PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा कसरी उत्रिने ? बर्दिबासमा रणनीति बनाउँदै ‍गठबन्धन, एमाले र लोसपा



सुमित मिश्र

स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा कसरी उत्रिने ? बर्दिबासमा रणनीति बनाउँदै ‍गठबन्धन, एमाले र लोसपा

बर्दिबास : मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन्। मंगलबार सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बेग्ला बेग्लै बैठक चल्यो।

मंगलबार महोत्तरीको बर्दिबासमा बसेको सत्तारुढ गठबन्धनको मधेश प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

बैठकले जिल्ला स्तरीय गठबन्धनबाट पालिका तह अनुसारको छलफल गरि खाका तयार पार्ने निर्णय पनि गरेको छ। यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ। बैठकमा वैशाख ३ र ४ गतेसम्म चार-चार वटा जिल्ला कमिटीका अध्यक्षहरुसँग बैठक बस्ने योजना बनेको नेपाली कांग्रेस मधेश प्रदेश समितिका कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए।

मधेश प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफल पछि गठबन्धनको प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक राखेर तालमेलको खाका तयार पार्ने निर्णय भएको नेताहरुको भनाइ छ।

प्रदेशमा गठबन्धनको नेतृत्व गर्ने नेतासँग हुने बैठकमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुनेछन्। गठबन्धन बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले महानगरपालिका र उपमहानगरपालिको बारेमा केन्द्रीय स्तरबाटै टुंगो लगाउने बारे छलफल भएको बताए।

त्यस्तै, वैशाख ३ गते कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरमा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने जनाइएको छ। वैशाख ४ गते जनता समाजवादी पार्टी मधेश प्रदेश कार्यालयमा बस्ने बैठकमा बिहान ९ देखि १२ बजेसम्म सर्लाही र रौतहट जिल्लाका बारेमा र दिउँसो २ बजेदेखि बस्ने बैठकमा बारा र पर्सा जिल्लाका बारेमा छलफल हुने जनाइएको छ।

मंगलवार नै नेकपा एमालेले पनि चुनाव केन्द्रित बैठकबाट रणनीति तय गर्न जुटेको थियो। महोत्तरीको बर्दिबासस्थित गौतम होटेलमा भएको बैठकबाट सत्तारुढ गठबन्धन दल भित्र रहेका असन्तुष्टी पक्षलाई समेटेर निर्वाचन केन्द्रित गतिविधि तयार गर्न प्रदेश समितिका सदस्यहरुलाई निर्देशन दिइएको छ।

नेकपा एमालेका नेता रामचन्द्र मण्डलले मधेश प्रदेशको पूर्ण बैठक बसेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने जनाएका छन्। लोसपासँग स्थानीयस्तरमा आवश्यक्ता अनुसार गठबन्धन हुन सक्ने मण्डलको भनाइ छ।

यता, लोकतान्त्रिक समाजावदी पार्टी नेपाल मधेश प्रदेश समितिको बैठक भने निर्वाचन केन्द्रित छ।

मंगलवारको बैठकबाट चुनाव केन्द्रित रणनीति, स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनोट बारे जिल्लागत रिपोर्ट, सो रिपोर्टसहित आएका विभिन्न कुराहरु केन्द्रिय समितिमा पेस गर्ने र विभिन्न स्थानीय तहमा हुन सक्ने तालमेल वा गठबन्धनलगायत बारेमा निर्णय भएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell