PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्वाचन निर्धारित मितिमै हुन्छ, सारियो भने लोकतन्त्र दुर्घटनामा पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया



सुमित मिश्र

निर्वाचन निर्धारित मितिमै हुन्छ, सारियो भने लोकतन्त्र दुर्घटनामा पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुरधाम : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन सारिए लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने बताएका छन्। शनिवार जनकपुरधाममा आयोजना गरिएको एक कार्यक्रममा थपलियाले निर्वाचन कुनैपनि हालतमा नसर्ने भन्दै निर्वाचन सारियो भने लोकतन्त्र नै खतरामा पर्ने बताएका हुन्।

थपलियाले लोकतन्त्रको प्राण वायु निर्वाचन रहेको कारणले निर्वाचनलाई सबैले स्वच्छ रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्नेमा जोड दिए। ‘निर्वाचन हुन्छ वा हुदैन भन्ने संशय उत्पन्न हुने खालको अभिव्यक्ति कतैबाट आउनु भएन। यसप्रति निर्वाचन आयोग गम्भीर रहेको छ। निर्वाचन मिति घोषणा गर्नुपूर्व सबै प्रकारले छलफलहरु भएको र अहिले तयारी भईरहेको अवस्थामा कुनैपनि हालतमा निर्वाचन सारिदैन,’ थपलियाले भने ‘यस्तो खालको भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरु आउँदा निर्वाचन कार्यक्रम नै प्रभावित हुन सक्ने अवस्था आउन सक्छ।’ आयुक्त थपलियाले अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने दावी गरे। उनले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथी गर्ने प्रयास गरियो भने दुर्घटना अवश्य नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ।’

उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए। यो पुरै वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागि आग्रह गरे।  

स्थानीय तहको निर्वाचन लोकतन्त्रको मुहान भएकाले मुहान दुषित भयो भने लोकतन्त्र नै दुषित हुने बताउँदै थपलियाले संचारकर्मीहरुलाई लोकतन्त्रलाई बलियो बनाउने कार्यतर्फ लाग्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell