काठमाडौं : देशका विभिन्न भागमा मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
'हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ,' महाशाखाले जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, 'साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।'
यस्तो छ बुधवारको मौसम पूर्वानुमान
आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। 'देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ,' बुलेटिनमा भनिएको छ, 'प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।'
राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 'देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ' बुलेटिनमा भनिएको छ।