बुटवल : सत्ता गठबन्धनका पाँच दलले आगामी स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा अन्य कुनैपनि दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्।
सोमवार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले गठबन्धन भित्रका पाँच दल बाहेक अन्य दलहरुसँग तालमेल नगर्ने निर्णय गरेको हो। बैठकले प्रदेशभरी गठबन्धन भित्रैबाट संयुक्त प्रचार प्रसार समिति गठन गर्ने निर्णय गर्दै प्रदेशभरीका निर्वाचन गतिविधिलाई अनुगमन गर्न समिति समेत गठन गरेको छ।
संयुक्त गतिविधि अनुगमन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट राजु खनाल, नेकपा (माओवादी केन्द्र)बाट लुमकान्त न्यौपाने, नेकपा (एकीकत समाजवादी)बाट अशोक कोइलारा, जनता समाजवादी पार्टीबाट अशोक कुमार यादव र राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्री रहेका रहेका छन्। आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरिहार्यता बढ्दै गइरहेको समेत बैठकले निष्कर्ष निकालेको छ।
बैठकमा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन मगर, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलम लगायतको उपस्थिति रहेको थियो।