PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रसिया-युक्रेन युद्धले पासपोर्ट सुचकांक प्रभावित, नेपालको पासपोर्ट खराबको सूचीमा



रसिया-युक्रेन युद्धले पासपोर्ट सुचकांक प्रभावित, नेपालको पासपोर्ट खराबको सूचीमा
फाइल फोटो

रसियाले युक्रेनमा हमला गरेपछि त्यसको प्रभाव विश्वव्यापी यात्रा स्वतन्त्रतामा पनि परेको छ। युक्रेनी शरणार्थीहरूका लागि सिमाना खोल्ने तथा हवाई क्षेत्र बन्द गर्दा विश्वव्यापी यात्रा स्वतन्त्रतामा प्रभाव पार्न थालेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

शक्तिशाली राहदानी (विश्वभर धेरै फ्री-भिसाको लागि योग्य) भएका देशहरूको सूचीको शीर्षमा थोरै परिवर्तन भइरहँदा हालैको द्वन्द्वले सूचीको पुछारमा पनि प्रभाव पारेको लण्डनमा आधारित विश्वव्यापी नागरिकता तथा निवास सल्लाहकार फर्म ‘हेन्ले एन्ड पार्टनर्स’ले बताएको छ।

फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि धेरै देशहरूले या त आफ्नो प्रवेश नीतिहरू परिमार्जन गरेका छन् या युक्रेनी राहदानीवाहकहरूको लागि भिसा आवश्यकताहरू पूर्ण रूपमा हटाएका छन्। यसको अर्थ युक्रेनी पासपोर्टको ‘भ्यालु’ बढेको छ।

यसबिच, युरोपेली संघ, अमेरिका र क्यानडाले सबै रसियाली अपरेटरहरूलाई उनीहरूको हवाई क्षेत्रबाट प्रतिबन्ध लगाएका छन्। त्यस्तै, केही देशहरूले रसियाली नागरिकहरूलाई भिसा जारी गर्न रोकेका छन्।

‘विकसित विश्वका धेरैजसो ठाउँमा रसियन राहदानीलाई रद्दीको रूपमा निन्दा गरिएको छ,’ हेन्ले एन्ड पार्टनर्सले एक रिपोर्टमा भनेको छ।

यद्यपि, यो सूचीमा रसियालाई अहिलेसम्म ठूलो प्रभाव भने परेको छैन। तर, आगामी महिनाहरूमा यो अवस्था परिवर्तन हुने सम्भावना रहेको केही रिपोर्टहरुले उल्लेख गरेका छन्।

२०२२ को दोस्रो चौमासिक सूचीमा युक्रेन एक स्थानमाथि उक्लिएको छ। युक्रेन अहिले सूचकांकको ३४औँ स्थानमा छ। युक्रेनका नागरिकहरूले अब १४३ गन्तव्यहरूमा भिसा-फ्री (वा भिसा-अन-अराइभल) यात्रा गर्न सक्छन्।

रसिया चार स्थान तल झरेर ४९औं स्थानमा पुगेको छ। रसियाली पासपोर्टधारीहरु ११७ देशहरूमा खुला रुपमा यात्रा गर्न सक्छन्। भिसा निलम्बन र प्रतिबन्धहरू औपचारिक भएपछि रसियाको अहिलेको स्थिति अझ खराब हुने अपेक्षा गरिएको छ।

सूचकको शीर्ष स्थानमा पहिलेझैँ जापान र सिंगापुर छन्। यी राहदानी बोक्नेहरूले १९२ गन्तव्यहरू भिसा-फ्री यात्रा गर्न सक्छन्।

दोस्रो स्थानमा जर्मनीसँगै १९० अंकका साथ दक्षिण कोरिया छ भने फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग र स्पेन १८९ अंकसहित तेस्रो स्थानमा छन्।

यता, १८८ अंकका साथ अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन चौथो स्थानमा रहेका छन् भने फ्रान्स पाँचौं स्थानमा झरेको छ।

गत महिना कोभिड-१९ सम्बन्धि प्रतिबन्धहरू खारेज गरेको बेलायत एक स्थान माथि उक्लिँदै फ्रान्स, आयरल्याण्ड र पोर्चुगलसँगै ११७ अंकसहित पाँचौं नम्बरमा पुगेको छ।

बेल्जियम, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्याण्डसँगैँ अमेरिका छैटौँ नम्बरमा छ, १८६ अंकको साथ।

अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस र माल्टा १८५ अंकका साथ फेरि सातौँ स्थानमा परेका छ।

आठौँ स्थानमा हंगेरी १८३ अंकका साथ एक्लै छ भने पोल्याण्ड आठौँबाट नवौं स्थानमा झर्दै १८२ अंकका साथ लिथुआनिया र स्लोभाकियासँगै छ। दशौँ स्थानमा रहेका इस्टोनिया, लाटभिया र स्लोभेनियाको १८१ को अंक छ।

२०२२ का उत्कृष्ट राहदानीहरू :

१. जापान, सिंगापुर (१९२ गन्तव्य)

२. जर्मनी, दक्षिण कोरिया (१९०)

३. फिनल्याण्ड, इटाली, लक्जमबर्ग, स्पेन (१८९)

४. अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड्स, स्वीडेन (१८८)

५. फ्रान्स, आयरल्याण्ड, पोर्चुगल, बेलायत (१८७)

६. बेल्जियम, न्यूजील्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, अमेरिका (१८६)

७. अष्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रीस, माल्टा (१८५)

८. हंगेरी (१८३)

९. लिथुआनिया, पोल्याण्ड, स्लोभाकिया (१८२)

१०. इस्टोनिया, लाटभिया, स्लोभेनिया (१८१)

सबैभन्दा खराब पासपोर्टहरू :

४० भन्दा कम देशहरूमा भिसा-फ्री वा भिसा-अन-अराइभल पहुँच भएका देशहरु :

१०५. उत्तर कोरिया (३९ गन्तव्यहरू)

१०६. नेपाल र प्यालेस्टाइन क्षेत्र (३७)

१०७. सोमालिया (३४)

१०८. यमन (३३)

१०९. पाकिस्तान (३१)

११०. सिरिया (२९)

१११. इराक (२८)

११२. अफगानिस्तान (२६)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell