जनकपुरधाम: स्थानीय तहको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा धनुषामा पनि उम्मेदवारहरूलाई चुनावले छोइसकेको छ। उम्मेदवारहरुले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन्। मतदाता रिझाउन घरदैलो अभियानलगायतका कार्यक्रम सुरु भइसकेका छन्।
धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ। नगर प्रमुखका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये १२ जनाले दलबाट र बाँकी स्वतन्त्र उम्मेदवार हुन्।
नगर प्रमुखमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका लालकिशोर साह, नेकपा (एमाले) बाट शिवशंकर साह (हीरा), लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, जनमत पार्टीबाट अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसबाट बागी उम्मेदवारको रुपमा मनोज साह, स्वतन्त्रतर्फ बलराम महतो, जानकीराम साह र बैधनाथ साहसहित ४१ जना छन्।
उपमहानगरको २५ वटा वडामा वडाध्यक्षको लागि ३३४ जनाले उम्मेदवारी दिएका छन्। २५ वडाका ५० जना खुल्ला वडा सदस्यका लागि ३३६ जनाले उम्मेदवारी दिएका छन् भने २५ जना महिला वडा सदस्यका लागि १७४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै, दलित २५ जना वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। यसरी मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गरी १२७ पदका लागि कुल १ हजार ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, उपप्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपप्रमुख रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट उमेश चौधरी लगायत २८ जना छन्।
दोहरिएला इतिहास?
जनकपुरधाम उपमहानगरको नेतृत्वका लागि यति ठूलो संख्यामा भएको स्वतन्त्र उम्मेदवारीहरुका कारण फेरि पुरानो इतिहास दोहरिने हो कि भन्ने आकलन गर्न थालिएको छ।
राजनीतिक विश्लेषक रोशन जनकपुरी उपमहानगरमा कुन दल वा स्वतन्त्र उम्मेदवारको स्थिति राम्रो छ भन्न नसकिने बताउँछन्।
उनले भने, ‘न दलबाट कोही मजबुत उम्मेदवार छन् न स्वतन्त्रबाटै कोही मजबुत उम्मेदवार छन्। अहिले अनिश्चयको वातावरण छ। यद्यपि जनकपुरधाम दलहरुका लागि भाग्यशाली नरहेको इतिहास फेरि दोहोरिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।’
पहिलेभन्दा अहिले स्थिति फरक रहेको उनी बताउँछन्। जनकपुरीले सांगठनिक अनुशासन तथा विचार ध्वस्त हुँदै गइरहेकाले अनिश्चयको वातावरण बनेको बताए।
पछिल्लो पटकको स्थानीय निर्वाचनमा पराजित भएका मनोज कुमार साह कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्। जसपाको भागमा नगर प्रमुख परेपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। कांग्रेसकै बागी उम्मेदवारले जित्ने जनकपुरधामको इतिहासलाई उम्मेदवारीले दोहोर्याउने उनको दाबी छ।
जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिय छन्। हुन त अघिल्लो मत परिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो। तर, विभाजित भएपछि उसको शक्ति घटेको छ।
यद्यपि, जनमतको हिसाबले दुवै दल प्रतिस्पर्धी हुन्। जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ। त्यसपश्चात मात्रै क्रमशः एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) छन्।
+++
२०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने उपमहानगरमा स्वतन्त्र उम्मेदवारलाई फापेको इतिहास छ।
जनकपुरधाम देशकै जेठो नगरपालिकामध्येको एक हो। नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले २०१७ जेठ १३ गतेदेखि लागू हुनेगरि जनकपुर नगरपालिका गठन गरेको थियो।
श्यामसुन्दर शर्मालाई जनकपुर नगरपालिकाको पहिलो मेयर म्यान बनाइएको थियो।
तत्कालीन राजा महेन्द्रले २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो।
२०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्वहाली हुँदा २०४७ जेठ २८ गते नगरपालिका ऐन, २०४७ लागू भयो। जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो। प्रजातन्त्र पुनर्वहाली भएपछि २०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भयो।
२०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए। दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट हुन पुगे। उनले कांग्रेसको बागी उम्मेदवार हुँदै मेयरमा उम्मेदवारी दिए। उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारको रुपमा उपमेयरमा उम्मेदवारी दिए।
त्यो वर्ष बृषेशचन्द्र मेयरमा र लालकिशोर साह उपमेयरमा विजयी भए।
कांग्रेसका उम्मेदवार दिगम्बर रायले हार ब्यहोर्नु परेको थियो। प्रजातन्त्र पुनर्वहालीपछि बृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए।
५ वर्षपछि २०५४ सालमा फेरि स्थानीय तहको निर्वाचन भयो। त्यो निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाए। बजरंगप्रसाद साह पनि जनकपुरको मेयरका आकांक्षी थिए।
बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुरमा उम्मेदवारी दिए। निर्वाचनमा पञ्चायतकालमा दुई पटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे।
दुई दशकपछि २०७४ मा स्थानीय तह निर्वाचन फेरि भयो। नेपाल संघीयतामा प्रवेश गरिसकेपछिको यो पहिलो निर्वाचन थियो। तर, त्यो निर्वाचनमा बागी वा स्वतन्त्र उम्मेदवारले नभई तत्कालीन राजपाका लालकिशोर साह नगर प्रमुखमा निर्वाचित भए।
त्यो निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गरे।
मधेस आन्दोलन लगत्तै स्थानीय तहको निर्वाचन भएकोले पनि राजपा यति ठूलो मतान्तरले जनकपुरधाममा विजयी भएको र अब त्यस्तो परस्थिति नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।
२०४९ र २०५४ सालमा नगरपालिकामा कांग्रेसको बागी उम्मेदवार जिते पनि उनीहरु पछाडिको शक्ति राजनीतिक दल नै रहेको जनकपुरीले बताए। केही राजनीतिक दलको शक्ति र २०५४ सालमा केही जातीय शक्तिका कारण बागी उम्मेदवारले जित निकाल्न सफल भएको उनी बताउँछन्।