PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'आह हेटौंडा' बनाउन मेयरमा मेरो उम्मेदवारी : अनन्त पौडेल, 'गठबन्धन हराउन पार्टीले मलाई छान्यो'



'आह हेटौंडा' बनाउन मेयरमा मेरो उम्मेदवारी : अनन्त पौडेल, 'गठबन्धन हराउन पार्टीले मलाई छान्यो'

हेटौंडा उपमहानगरपालिका मेयरमा एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल चुनावी मैदानमा छन्। एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको र गठबन्धनको उम्मेदवारमा नेपाली कांग्रेसको स्थानीय कमिटीको असन्तुष्टि रहेको अवस्थामा मीनाकुमारी लामासँग पौडेलको चुनावी भिडन्त रोचक हुने देखिन्छ।

यसअघि हेटौंडामा एमालेबाटै हरिबहादुर महत मेयरमा निर्वाचित भएका थिए। यसपटक भने एमालेविरुद्ध पाँच दलको गठबन्धन एक भएको छ। यस्तो अवस्थामा चुनाव जित्ने आधार के छन्? यसै विषयमा मेयरका उम्मेदवार पौडेलसँग पहिलोपोस्टका लागि निशा गुरुङले गरेको कुराकानीको सम्पादित अंश :

हेटौंडाको मेयरमा तपाईंको उम्मेद्वारी किन?

मरो उम्मेदवारी हेटौंडाको विकासको लागि हो। सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास गरेर हेटौंडा उपमहानगरपालिलाई भोलिको महानगरको रुपमा प्रस्तुत गर्नको लागि मेरो उम्मेद्वारी हो।

जित्ने आधार के के छन्?

२०५१ सालमा एमालेको सरकार बनेपछि मैले मकवानपुरको सुकुम्बासी आयोगको जिम्मेवारी प्राप्त गर्दा मकवानपुरमा भूमिहिन तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई ३ हजार २ सय लालपूर्जा वितरण गरेका थिएँ र २०५० सालमा बाढीपिडितलाई पदमपोखरीको वृन्दवनमा ४ सय परिवारलाई ८ महिना भित्रमा घर बनाएर वितरण गरेको सबैलाई थाहा नै छ। त्यसैले पनि मलाई हेटौंडाबासीले मलाई जिताउनु हुनेछ भन्नेमा ढुक्क छु।

जित्ने अर्को बलियो आधार भनेको पार्टी हो। किनभने २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित जनप्रनिधि आइसकेपछि हेटौंडाको मुहार नै फेरिएको छ। आज हेटौंडा उपमहानगरको वडा वडामा विकास भएको छ। हेटौंडा अस्पतालमा निःशुल्क डायलासिस सेवा शुरु भएको छ। १९ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना भएको छ। यो अवधिमा एमालेबाट निर्वाचन मेयरले विकासमा देशकै परिचित उपमहानगरपालिका बनाएकाले सजिलै जित्ने देखिन्छ।

हेटौंडामा एमालेकै मेयरले विकास गरिसके भन्नुभयो, तपाईंको योजना के छन् त?

हेटौंडा प्रदेशको राजधानी भइकन अझै हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाइटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगाएतको क्षेत्रमा काम गर्न बाँकी छ। म ती क्षेत्रमा काम गर्छु।

कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले मेरो कार्यकालमा पक्की पुल निर्माण गर्ने हेटौंडाको मुहार फेर्ने मेरो योजना रहेको छ। हेटौंडा १३ र १४ मा औधोगिक क्षेत्र ल्याउन पनि मेरो ठुलो भूमिका रहेको थियो।  अब औद्योगिक क्षेत्र निर्माण भइसकेपछि जनतालाई रोजगारी दिने पनि मेरो जिम्मेवारी हो।

संविधान सदस्यसमेत भइसकेको तपाई मेयरमा किन?

२०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएपश्चात संविधानसभा संसदीय दलको सचिवको रुपमा रहँदै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलें। संविधान निर्माण गर्ने प्रकृयासमेत मेरो ठूलो भूमिका निभाएँ। हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन हराउन र विकास गर्न पार्टीले मलाई आवश्यक ठानेको छ। परिचित व्यक्ति र जित्न सहज हुनेभएकोले मलाई पार्टीले जिम्मेवारी दिएको छ। संविधान सभाको सदस्य भएको मान्छे मेयरमा उठ्न हुन्न भन्ने पनि त छैन नि।

तपाईंले ‘आह हेटौंडा' बनाउने भन्नुभाको छ, त्यो कसरी सम्भव होला?

हेटौंडालाई आह हेटौंडा बनाउँछु भनिरहँदा त्यसका लागि फराकिलो र व्यवस्थित सडक, स्मार्ट सिटीका जग्गा हेटौंडा उपमहानगरपालिकाका सबै वडामा फूलहरु रोप्नुपर्‍यो र राजमार्गमा आकाशेपुल, ट्राफिक लाइटको व्यवस्था, खेलकुद, खुल्ला स्थानलगायतको क्षेत्रमा काम गर्न सक्यो भने ‘आह’ हेटौंडा अवश्य बन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell