काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले बुधवार गरेको तालमेलको निर्णयलाई लिएर विरोध जनाएका छन्। निधिले तालमेलको निर्णय कार्यकर्ताको भावना विपरित भएको र मधेश प्रदेश जनता समाजवादी पार्टीलाई जिम्मा लगाउने काम कांग्रेस केन्द्रले गरेको आरोप लगाएका छन्।
'सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जुन किसिमको तालमेलको निर्णय गरेको छ। यो सरासर कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध छ,' नेता निधिले भने, 'यो देशभरीका आम कार्यकर्ताको भावनाविपरित छ।'
बुधवार सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएसँगै निधिले यसको विरोध गरेका हुन्। सत्ता गठबन्धनले मधेश प्रदेशको वीरगंज र जनकपुरको प्रमुख जनता समाजवादी पार्टीले पाउने सहमति गरेका छन्। यसअघि कांग्रेसले जनकपुरको मेयरमा दाबी गर्दै आएको थियो। यद्यपि जनकपुरमा जसपाले दाबी नछाडेपछि कांग्रेसले उपमेयरमा चित्त बुझाउँदै सहमति गरेको हो।
यो पुरै मधेश प्रदेश जसपालाई जिम्मा लगाउने काम भएको निधिको ठहर छ। 'मधेश प्रदेश पुरै जसपालाई जिम्मा लगाउने काम भयो। यसले कांग्रेसलाई थप कमजोर बनाउँछ,' उनले भने, 'यो आत्मघाती तालमेल हो।'
निधिले यस विषयमा मधेश र देशभरका कांग्रेस नेताहरुसँग छलफल गरी आफ्नो पक्षबाट थप निर्णय लिनेसमेत बताए।
यता गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय भएपछि जनकपुरधामका स्थानीय कांग्रेस नेता/कार्यकर्ताले विभिन्न क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।