PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कस्तो अवस्थामा टाउकोको दुखाइ हुन्छ खतरनाक? चिकित्सकलाई कहिले देखाउने?



कस्तो अवस्थामा टाउकोको दुखाइ हुन्छ खतरनाक? चिकित्सकलाई कहिले देखाउने?
फोटो : Getty Images

टाउकोको दुखाइ धेरै हदसम्म कष्टप्रद हुन सक्छ। लगातार लामो समयसम्म वा बारम्बार देखियो भने यसले निकै समस्या पैदा गर्न सक्छ।

सामान्य टाउको दुख्दा आराम गरे, तरल पदार्थ सेवन गरे वा चिकित्सकको सल्लाहमा औषधि सेवन गरे राहत मिल्न सक्छ। गम्भीर टाउको दुखेको अवस्थामा भने विशेष हेरचाह आवश्यक हुन सक्छ।

सामान्य वा गम्भीर जस्तो भएपनि टाउकोको दुखाइलाई बेवास्ता गर्न नहुने बेङ्ग्लोरको फोर्टिस हस्पिटलकी इन्टरनल मेडिसिन डिरेक्टर डा शीला चक्रवर्ती बताउँछिन्। यो केवल एक लक्षण मात्रै नहुने भन्दै उनले व्यक्तिपिच्छे यसको गम्भीरता फरक हुने बताइन्।

‘शून्यदेखि १० को स्केलमा ७ भनेको गम्भीर टाउको दुखाइ हो। यदि तपाईँलाई दैनिक काममा बाधा पुग्ने गम्भीर टाउको दुख्ने समस्या छ भने तत्काल चिकित्सकको सहयोग लिनपर्छ। अधिकांश टाउकोको दुखाइ सामान्य हुन्छन्। सयमध्ये १० अवस्थामा मात्रै गम्भीर हुन सक्छ, जबकि अन्य ९० अवस्थामा विशेष हेरचाह आवश्यक छैन,’ उनी बताउँछिन्।

एस्टर आरभी हस्पिटलकी न्युरोलोजी कन्सल्टेन्ट डा सौम्या एम भन्छिन्, ‘धेरै मानिसहरूमा नियमित रूपमा टाउको दुख्ने समस्या हुन्छ। कहिलेकाहीँ उनीहरूलाई टाउको दुखाइ सामान्य नहुन पनि सक्छ। उदाहरणका लागि दुखाइको किसिम फरक हुन सक्छ, गम्भीरता वा फ्रिक्वेन्सी बढेको हुनसक्छ, जुन लामो समयसम्म रहनसक्छ।’

डा सौम्या एमका अनुसार गम्भीर टाउको दुखाइको चेतावनीका संकेतहरूमा अचानक टाउको दुख्ने, ५० वर्षको उमेरपछि टाउको दुख्ने, टाउको दुख्ने समय वा गम्भीरता (ढाँचामा परिवर्तन) बढ्ने, एचआईभी र क्यान्सरजस्ता अन्तर्निहित अवस्थामा टाउको दुख्न सुरु गर्नेलगायत छन्। टाउकोको निश्चित भाग दुख्ने, हाछ्युँ गर्दा, खोक्दा वा व्यायाम गर्दा टाउको दुख्ने, टाउकोमा चोट लागेपछि वा लडेर टाउको दुख्ने समस्या देखिनु पनि गम्भीर हुन सक्छ। गर्भावस्थाको समयमा वा सुत्केरी भएपछि सुरु भएको गम्भीर टाउको दुखाइ, दृष्टिमा गडबड, कमजोरी, चेतनाको हानीजस्ता फोकल न्युरोलोजिकल लक्षणहरूसहितको टाउको दुखाइको पनि विशेष ख्याल गर्नुपर्ने उनले बताइन्।

यस्ता प्रकारका दुखाइको बेवास्ता गर्नु हुँदैन :

- दोहोरो दृष्टि देखापरेमा

- वाकवाकी लागेमा

- निन्द्रा बिथोलिएमा र दैनिक काम गर्न समस्या भएमा

- लगातार बान्ता आएमा

- हातखुट्टा सुस्त भएमा

- बोली लर्बरिएमा

- समयसँगै वा औषधिको प्रयोगपछि पनि सुधार नभएमा

- ज्वरो, तौल घट्ने जस्ता विशेषताहरूसहित टाउको दुखेमा

गम्भीर तथा लगातार टाउको दुख्नुका सम्भावित कारणहरू

टाउको किन दुख्छ भनेर हालसम्म कुनै पनि ठोस् कारण फेला परेको छैन। टाउको दुख्नुको विभिन्न कारणहरु हुन सक्छन्।

डा चक्रवर्तीका अनुसार अधिकांश अवस्थामा बाहिरी कारणले टाउको दुख्ने गर्छ।

‘उदाहरणका लागि, चिन्ता पनि टाउको दुखाइको कारण हुन सक्छ। महिलाहरूमा माइग्रेन बढी हुन्छ। सामान्यतया, भोक, तनाव, कम वा अत्यधिक निन्द्रा, उज्यालो बत्ती आदि जस्ता यसको कारणहरू हुन सक्छन्, जसको परिणाम स्वरुप एक प्याटर्नमा टाउकोको आधा भाग दुख्छ। माइग्रेनको हकमा भने औषधिको सेवनमा ढिलाइ गर्दा धेरै दिनसम्म टाउको दुख्ने समस्या हुन सक्छ। यसको उपचारको लागि थुप्रै विकल्पहरू उपलब्ध छन्,’ उनी भन्छिन्।

त्यस्तै, ‘क्लस्टर हेडएक’ पनि गम्भीर टाउको दुखाइको कारण हुन सक्छ। यो प्रायः आँखा रसाउने तथा नाक बन्द हुने लक्षणहरूसँग सम्बन्धित छ, जसको प्रायः ‘साइनस हेडएक’ को रूपमा गलत निदान गरिन्छ।

अर्को अलि असामान्य तर गम्भीर प्रकारको टाउको दुखाइ भनेको ‘थन्डरक्ल्याप हेडएक’ हो। यो अचानक तथा एकदमै असहनीय खालको टाउको दुखाइ हो, जुन चट्यानजस्तै अचानक आउँछ। यसमा दुखाइ ६० सेकेन्ड भित्रमा चरम अवस्थामा पुग्न सक्छ। यस्तो प्रकारको दुखाइ कसरत वा कडा गतिविधि गरेपछि देखा पर्न सक्छ र मानिसलाई बेहोश बनाउन सक्छ।

यसबाहेक, वृद्धहरूमा लगातार टाउकोको दुखाइ लडेर वा अन्य ट्रमाका कारण हुन सक्छ। मस्तिष्कको बाहिर केही रगत जम्दा यस्तो अवस्था आउन सक्छ, जसलाई ‘पोस्ट-ट्रमाटिक हेडएक’ भनिन्छ। यी खालको टाउको दुखाइबाट उपचारमार्फत राहत पाउन सकिन्छ।

स्ट्रोक, हेमोरेजिक, ब्रेन ट्युमर, ब्रेन इन्फेक्सन (ब्याक्टेरियल, भाइरल, फंगल, पारासिटिक, ट्युबरक्युलर), कोर्टिकल भेन थ्रोम्बोसिस, आइडियोप्याथिक इन्ट्राक्रेनियल हाइपरटेन्सन तथा ग्लाउकोमा जस्ता गम्भीर अवस्थाको कारणले पनि टाउको दुख्ने समस्या निम्तिन सक्छ।

चिकित्सकलाई कहिले देखाउने?

यदि ७२ घण्टाभन्दा बढी समयसम्म रहने बारम्बार, गम्भीर टाउको दुखाइ विकसित भएमा चिकित्सा सहायता लिनुपर्ने डा सौम्याको सुझाव छ। ज्वरो आउने, बेहोस हुने, दृष्टिमा गडबड हुने, न्युरोलोजिकल कारणले, अनियन्त्रित बान्ताजस्ता लक्षणका साथमा टाउको दुख्ने नयाँ लक्षण देखापरे तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ।

अर्कोतर्फ डा चक्रवर्तीले टाउको दुखाइको ढाँचाले समस्याको गम्भीरता प्रकट गर्नसक्ने भएकाले कस्तो प्रकारको टाउको दुखाइको अनुभव भइरहेको त्यसअनुसार विचार गर्न सुझाव दिन्छिन्।

लगातार, लामो समयसम्म रहने र बढ्दो पीडा निम्त्याउने टाउको दुखाइलाई बेवास्ता नगर्न चिकित्सकको आग्रह छ। प्रारम्भिक चेक-अप र उपचारहरू गम्भीर जटिलताबाट बच्न वा उपचार गर्न महत्त्वपूर्ण हुने चिकित्सकको भनाइ छ।

टाइम्स अफ इन्डियामा प्रकाशित सामाग्रीको भावनुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell