PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के हो ‘सुगर फ्री’ : यस्ता खानेकुरा निर्धक्कसँग खान कतिको उपयुक्त?



के हो ‘सुगर फ्री’ : यस्ता खानेकुरा निर्धक्कसँग खान कतिको उपयुक्त?
फोटो : medicalnewstoday.com

बजारमा पाइने क्यान्डी बार, मिठाइ, सफ्ट ड्रिङ्क, चकलेट आदिमा कृत्रिम गुलियो थपेर मीठो बनाइन्छ। कृत्रिम गुलियो या त सिन्थेसाइज्ड कम्पाउण्ड हुन्छन् या प्राकृतिक मिठास पनि हुन सक्छन्।

अमेरिकामा खाना र औषधिको नियमन गर्ने सरकारी निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)का अनुसार हामीले खाने खानेकुरामा पाइने सबै चिनी ‘एक र दुई-युनिट चिनी’ हुन्। टेबल सुगर (सुक्रोज), ब्राउन सुगर, डेक्सट्रोज, ल्याक्टोज र हनी ‘एक र दुई-युनिट चिनी’का केही उदाहरणहरू हुन्।

कुनैपनि उत्पादनमा ‘सुगर-फ्री’को लेबल राख्न त्यसमा चिनीहरूको मात्रा ०.५ ग्रामभन्दा बढी हुनु हुँदैन। यसबाहेक, ‘सुगर-फ्री’को लेबल नराखिएका उत्पादनको तुलनामा यसमा धेरै क्यालोरी पनि हुनु हुँदैन।

उत्पादन पिच्छे ‘नो सुगर’, ‘फ्री अफ सुगर’, ‘विथाउट सुगर’, ‘जिरो सुगर’ र यस्तै अन्य धेरै शब्दहरू पनि प्रयोग गर्ने गरिएको हुन्छ। त्यसैले शब्दहरू फरक हुँदैमा भ्रममा पर्नुहुँदैन, यी सबैको अर्थ मूलतः एउटै हो।

त्यसो भए ‘सुगर फ्री’ खानेकुराहरू कसरी गुलियो हुन्छ?

धेरै क्यालोरी नहुने गरी कुनै उत्पादनलाई गुलियो बनाउन त्यसमा ‘स्वीटनिङ एजेन्ट’ भनिने चिज थपिन्छ। सामान्य रूपमा दैनिक जीवनमा यसलाई ‘सुगर सब्स्टिच्युट (चिनीको विकल्प)’ भनेर चिनिन्छ, जुन प्राविधिक रूपमा गलत छ।

यो मूलतः एक खाद्य पदार्थ हो जसले धेरै क्यालोरी थप नगरी सामान्य चिनी जत्तिकै गुलियो प्रदान गर्छ। केही यस्ता विकल्पहरू पनि छन् जसमा कत्ति पनि क्यालोरी वा कार्बोहाइड्रेटहरू थप गरिएको हुँदैन।

मुख्यतया दुई प्रकारका ‘स्वीटनिङ एजेन्टहरू’ हुन्छन्। एउटा ‘सुगर सब्स्टिच्युट’ जस्तै एस्पार्टेम, नियोटेम, एसिसल्फेम पोटासियम, स्टेभिया, स्याकरिन र सुक्रालोज एफडीएबाट स्वीकृत प्राप्त ६ विकल्प र अर्को ‘सुगर अल्कोहल’ जस्तै माल्टिटोल, जाइलीटोल र आइसोमाल्ट हुन्। ‘सुगर अल्कोहल’मा केही मात्रामा क्यालोरी र कार्बोहाइड्रेट हुन्छ। तर, ‘सुगर सब्स्टिच्युट’मा लगभग कत्ति पनि क्यालोरीहरू नथपिने भएकाले यसले रगतमा चिनीको मात्रा बढाउँदैन।

संक्षेपमा भन्नुपर्दा, ‘सुगर फ्री’ खानेकुरा नियमित गुलियो खानेकुरा जस्तै गुलियो हुन सक्छ (त्योभन्दा अझ बढी गुलियो हुनसक्छ) तर यसले शरीरमा थोरै (वा शून्य क्यालोरी) थप्छ।

‘सुगर फ्री’ खानेकुराको के-के हुन्छ असर?

के क्यालोरीको चिन्ता नगरी ‘सुगर फ्री’ खानेकुराहरू निर्धक्कसँग खान उपयुक्त छ त? पक्कै पनि छैन। ‘सुगर फ्री’ खानेकुराहरुले दीर्घकालिन रुपमा असर गर्न सक्छ।

सामान्य चिनी भएका खानेकुराको सट्टा ‘सुगर फ्री’ खानेकुराहरू खान सुरु गर्दा क्यालोरी खपतलाई कम हुने हुँदा छोटो अवधिको लागि फाइदाजनक हुन सक्छ। तर, महिनौँ वा वर्षौँसम्म यसको सेवन जारी राख्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।

पोषक तत्व नभएका गुलियो खानेकुराहरु वास्तवमा सामान्य चिनीभन्दा धेरै नै गुलियो हुन्छ। अर्को शब्दमा भन्दा यी ‘सुगर फ्री’ उत्पादनहरू थोरै मात्रा खाएपनि धेरै नै गुलियो महसुस हुन्छ। यसले शरीरको ‘सुगर रिसेप्टरहरू’लाई गम्भीर रूपमा गडबड गर्न सक्छ, र फलस्वरूप प्राकृतिक गुलियो खानेकुराहरू (जस्तै फलफूलहरू) सामान्यभन्दा धेरै कम गुलियो लाग्नेछ। 

यसबाट तरकारीहरूको स्वाद पनि नमिठो हुने अवस्था आउन सक्छ। जसले आहार बानीमा गम्भीर परिवर्तनहरू ल्याउन सक्ने र अत्यधिक पौष्टिकयुक्त तर कम गुलियो खाद्य वस्तुहरूको खपतमा उल्लेखनीय रूपमा कमी आउने बताइएको छ।

‘सुगर फ्री’ लेबल सुन्दा जति फाइदाजनक सुनिन्छ, दीर्घकालिन रुपमा यसले फाइदाभन्दा धेरै नोक्सान पुर्‍याउन सक्छ। त्यसकारण ‘सुगर फ्री’ खानेकुराको सेवनलाई नियन्त्रणमा राख्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell