PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

ललितपुरमा चिरप्रतिद्वन्द्वी : १५ हजार मतान्तरले जित्ने चिरिबाबुको दाबी, ५ हजार मतले जित्ने हरिकृष्णको दाबी



ललितपुरमा चिरप्रतिद्वन्द्वी : १५ हजार मतान्तरले जित्ने चिरिबाबुको दाबी, ५ हजार मतले जित्ने हरिकृष्णको दाबी

ललितपुर : ललितपुर महानगरको मेयरमा यसपटक पुरानै प्रतिद्वन्द्वीबिच भिडन्त हुने पक्का भएको छ। कांग्रेसका तर्फबाट यसअघि मेयरमा निर्वाचित चिरिबाबु महर्जन र नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकरबिच टक्कर पर्ने भएको हो।

दुबै जनाले सोमवार ललितपुरको जिल्ला निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराए। हरिकृष्ण ब्यान्ड बाजासहित आउँदा चिरिबाबु भने दलबलसहित जाउलाखेलबाट निर्वाचन कार्यालय आइपुगेका थिए।

उम्मेद्वारी दर्तापछि हरिकृष्णले यसपटक ५ हजार बढी मत ल्याएर चिरिबाबुलाई हराउने योजना सुनाए। चिरिबाबुले साइकल लेनको नाममा सडकमा पोत्ने काममात्र गरेको आरोप उनको रह्यो। उनले भने, 'चिरिबाबुले साइकल लेनको नाममा सडक पोत्ने काममात्र गरे। यसपटक म ५ हजार बढी मतले जित्छु।'

हरिकृष्णको उम्मेदवारी दर्ता सकिएपछिमात्र चिरिबाबु निर्वाचन कार्यालय आइपुगे। चिरिबाबुलाई उम्मेद्वारी दर्ता गर्नै झन्डै आधा घण्टा समय लाग्यो। उम्मेदवारी दर्तापछि उनले सञ्चारकर्मीसँग यसपटक आफूले जितेरै देखाइदिने ठोकुवा गरे।

'मेरो कामहरु पुरा भएको छैन। प्रोजेक्ट बैंकमा सबै काम लाइनमा छन्। सबै काम एकै कार्यकालमा नसकिने रहेछ। त्यसैले दोहोरिएर उम्मेदवारी दिएको छु। नगरबासीको मायाममता पाएर यहाँहरुलाई वैशाख ३० गते जितेर यहाँहरुलाई देखाउँछु। १५ हजार बढी मतले जित्छु,' उनले भने। यसपटक गठबन्धन भएकोले पनि केही ढुक्का सुनिए चिरिबाबु। ललितपुरमा गठबन्धनबाट उपमेयरमा बाबुराजा महर्जनले उम्मेदवारी दिएका छन्। एमालेबाट उनको प्रतिद्वन्द्वी छिन् अन्जली शाक्य।

चिरिबाबुसँग व्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए। यही विषयमा सोध्दा चिरिबाबुले भने, 'अदालतको कुरा सकिसक्यो।'

हरिकृष्णलाई शुभकामना दिँदै उनले भने, 'उहाँ चै मसँग जित्नुहुन्न।' साइकल लेन बनेन भनेर आरोप लगाउनु आरोप लगाउनु वपक्षीको धर्म निभाउन भएको चिरिबाबुको तर्क थियो। पहिलो कार्यकालमा रहेका अधुरा कामहरु सम्पन्न गर्नु नै पुन: दोहोरिएर उम्मेदवारी दिनुपरेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell