PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्थानीय चुनावमा मधेश प्रदेशः एमाले र समाजवादी फुट्दा कांग्रेसलाई बोनस, यस्तो छ पछिल्लो रिपोर्ट कार्ड



सुमित मिश्र

स्थानीय चुनावमा मधेश प्रदेशः एमाले र समाजवादी फुट्दा कांग्रेसलाई बोनस, यस्तो छ पछिल्लो रिपोर्ट कार्ड

जनकपुरधामः स्थानीय चुनावमा अहिले देश केन्द्रित छ। केन्द्रमा सत्ता साझेदार गरिरहेका ५ दल गठबन्धन गरेर चुनावमा होमिने निर्णय गरिसकेका छन्। नेकपा (एमाले) लगायतका दलहरु पनि गठबन्धनको प्रयासमा छन्। एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले मधेश प्रदेशका कतिपय स्थानमा उम्मेदवारी सिफारिस गरिसकेका छन्।

८ जिल्ला रहेको मधेश प्रदेशमा १३६ स्थानीय तह छन्।

अहिले एमाले र माओवादी केन्द्रले मधेश प्रदेशमा आफ्नो गतिविधि तीव्र पारेका छन्। मधेश आन्दोलनको नेतृत्व गरेका कतिपय युवा पनि एमालेमा प्रवेश गरेका छन्।

कांग्रेसलाई दल विभाजनको फाइदा

देशैभरिका स्थानीय तहको मत परिणाममा अघिल्लो पटक एमाले पहिलो दल थियो। कांग्रेस दोस्रोमा सीमित थियो। मधेश प्रदेशमा भने अघिल्लोपटक पनि कांग्रेस पहिलो स्थानमा थियो। अन्य दल विभाजित हुँदा अहिले कांग्रेस थप बलियो हुने विश्लेषण हुने गरेको छ।  

आन्‍तरिक कलहका कारण अहिले एमाले विभाजित भएको छ। एमाले जस्तै मधेशको शक्ति संघीय समाजवादी फोरम पनि विभाजित भएको छ। एमाले र समाजवादी विभाजित हुँदा त्यसको लाभ कांग्रेसलाई हुने आकलन गरिएको छ।

कांग्रेसका प्रदेश अध्यक्ष कृष्ण यादव मधेशमा कांग्रेस कमजोर नरहेको बताउँछन्।

यादव भन्छन्, ‘कांग्रेस अहिले पनि मधेशमा पहिलो स्थानमै छ र वैशाख ३० को निर्वाचनपछि अहिलेको भन्दा झनै राम्रो स्थितिमा आउने छ।’

मत परिणामका आधारमा दलीय स्थिति   

मधेश प्रदेशमा १३६ स्थानीय तह छन्। प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। प्रदेशमा कूल एक हजार २७१ वडा छन्।

प्रदेशमा अघिल्लो पटक कांग्रेसले ४० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको थियो। ३३८ वडामा कांग्रेसले जित हासिल गरेको थियो।  

तत्कालीन संघीय समाजवादी फोरम २६ तहमा प्रमुखसहित १९१ वडामा विजयी भएको थियो। तत्कालीन राजपा २५ स्थानीय तह प्रमुख र १९४ वडामा विजयी भएको थियो। एमालेले १८ प्रमुख तथा २३० वडामा र माओवादी केन्द्र २१ प्रमुख र २३१ वडामा विजयी भयो।

जिल्लागत कसको कस्तो?

धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ वटा गाउँपालिका गरी १८ स्थानीय तह छन्। धनुषामा नेपाली कांग्रेसले औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र सबैला नगरपलिकामा प्रमुखमा जित हात पारेको थियो।

त्यस्तै एमालेले मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जित निकालेको थियो। तत्कालीन राजपाले जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिका तथा तत्कालीन संघिय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा जित हात पारेको थियो। माओवादी केन्द्रले शहीदनगर नगरपालिका र विदेह नगरपालिकामा जित हासिल गरेको थियो।

महोत्तरीमा कूल १५ स्थानीय तह छन्। जसमा १० नगरपालिका र ५ गाउँपालिका छन्। महोत्तरीमा कांग्रेसले औरही नगरपालिका, बलवा नगरपालिका र लोहारपट्टी नगरपालिका प्रमुख जितेको थियो। तत्कालीन राजपाले एकडारा गाउँपालिका, जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका र महोत्तरी गाउँपालिकामा जित हासिल गरेको थियो। तत्कालीन समाजवादी फोरमले सोनमा गाउँपालिकामा जित निकालेको थियो।

माओवादी केन्द्रले गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा जितेको थियो। पिपरा गाउँपालिकामा तत्कालीन राजपाबाट विजयी भएका विनोद चौधरीको मृत्युपछि त्यहाँ उपनिर्वाचन हुँदा एमालेले जित निकालेको थियो।

सप्तरीमा कूल १८ स्थानीय तह छन् । जहाँ ९ नगरपालिका र ९ गाउँपालिका छन्। कुल १८ पालिका रहेको सप्तरीमा १६४ वडा छन्।

सप्तरीमा कांग्रेसले अग्नीसाइर गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका, सुरुंगा नगरपालिका र विष्णुपुर गाउँपालिकामा जितेको थियो। त्यस्तै एमालेले कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिका, तत्कालीन राजपाले डाक्नेश्वरी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र हनुमाननगर कंकालिनी गाउँपालिकामा जित हासिल गरेको थियो।

समाजवादी फोरमले खडक नगरपालिका, तिरहुत गाउँपालिका, बोदे बर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकामा विजयी भएको थियो। एक स्थानीय तहमा तत्कालीन नयाँ शक्ति पार्टीले जित निकालेको थियो। मओवादी केन्द्रले प्रमुखमा जित निकाल्न सकेको थिएन।

सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका छन्। जिल्लाका १७ पालिकामा १६४ वडा छन्।

सिरहामा कांग्रेसले कल्याणपुर नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका जितेको थियो। एमालेले नरहा गाउँपालिका, लहान नगरपालिका र सुखीपुर नगरपालिकामा जित हासिल गरेको थियो।

माओवादी केन्द्रले अर्नमा गाउँपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपलिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र मिर्चैया नगरपालिका जितेको थियो। तत्कालीन फोरमले बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, विष्णुपुर गाउँपालिका र सिरहा नगरपालिकामा प्रमुख पदमा विजयी भएको थियो। सिरहामा तत्कालीन राजपाको खातासम्म खुल्न सकेको थिएन। 

सर्लाहीमा सबैभन्दा बढी स्थानीय तह छन्। जहाँ ११ नगरपालिका र ९ गाउँपालिकासहित २० स्थानीय तह छन्। सर्लाहीमा २०० वडा छन्।

सर्लाहीमा कांग्रेसले धनकौल गाउँपालिका, बसबरिया गाउँपालिका, मलंगवा नगरपालिका, रामनगर गाउँपालिका, हरिपूर्वा नगरपालिका प्रमुखमा जित हासिल गरेको थियो। एमालेले ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका र हरिवन नगरपालिका तथा माओवादी केन्द्रले चकरघट्टा गाउँपालिका, बरहथवा नगरपालिका र वाग्मती नगरपालिकामा जित हासिल गरेको थियो।

तत्कालीन राजपाले कविलाशी नगरपालिका, कौडेना गाउँपालिका, चन्द्रपुर नगरपालिका, बलरा नगरपालिका र ब्रह्मपुरी गाउँपालिका, तत्कालीन समाजवादी फोरमले पर्सा गाउँपालिकामा विजयी भएको थियो। 

रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तह छन्। जहाँ १५७ वडा छन्। रौतहटमा कांग्रेसले गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका, माओवादी केन्द्रले कटहरिया नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका तथा राजपाले गुजरा नगरपालिका र गौर नगरपालिकामा जित निकालेको थियो।

तत्कालीन फोरमले गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, बोधीमाई नगरपालिका, माधवनारायण नगरपालिकामा विजयी भएको थियो।

बारामा दुई उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरी १५ स्थानीय तह छन्। कूल १६७ वडा छन्। बारामा कांग्रेसले कलैया उपमहानगरपालिका, करैया गाउँपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र सिमरौनगढ नगरपालिकामा जित हासिल गरेको थियो। एमालेले कोल्हवी नगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका, राजपाले देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाको प्रमुखमा जितेको थियो।

तत्कालीन फोरमले आदर्श कोटवाल गाउँपालिका, पचरौता गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिकामा जित हासिल गरेको थियो।

पर्सामा मधेसमा एक मात्र महानगरपालिका वीरगंज समेत १४ स्थानीय तह छन्। ११२ वडा कायम छन्।

पर्सामा कांग्रेसले धोविनी गाउँपालिका, पर्सागढी नगरपालिका, एमालेले जिराभवानी गाउँपालिका, पटेर्वा सुगौनी, बहादुरमाई गाउँपालिका, माओवादी केन्द्रले छिपहरमाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका र ठोरी गाउँपालिकामा जितेका थिए।

त्यस्तै तत्कालीन समाजवादी फोरमले पकहामैनपुर गाउँपालिका, विन्दवासिनी गाउँपालिका, वीरगंज महानगरपालिका, सखुवा प्रसौनी गाउँपालिकाको प्रमुखमा विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell