बिताइन्।

त्यसपछि पीएमएल (एन)का तर्फबाट नवाज सरीफ प्रधानमन्त्री बने। १९९० नोभेम्बर ६ मा प्रधानमन्त्री बनेका सरिफ दुई वर्ष २५४ दिनमा नै बर्खास्तमा परे। उनको सरकारलाई पनि राष्ट्रपति गुलाम इसाक खानले बर्खास्त गरे। उनलाई त्यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने फैसला गरे पनि १८ जुलाई १९९३ मा उनले पदबाट राजिनामा दिए।

१९ अक्टोबर १९९३ मा बेनेजिर भुट्टो दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भइन्। सन् १९९५ मा  भएको 'अपरेसन खलिफा' असफल सैन्य 'कु'बाट त बच्न सफल भइन्। तर राष्ट्रपति फारुख लेगारीले १९९६ नोभेम्बर ५ मा बर्खास्त गरे। उनी दुईपटक राष्ट्रपतिबाट बर्खास्तमा पर्ने प्रधानमन्त्री हुन्।

भुट्टो पछि पुन: शरिफ नै प्रधानमन्त्री बने। फेब्रुअरी १७ १९९७ मा प्रधानमन्त्री बनेका उनलाई जनरल परवेज मुसर्फले बर्खास्त गरे। सन् १९९९ अक्टोबर १२ मा बर्खास्तमा पर्दा उनी कार्यालयमा २ वर्ष २३७ दिनमात्र रहे।

देशको १५ औं प्रधानमन्त्रीको रुपमा मिर जफारुल्लाह खान जमाली प्रधानमन्त्री बने। सन् २००२ मा भएको निर्वाचनमा पाकिस्तान मुल्लिम लिग (क्यु)बाट उनी प्रधानमन्त्रीमा निर्वाचित भए। उनी बलोचिस्तानबाट निर्वाचित हुने पहिलो प्रधानमन्त्री हुन्। उनले पनि पूरा कार्यकाल बिताउन पाएनन्। परवेज मुसर्फको नीतिलाई अंगीकार गरे पनि २६ जुन २००४ मा उनले राजिनामा दिए। उनले प्रधानमन्त्री कार्यालयमा एक वर्ष २१६ दिनमात्र बिताए।  उनको राजिनामापछि चौधरी सुजात हुसैनलाई संसदले प्रधानमन्त्रीमा निर्वाचित गर्‍यो। ३० जुन २००४ मा प्रधानमन्त्रीमा निर्वाचित भएका उनले ५७ दिनमात्र प्रधानमन्त्री कार्यालयमा रहे। पीएमएल (क्यु)का उनलाई उनकै पार्टीका नेता सौकत अजिजले प्रतिस्थापन गरे। २८ अगस्त २००४ मा प्रधानमन्त्री बनेका अजिज तीन वर्ष ७९ दिनपछि १५ नोभेम्बर २००७ सम्म प्रधानमन्त्री बने। उनी पाकिस्तानको राष्ट्रिय सभाले पहिलो पटक पाँच वर्ष कार्यकाल पूरा गरेपछि बिदा हुने प्रधानमन्त्री हुन्।

सन् २००८ को निर्वाचनमा पाकिस्तान पिपल्स पार्टी (पीपीपी)का युसुफ राजा गिलानी पाकिस्तानको १८ औं प्रधानमन्त्री बने। उनले एकैपटक धेरै समय प्रधानमन्त्री कार्यालयमा बिताए। सन् २०१२ जुन १९ मा सर्वोच्च अदालतले प्रधानमन्त्रीमा अयोग्य भएको घोषणा गर्दा सम्म उनी ४ वर्ष ८६ दिन प्रधानमन्त्री कार्यालयमा रहे।

त्यसपछि गिलानीको ठाउँमा पीपीपीकै राजा पेरभाइज असर्फ प्रधानमन्त्री बने। सन् २०१२ जुन २२ मा प्रधानमन्त्री बनेका उनी २५७ दिनपछि मार्च २४, २०१३ मा राष्ट्रिय सभामा पाँच वर्षे कार्यकाल पूरा भएपछि बिदा भए।

२०१३ को निर्वाचनमा पीएमएल (एन)ले एकल बहुमत हासिल गर्‍यो। ३४२ सदस्य रहेको संसदमा १८२ सिट हात पारेसँगै नवाज सरिफ तेस्रोपटक ५ जुन २०१३ मा प्रधानमन्त्रीमा निर्वाचित भए। तर, उनी चार वर्ष ५३ दिनपछि २८ जुलाई २०१७ मा पदबाट बाहिरिनु पर्‍यो। उनलाई त्यहाँको सर्वोच्च अदालतले पानामा पेपर्स काण्डमा कुनै पनि सरकारी पदमा अयोग्य हुने गरी फैसला सुनाएको थियो। त्यसपछि उनी स्वत प्रधानमन्त्रीबाट बाहिरिनुपर्‍यो।
पाकिस्तानका २१ औँ प्रधानमन्त्री हुन् शाहीद खकान अब्बासी। पीएमएल (एल)का नेता अब्बासी राष्ट्रियसभाको पाँच वर्षे कार्यकाल पूरा भए पछि बिदा हुने पाकिस्तानका तेस्रा प्रधानमन्त्री हुन्।

अगस्ट १, २०१८ मा प्रधानमन्त्री बनेका उनी ३०३ दिन कार्यालयमा रहेर मे ३१, २०१८ मा बिदा भए।

पाकिस्तानका २२ औं प्रधानमन्त्री इमरान खानले पनि अघिल्ला १८ प्रधानमन्त्रीकै जस्तो नियती भोग्नुपर्‍यो। २०१८ मा भएको निर्वाचनमा १५६ सिटसहित ठूलो दल बनेको पीटीआईबाट खानले गठबन्ध सरकारको नेतृत्व गरेका थिए। अप्रिल १०, २०२२ मा उनी विरुद्धको अविश्वासको प्रस्ताव पारित हुँदा गठबन्धनमा सामेल दलले मात्र साथ छाडेनन्। उनकै पार्टीका केही सांसदले नै विपक्षीले ल्याएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे।

पाकिस्तान स्वतन्त्र भएसँगै शुरु भएको राजनीतिक तिकडमकका कारण त्यहाँ प्रथम प्रधानमन्त्रीदेखि २२ औं प्रधानमन्त्रीसम्म कसैले पनि पाँच वर्षे 'इनिङ' पूरा गर्न पाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell