काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलले देशभर तालमेल गरेर जाने तयारी रहेको बताएका छन्। स्थानीय तहमा ६ महानगर र ११ महानगरमा आफूहरुले तालमेल नीति अनुरुप नै सिट बाँडफाँट गरेको उल्लेख गर्दै प्रचण्डले अरु तहमा पनि सकेसम्म तालमेल हुनुपर्नेमा जोड दिए।
प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तालमेल हुन नसक्ने स्थानमा स्वस्थ प्रतिस्पर्धासमेत गर्न सकिने ठाउँ बाँकी राखेको बताए। 'देशैभरि तालमेल गर्ने भनेर भनेका छौ। साथसाथै कहीकतै त्यस्तो समस्या परो भने गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौ,' प्रचण्डले भने, 'त्यसको अर्थ आफैआफै प्रतिस्पर्धामा प्राथमिकता गर्ने भनेको हैन। प्राथमिकता तालमेलमै हो।'
पत्रकार सम्मेलनमा प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने दाबी दोहोर्याए। निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग उल्लेख गर्दै कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको उनको भनाई थियो। 'हिजोमात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ,' प्रचण्डले भने।
निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह गरे। 'अब केही दोधार छैन होला? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ', अध्यक्ष प्रचण्डले भने। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए।