PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास



सुमित मिश्र

बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास
उम्मेदवारको मनोनयन/ फाइल फोटो

जनकपुरधाम : आसन्न स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ। स्थानीय तहको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धनुषामा पनि उम्मेदवारहरूलाई चुनावले छोइसकेको छ। यस्तो अवस्थामा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन्।

मतदातालाई रिझाउन सबैले आ-आफ्नो घरदैलो अभियानलगागतका कार्यक्रमहरू सुरु गरिसकेका छन्। धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ।

जनकपुरधाम उपमहानगरको नगर प्रमुख पदमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये १२ जनाले दलबाट उम्मेदवारी दर्ता गराएका हुन् भने बाँकी सबै स्वतन्त्र उम्मेदवार हुन्।

नगर प्रमुखमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीको कोटाबाट निवर्तमान मेयर लालकिशोर साह, नेकपा (एमाले)बाट शिवशंकर साह (हीरा), लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, जनमत पार्टीबाट अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसबाट बागी उम्मेदवारको रुपमा मनोज साह, स्वतन्त्रतर्फ बलराम महतो, जानकीराम साह, बैधनाथ साहसहित ४१ जना छन्।

जनकपुरधाम उपमहानगरको २५ वटा वडामा वडाध्यक्षको लागि ३३४ जनाले उम्मेदवारी दिएका छन्। २५ वडाका ५० जना खुल्ला वडा सदस्यका लागि ३३६ जनाले उम्मेदवारी दिएका छन् भने २५ जना महिला वडा सदस्यका लागि १७४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, दलित २५ जना वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। यसरी मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गरी १२७ पदका लागि कुल १ हजार ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, उपप्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपप्रमुख रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट उमेश चौधरी लगायत २८ जना छन्।

जनकपुरधाम उपमहानगरको नेतृत्वका लागि यति ठूलो संख्यामा भएको स्वतन्त्र उम्मेदवारीहरुका कारण फेरी पुरानो इतिहास दोहोरिने हो कि भन्ने आँकलन गर्न थालिएको छ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले यस पटकको निर्वाचनमा जनकपुरधाम उपमहानगरमा कुन दल वा स्वतन्त्र उम्मेदवारको स्थिति राम्रो छ भन्न नसकिने बताए।

उनले भने, ‘न दलबाट कोही मजबुत उम्मेदवार छन् न स्वतन्त्रबाटै कोही मजबुत उम्मेदवार छन्, त्यसैले अहिले अनिश्चयको वातावरण छ। यद्यपि जनकपुरधाम दलहरुका लागि भाग्यशाली नरहेको इतिहास फेरी दोहोरिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।’

पहिलेको भन्दा अहिले स्थिति फरक रहेको उनी बताउँछन्। जनकपुरीले सांगठनिक अनुशासन तथा विचारहरु ध्वस्त हुँदै गइरहेकाले अनिश्चयको वातावरण बनेको बताए।

पछिल्लो पटकको स्थानीय निर्वाचनमा पराजित भएका मनोज कुमार साह कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारीको रुपमा चुनावी मैदानमा छन्। जसपाको भागमा नगर प्रमुख परेपछि साहले कांग्रेसबाट राजीनामा दिएका हुन्। कांग्रेसकै बागी उम्मेदवारले जीत्ने जनकपुरधामको इतिहासलाई मेरो उम्मेदवारीले दोहर्‍याउने उनको दावी छ।

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिय छन्। हुन त अघिल्लो मत परिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो। तर, विभाजित भएपछि उसको शक्ति घटेको छ।

यद्यपि, जनमतको हिसाबले दुवै दल प्रतिस्पर्धी हुन्। जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ। त्यसपश्चात मात्रै क्रमशः एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी)को आधार आधा देखिन्छ।

२०७४ को निर्वाचनमा यस उपमहानगरमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो। राजपाबाट जितेका मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहले ११ हजार १६४ मत ल्याएका थिए।

यस्तै, तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए। चुनावपछि मधेसवादी दल राजपा नेपाल र फोरम मिलेपछि जसपा हुँदा मधेसवादी दल निकै शक्तिशाली बनेको थियो।

महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबिच एकता भएर जसपा बनेको थियो। पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे। उपमेयर रिता कुमारी मिश्रले भने ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन्।

यहाँ कसैले सत्तारुढ दलहरुबिच भएको गठबन्धनबाट असन्तुष्ट भएर त कसैले आफ्नो पार्टीबाट टिकेट नपाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

लोसपाबाट नगर प्रमुख पदका अकांक्षी रहेका जानकीराम साह पार्टीभित्र टिकेट पाउने सम्भावना न्यून देखेपछि एमालेमा प्रवेश गरे। उनलाई बालकोटमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए। तर, त्यहाँ पनि नगर प्रमुखको टिकट नपाएपछि जानकीरामले एमाले पनि परित्याग गरेर स्वतन्त्र रुपमा नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराए।

२०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालिन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगर दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई फापेको इतिहास छ।

जनकपुरधाम उपमहानगर देशकै जेठो नगरपालिकाहरुमध्येको एक हो। नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले २०१७ जेठ १३ गतेदेखि लागू हुनेगरी जनकपुर नगरपालिका गठन गरेको थियो।

त्यतिबेला मेयर बनाइदैन थियो। श्यामसुन्दर शर्मालाई जनकपुर नगरपालिकाको पहिलो मेयर म्यान बनाइयो।

तत्कालीन राजा महेन्द्रले २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो।

२०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्वहाली हुँदा २०४७ जेठ २८ गते नगरपालिका ऐन, २०४७ लागू भयो। जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो। प्रजातन्त्र पुनर्वहाली भएपछि २०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भयो।

२०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए। दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट हुन पुगे।

उनले कांग्रेसको बागी उम्मेदवार हुँदै मेयरमा उम्मेदवारी दिए। उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारको रुपमा उपमेयरमा उम्मेदवारी दिए।

त्यो वर्ष बृषेशचन्द्र मेयरमा र लालकिशोर साह उपमेयरमा विजयी भए। कांग्रेसका उम्मेदवार दिगम्बर रायले हार ब्यहोर्नु परेको थियो। प्रजातन्त्र पुनर्वहालीपछि बृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए।

५ वर्षपछि २०५४ सालमा फेरी स्थानीय तहको निर्वाचन भयो। त्यो निर्वाचनमा कांग्रेसबाट दामोदार प्रसाद उपाध्यायले टिकेट पाए। सोही वर्ष बजरंग प्रसाद साह पनि जनकपुरको मेयरका लागि आकांक्षी थिए।

बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुर नगरपालिकाका लागि उम्मेदवारी दिए। त्यो निर्वाचनमा पंचायतकालमा दुई पटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे।

दुई दशकपछि २०७४ मा स्थानीय तह निर्वाचन फेरी भयो । नेपाल संघीयतामा प्रवेश गरिसकेपछिको यो पहिलो निर्वाचन थियो। तर, त्यो निर्वाचनमा बागी वा स्वतन्त्र उम्मेदवारले नभई तत्कालिन राजपाका लालकिशोर साह नगर प्रमुखमा निर्वाचित भए।

त्यो निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गरे।

मधेस आन्दोलन लगत्तै स्थानीय तहको निर्वाचन भएकोले पनि राजपा यति ठूलो मतान्तरले जनकपुरधाममा विजयी भएको र अब त्यस्तो परस्थिति नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। जनकपुरधाममा बागी वा स्वतन्त्र उम्मेदवारहरुको जितको इतिहासका कारण स्वतन्त्र उम्मेदवारहरु हौसिएका छन्।

२०४९ साल र २०५४ सालमा जनकपुर नगरपालिकामा कांग्रेसको बागी उम्मेदवारहरु जिते पनि उनीहरु पछाडिको शक्ति राजनीतिक दल नै रहेको जनकपुरीले बताए। उनले केही राजनीतिक दलको शक्ति र २०५४ सालमा केही जातीय शक्तिका कारण बागी उम्मेदवारले जित निकाल्न सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell