PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित, 'गठबन्धनको विरोधमा उत्रने'



सुमित मिश्र

जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित, 'गठबन्धनको विरोधमा उत्रने'

जनकपुरधाम : सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबन्डा टंगो लगाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबन्डा मिलाएको हो।

भागबन्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ। जनकपुरधामको उपप्रमुख भने नेपाली कांग्रेसले पाएको छ।

गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय भएपछि स्थानीय नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरु आक्रोशित भएका छन्। केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले बताएका छन्।

गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्‍याउने हिसाबले गरिएको भन्दै उनले विद्रोह गर्ने चेतावनी दिए।

भने, ‘हामी केन्द्रको निर्णयको विरोध गर्छौँ। यसले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ। यो निर्णयविरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन्।’

उनले जिल्लामा भएका शीर्ष नेताहरुसँग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको विरोधमा उत्रने चेतावनी समेत दिएका छन्।

यता, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रबाट गठबन्धनबिचको तालमेल स्वीकार गर्नुपर्ने बाध्यता रहे पनि स्थानीय कार्यकर्ताहरुको आक्रोशप्रति आफ्नो सहमति रहेको प्रतिक्रिया दिएका छन्। उनले बिहीबार नेता कार्यकर्ताहरुबिच छलफल गरेर आगामी योजनाबारे निर्णय गर्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell