PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनकपुरधाममा फेरि लालकिशोरको दाबी, गठबन्धनकै नेता भन्छन् : फोहोर व्यवस्थापन गर्न नसकेको मेयरलाई कसरी मत दिने ?



सुमित मिश्र

जनकपुरधाममा फेरि लालकिशोरको दाबी, गठबन्धनकै नेता भन्छन् : फोहोर व्यवस्थापन गर्न नसकेको मेयरलाई कसरी मत दिने ?

जनकपुरधाम : अहिले देशभर स्थानीय तह निर्वाचनको माहोल छ। गठबन्धन गरेर निर्वाचन गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबिच भागबन्डाबारे रस्साकस्सी चलिरहेको छ।

सत्ता बाहिर रहेका नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले कतिपय पालिकामा उम्मेद्वारको नाम  सिफारिस समेत गरिसकेको छ। तर, केन्द्रबाट कुनै पनि दलले उम्मेद्वार छनोट गर्न सकेको छैन।

अहिले मधेश प्रदेशमा पनि स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल होमिएका छन्। प्रदेशको ८ जिल्लाकै स्थानीय तहमा बर्चश्व कायम गर्न दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

मधेश प्रदेशले नेपालको राजनीतिक इतिहासमा पटक-पटक निर्णायक भूमिका निर्वाह गर्दै आइरहेको छ। त्यसैले पनि केन्द्रकै नेताहरु यहाँ सक्रिय भएका छन्। त्यसमाथि पनि मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम र वीरगंज महानगरपालिकामा सबैभन्दा बढी ध्यान केन्द्रित रहेको देखिन्छ।

मधेश प्रदेशमा रहेको १ महानगरपालिका र ३ उपमहानगरपालिकाका लागि गठबन्धनमा आवद्ध दलहरु केन्द्रबाटै बाँडफाँड गर्ने मनस्थितिमा छन्। मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व अहिले लालकिशोर साह गरिरहेका छन्।

उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट विजयी भएका थिए। पछि राजपा र तत्कालिन संघीय समाजवादी फोरम मिलेर जसपा निर्माण भयो।

तत्कालिन ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा पार्टीभित्रै अन्तरद्वन्द्व बढेपछि जसपाको नेतृत्व उपेन्द्र यादवले गरे भने महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेर अलग्गिए। पूर्व राजपाका अधिकांश नेताहरु लोसपामै लागे। तर, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह जसपा रोज्ने मनस्थितिमा पुगे।

सत्तारुढ गठबन्धनमा भागबन्डाका आधारमा जनकपुर उपमहानगरपालिका जसपाले पाउने सम्भावना रहेको नेताहरु बताउँछन्। तर, यस विषयमा अहिले नै निर्णय भइसकेको छैन।

बहालवाला नगरप्रमुख साह अहिले जसपा अध्यक्ष उपेन्द्र यादव कहाँ पुगेर फेरि टिकटका लागि लबिङ गरिरहेका छन्। तर, उनलाई फेरि दोहोरिन सजिलो भने छैन।

यसअघि तत्कालिन संघीय समाजवादी पार्टीबाट नगरप्रमुखमा चुनाव लडेका विष्णुदेव साह समेत जसपाबाट अकांक्षी छन्। जुन लालकिशोरका लागि ठूलै समस्या भएको स्थानीय नेता बताउँछन्।

बलिया आकांक्षी आफूविरुद्ध लागेपछि नगरप्रमुख लालकिशोर अहिले नगरको काम छोडेर पार्टी अध्यक्ष यादवलाई रिझाउनमा व्यस्त देखिएका छन्। नगरको काम छाडेर टिकटकै लागि लागिपरे पछि पार्टीभित्रैबाट असन्तुष्टीको आवाज बढेको जसपाका एक नेताले बताए।

स्थानीयस्तरमा पनि उनको छवि राम्रो नभएकोले पार्टीले उनको विकल्प सोच्नुपर्नेमा स्थानीय नेताले जोड दिन थालेका छन्। उपमहानगरका स्थानीय पनि उनले चुनावमा देखाएका वाचाहरु पूरा नभएको बताउँछन्।

‘पछिल्लो स्थानीय तह निर्वाचनमा यहाँका नगरवासीले मधेश आन्दोलनको मर्म बुझेर पूर्व राजपालाई मत दिएको थियो। लालकिशोर साहलाई होइन’, स्थानीय किसन साहले भने, ‘मेयर पदमा निर्वाचित भएलगत्तै लालकिशोर विलासी जीवनमा व्यस्त भए, नगरवासीको पीडासँग उनलाई कुनै मतलब रहेन, अब जनतासमक्ष कसरी मत माग्न आउँछन्?’ साह जुन सुकै दलबाट आएपनि जनताले विश्वास नगर्ने दाबी गर्छन्।

यता गठबन्धनमा पनि उपमहानगरपालिका जसपालाई नै दिने सहमति बनिसकेको छैन। नेपाली कांग्रेसले त्यहाँ आफ्नो दाबी गरिरहेको छ।

कांग्रेसबाट उपमहानगरको प्रमुखका प्रत्यासी मनोज साह पनि बहालवाला प्रमुखको कार्यसम्पदन राम्रो नभएको बताउँछन्। उनले लालकिशोरलाई देखाएर मत माग्न नसकिने समेत बताए।

लालकिशोर साहले विकास निर्माणको कामभन्दा बढी कमिसनको चलखेल गरेको र जनकपुरधामको फोहरमैला व्यवस्थित समेत गर्नमा असफल भएको उनले बताए।

'फोहरमैला व्यवस्थापनका लागि पाँच वर्षमा एउटा ल्याण्डफिल साइट र डम्पिङ साइट समेत बनाउन नसकेका मेयरलाइ कसरी भोट दिने ?' उनले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell