PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

गगनलाई एमाले नेता शेरबहादुर तामाङको प्रश्न : कांग्रेसको घोषणापत्र विवरण पागलपन नभएर के हो त?



गगनलाई एमाले नेता शेरबहादुर तामाङको प्रश्न : कांग्रेसको घोषणापत्र विवरण पागलपन नभएर के हो त?

काठमाडौं : एमाले नेता शेरबहादुर तामाङले कांग्रेसको संकल्पपत्रमाथि आफ्ना अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। एमाले अध्यक्ष ओलीले मंगलवार कांग्रेसको घोषणापत्र पागलहरुको प्रलाप भएको अभिव्यक्ति दिएका थिए।

ओलीको उक्त अभिव्यक्तिविरुद्ध बुधवार कांग्रेस महामन्त्री गगन थापाले रोष प्रकट गरेका थिए। 'जसको मुखमा आंगर छ। उसले ओकल्ने कालै हो,' थापाले आक्रोश व्यक्त गरेका थिए। ओलीले स्वास्थ्यप्रति ख्याल गर्नुपर्ने सुझावसमेत थापाले दिएका थिए। त्यसो त गगनले ओलीलाई ट्युसनसमेत पढाउनुपर्ने भएको बताएका थिए।

‘धेरै सनक्क सन्किँदा शरीरलाई अप्ठेरो पर्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला,' ओलीलाई गगनले थप कटाक्ष गरे, 'ओलीलाई लजिक मन पर्दैन म्याजिक मनपर्छ। भ्याएको बेला ट्युसन पढाउने नै हो।’

यही विषयलाई लिएर एमाले नेता तामाङले सामाजिक सञ्जालमा थापामाथि व्यंग्य कसेका छन्। 'एक जना बबुरो बर्बराउँछ र भन्छ, "केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु।" साँच्चै ट्युसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला। ज्याला चाहिँ के दिने होला?'

त्यसैगरी उनले एमालेले पाँच वर्ष सरकार नचलाएको दाबी गरे। कांग्रेसको संकल्पपत्रमा प्रस्तुत गरिएको खेर गएको पाँच वर्ष शीर्षकमा असहमति जनाउँदै उनले गठबन्धनले चलाएको हिसाब नजोडेर झुटो विवरण पेश गरेको आरोप लगाएका छन्।

'कांग्रेसको घोषणापत्रको सुरुमै खेर गएको ५ वर्षको हिसाब मागिएको रहेछ। पाँच वर्षमा केपी ओलीले करिब साढे तिन वर्षमात्र चलाउनु भयो। यसको समीक्षा नेपाली जनताले गर्ने नै छन्। तर पछिल्लो करिव एक वर्षको हिसाब कस्ले गर्छ? खेर गएको ५ वर्षभित्र गठबन्धनले चलाएको समयको हिसाब छ कि छैन?' तामाङले प्रश्न गरेका छन्, 'पाँच वर्षको हिसाबमा अब बाँकी आधी वर्षको हिसाब के हुन्छ? केपी सरकार बन्नु अगाडिको समेत जोडिएको हो भने त्यतिबेला नेपाली काँग्रेसको सरकार थियो। यति हिसाब पनि नजानेर नेपाली कांग्रेसको घोषणापत्रमा एमालेलाई गाली गर्ने नाममा झुठो विवरण पेश गर्नु सरासर पागलपन नभए के हो त?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell