PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

'नेताको स्वार्थले पार्टी फुटेको हो, असर अत्यन्तै नगन्य छ'



'नेताको स्वार्थले पार्टी फुटेको हो, असर अत्यन्तै नगन्य छ'

आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग चुनाव लड्नुपर्ने पक्का भएपछि नेकपा (एमाले) दबाबमा छ। २०७४ सालको पहिलो शक्ति एमालेलाई योपटक साख जोगाउन निकै चुनौती छ। एमालेले पनि चुनावमा राप्रपा नेपालसँग तालमेल अघि बढाएको छ। दबाबबीच एमालेले चुनावी अभियानलाई तीव्रता समेत दिएको छ। स्थानीय चुनावको सेरोफेरोमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग पहिलोपोस्टका लागि निशा गुरुङले गरेको कुराकानी।

एमालेले स्थानीय तह निर्वाचनको तयारी कसरी गरिरहेको छ?

अहिले हामी उम्मेदवार छनोटको प्रक्रियामा छौँ। सविचवालयको बैठक स्थायी कमिटी, केन्द्रिय कमिटी बसेर निर्णय भएको छ।  महिलासहित तीन/तीन जनाको नाम पठाउन निर्देशन गरेको छ। प्रतिवद्धतापत्र तयारीको काम पनि भइरहेको छ। वैशाख ९ गते घोषणापत्र तयार हुनेछ। वडादेखि गाउँपालिका नगरपालिकामा धमाधम भेला भइरहेको छ। एमालेलाई किन स्थानीय तहमा जिताउनुपर्छ त भनेर भेला प्रशिक्षण भइरहेको छ। पार्टी प्रवेशको लर्को नै लागेको छ। पार्टी प्रवेशको लर्कोले एमालेमा एउटा नयाँ उत्साह नै जागेको छ। कांग्रेस जसपादेखि लिएर माओवादी पार्टी परित्याग गरी व्यापक जनता एमालेमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष केपी कमरेड देशव्यापी दौडाहमा हुनुहुन्छ। किन एमाले स्थानीय तहको सरकारमा आउनुपर्छ भन्ने कुराको सन्देश दिन लागिरहनुभएको छ। हामी सबै लागिपरेका छौँ। पार्टीलाई जिताउनका निम्ति आआफनो ढंगमा।

पार्टी फुटको असर निर्वाचनमा कस्तो पर्ला? पहिलेजस्तो जित हासिल हुन्छ?

फुट्न हुँदै-हुँदैन्थ्यो थियो। जतिसुकै चित्त नबुझे पनि पार्टीभित्रै बसेर वैचारिक छलफल गरेर सुल्झाउनुपर्छ भनेर हामी भन्छौँ तर, मुख्य नेताले नै पार्टी फुटाउने काम गरे। अत्यन्तै गैरजिम्मेवार काम भएको छ। कार्यकर्तालाई धोका दिने काम भएको छ। कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काम भएको छ। तर फुटको असर तलसम्म देखिन्न। नेतृत्व तहलाई पद चाहियो र स्वार्थका आधारमा पार्टी फुटाइएको हो।

हामीले माधव कमरेडलाई भनेका थियौँ तपाई पार्टी फुटाउने काम नगर्नुस्। केपी कमरेडको पनि कमीकमजोरी होला सबै त्यहीँ बसेर वैचारिक संघर्ष गर्ने हो। हिजो भूमिगत कालमा यातना खाएर पञ्चायतको विरुद्धमा जनतालाई गोलबद्ध गर्दै समाजवादको लक्ष्यमा पुग्छौँ भन्दै जनतालाई भरोसा दिँदै एमाले पार्टी बनाउन त्यत्रो मिहेनत गरेको आज एउटा नेताको स्वार्थमा पार्टी फुटेको छ। फुटको असर अत्यन्तै नगन्य छ। मलाई लाग्छ यो फुटको असर छैन। वाग्मती प्रदेशमा झन् असर परेको छैन।

०५४ सालमा बामदेव गौतम कमरेडले पनि पार्टी फुटाउनुभयो।  उहाँले तीन वर्ष पनि पार्टी टिकाउन सक्नुभएन पछि मिल्नुभयो। त्यही पाठ माधव कमरेडले सिक्नुपर्थ्यो। तर गल्ती गर्नुभयो।

हामी पहिलाको जस्तो जित हासिल हुन्छ भन्नेमा ढुक्क छौँ।  एमालेको जग बलियो छ र हामी कुनै पनि हालतमा जित्छौँ।

अल्पमतको सरकारमा जब कमरेड मनमोहन अधिकारीले प्रधानमन्त्री भएका बेला आफ्नो गाउँ आफैँ बनाउँ भन्ने अभियान गर्नुभयो त्यही बेलामा एमालेले गर्छ भन्ने छाप परेको छ। अहिले गठबन्धनको सरकार आएपछि अर्थतन्त्र डामाडोल भएको छ। जनताले यसको मुल्याङ्कन गर्नेछन्।

निर्वाचन आयोगका पछिल्ला निर्णयले समावेशीता धरापमा परेको भनेर आलोचना भइरहेको छ। कांग्रेसकै महिला नेतृहरुले पनि त्यसको विरोध गरेका छन्। एमाले किन बोलिरहेको छैन?

एमाले चुपचाप बस्ने त कुरै छैन। अहिलेसम्म महिलाको सवालमा सबैभन्दा अगाडि पैतृक सम्पत्तिमा समान हकको सवालमा, नागरिकताको सवालमा,  महिला महत्वपूर्ण पदमा जानुपर्ने सवालमा, ३३ प्रतिशत सहभागिताको हकमा हामी अग्रपङ्तिमै छौँ। एमाले महिलाको हकमा चुपचाप बस्दैन।

अहिले सत्ता गठबन्धलाई टेवा पुग्नेगरि महिला नभए पनि हुने संविधान विपरीत काम आयोगले गरेको छ। संविधानले नै एउटा प्रमुख उपप्रमुखमा महिला भनेपछि अरु विकल्पमा जाने अधिकार निर्वाचन आयोगलाई छैन। यो तुरुन्त फिर्ता गर्नुपर्छ।

समावेशीताको कुरालाई एमालेले कसरी सम्बोधन गर्छ? तपाईंले महिला सहभागिताको लागि कस्तो लबिङ गर्दै हुनुहुन्छ?

समावेशीताको विषयमा एमाले संवेदनशील छ। हामी नाम सिफारिस गर्दा महिला अनिवार्य हुनुपर्छ भनेका छौँ। निर्णय लिँदा महिलाहरुलाई प्राथमिकता दिन्छ एमालेले। पार्टीमा खासगरि महिलाको क्षेत्रमा छलफल गर्ने अखिल नेपाल महिला संघबाट भइरहेको छ। मैले महिलालाई न्यूनतम एक तिहाइ पुर्‍याइनुपर्छ भनेर कुरा उठाएको छु। कमिटीहरुमा महिला राख्ने र पार्टीभित्र सदस्य महिलाहरुलाई राख्ने महत्तवपूर्ण जिम्मेवारी इन्चार्ज भूगोलको आधारमा राख्नुपर्ने कुरा उठाउँदै आएको छु। हालको अवस्थामा धेरै महिलाहरुले पनि जिम्मेवारी पाएका छन्। तर पुगेको छैन।

एमालेले योपटक पनि महिलालाई उपप्रमुख मात्रै बनाउने हो कि  प्रमुखमा पनि अघि सार्छ?

प्रमुखमा पनि अखिल नेपाल महिला संघसँग छलफल गरेर कुन ठाउँमा महिला उठाउन जित्ने सम्भावना हुन्छ र कामको मूल्याङ्कन गरेर महिलालाई त्यो ठाउँमा स्थान दिने काम महिला संघसँग छलफलमै छौँ। अहिले पनि हाम्रो समाजको सोच पितृसत्तात्मक छ। व्यवस्था बदलिए पनि सोच परिवर्तन भएको छैन। महिलालाई अझै पनि कमजोर ठानिन्छ। महिला पनि सक्षम छन् र पुरुष समान छन् भन्ने सोच अहिलेसम्म आउन सकेको छैन। राजनीतिक दलभित्र पनि महत्वपूर्ण जिम्मेवारी पुरुषलाई दिइन्छ। अधिकार र स्थानको लागि महिला निरन्तर लड्नुपर्छ। महिला निराश हुनु आवश्यक छैन। हिम्मतका साथ भिजनसहित अगाडि बढ्नुपर्छ। जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ।

स्थानीय तहको निर्वाचनमा धेरै महत्वपूर्ण छ। स्थानीय तहको निर्वाचन भनेको विकासको ढोका खोल्ने जग हो। स्वतन्त्रता बलियो बनाउने जग हो। समाजलाई आर्थिक ,सामाजिक , राजनीतिक परिवर्तन गर्ने जग हो। पाँच वर्षमा धेरै काम गर्न सक्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell