PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेसका देशैभरका साथीहरु तालमेलको पक्षमा छैनन् : गगन थापा, 'केन्द्रले जबरजस्ती गरे मतदाताले फरक निर्णय गर्न सक्छन्'



कांग्रेसका देशैभरका साथीहरु तालमेलको पक्षमा छैनन् : गगन थापा, 'केन्द्रले जबरजस्ती गरे मतदाताले फरक निर्णय गर्न सक्छन्'
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस तालमेलको पक्षमा नभएको दाबी गरेका छन्। सत्ता गठबन्धन तालमेलको लागि अन्तिम कसरतमा जुट्दा महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले यो विषयमा पहिलेदेखि नै आवाज उठाउँदै आएको पनि बताए। ‘नेपाली कांग्रेस देशैभरिका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न। पार्टीका साथीहरु पनि हुनुहुन्न। समर्थक पनि हुनुहुन्न। शुभेच्छुक पनि हुनुहुन्न। मतदाता पनि हुनुहुन्न। मैले धेरै पहिलेदेखि बोल्दै आएको विषय हो यो,' थापाले भने।

आफूले पछिल्लो दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा यही कुरा आएको उनको भनाई थियो। निर्वाचनमा हार्नुपरे हार्न तयार रहेको बरु तालमेलको पक्षमा कोही नरहेको उनले पटकपटक दोहोर्‍याए। 'हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’ थापाले भने, 'बरु निर्वाचनमा हार्नुपरे हारौला।'

निर्वाचनपछि मिलीजुली सरकार बनाउने फरक कुरा रहेको उल्लेख गर्दै थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने तर्क गरे। 'निर्वाचपछि मिलेर सरकार बनाउनु अर्को कुरा हो। तर निर्वाचनअघि तालमेल गरेर जित्नका लागि जाने भनेको चाहि यो स्वाभविक भएन भन्ने कुरा देशभरिका साथीको कुरा छ,' उनले भने। देशभरका महानगर र उपमहानगरको तालमेल र उम्मेद्वार तय गर्न बालुवाटारमा सत्ता साझेदार दलको बैठक शुरु भएको छ। उक्त बैठकमा पनि आफूले तालमेलको पक्षमा नेता कार्यकर्ता नरहेको कुरा राख्ने थापाले बताए। 'म अहिले बैठकमा गएर पनि यो कुरा राख्ने हो। साथीहरुले यतिको कुरा भन्दै गर्दा जबरजस्ती गर्न थाले निर्णय लाद्न थाले मतदाताले हामीले सोचेको भन्दा फरक व्यवहार गर्न सक्छ,' थापाले भने।

अरु पार्टीका नेता कार्यकर्ताकोसमेत यही कुरा रहेको थापाको भनाई थियो।

कांग्रेस कार्यसम्पादन समितिमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि तालमेल हुन नहुने पक्षमा मत राखेका थिए। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन बचाउने जिम्मा कांग्रेसको भएको बताउँदै आएका छन्। आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धनलाई अहिले निर्वाचनमा आएर वेवास्ता गर्न नहुने पक्षमा देउवा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell