PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

एमालेमा फर्किए एकीकृत समाजवादीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल



एमालेमा फर्किए एकीकृत समाजवादीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल

हेटौंडाः नेकपा (एकीकृत समाजवादी) छाडेको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन्। पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका हुन्। पोखरेललाई अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका थिए।

एकीकृत समाजवादीमा जिल्ला अध्यक्ष रहेका उनले बुधवारमात्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए। हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिन नपाएका कारण उनले पार्टी छाडेको बताइएको छ। एमालेबाट माधव नेपाल नेतृत्वको समूह छुट्टिएर पार्टी बनेपछि उनी एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष बनेका थिए।

समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको आरोप लगाउँदै पोखरेलसहितका नेताहरुले एकीकृत समाजवादी परित्याग गरेका थिए।

एमालेमा फर्किए लगत्तै पोखरेल चुनावी प्रचार प्रसारमा लागेका छन्। पोखरेल शुक्रवार बिहानै हेटौंडा-५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी भएका हुन्।

पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिँदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामूहिक तस्बिर समेत खिचाए। एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झैं खुसी मिलेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell