PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

रसियाली ग्यास र तेलमा युरोपेली संघ कत्तिको निर्भर छ?



रसियाली ग्यास र तेलमा युरोपेली संघ कत्तिको निर्भर छ?
फोटो : Getty Images

रसियाको ठूलो उर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको छ।

यी देशहरूले रसियाली मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि निर्यात रोकेको ‘गाजप्रोम’ले बताएको बीबीसीले उल्लेख गरेको छ। युरोपेली संघ (ईयू)ले रसियाको यो कदमलाई ‘ब्ल्याकमेल’को रुपमा मान्ने बताएको छ।

रसियाले कसरी रोक्यो ग्यासको प्रवाह?

युक्रेनमाथि हमला गरेपछि पनि रसियाले युरोपका धेरै देशलाई ठूलो मात्रामा ग्यास आपूर्ति गर्दै आएको थियो। तर, पश्चिमी शक्तिहरूले रसियामा आर्थिक प्रतिबन्ध लगाएपछि भने राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अनफ्रेन्ड्ली’ देशहरूले रसियाली मुद्रामा ग्यासको भुक्तानी गर्नुपर्ने घोषणा गरेका छन्।

पुटिनको सोही घोषणापछि नै रसियाको सरकारी ऊर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा आपूर्ति बन्द गरेको बताएको हो। रसियाली मुद्रामा भुक्तानी नगरेसम्म आपूर्ति पुनर्स्थापना नहुने कम्पनीले बताएको छ।

ग्यासको भुक्तानी रुबलमा हुँदा रसियाली मुद्रालाई बल पुग्नेछ र उसको अर्थतन्त्रलाई फाइदा पुग्नेछ।

रुबलमा कसले गरिरहेको छ भुक्तानी?

ईयू कमिसनका अध्यक्ष उर्सुला भोन डर लेयनले रसियाको ‘डिमान्ड’हरूको पालना गरिए ईयूको प्रतिबन्धहरू उल्लङ्घन हुने र त्यसो गर्ने कम्पनीहरूको लागि ‘उच्च जोखिम’ हुने चेतावनी दिएकी छिन्।

जर्मनी, हंगेरी र स्लोभाकियालगायतका केही युरोपेली देशहरूका ग्यास कम्पनीहरू रसियाली बैंक ‘गाजप्रोमबैंक’मार्फत युरोमा ग्यासको भुक्तानी गर्न सहमत भएका छन्। ‘गाजप्रोमबैंक’ले भुक्तानीलाई रूबलमा रूपान्तरण गर्न सक्ने बताइएको छ।

अस्ट्रिया र इटालीका ग्यास कम्पनीहरूले पनि ‘गाजप्रोमबैंक’मा खाता खोल्ने योजना बनाइरहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।

रसियाली ग्यास किन्नेहरूले युरोमा भुक्तान गरेर रूबलमा रूपान्तरण हुनुअघि यसको ‘कन्फर्मेसन’ प्राप्त गर्न सके यसबाट प्रतिबन्धहरूको उल्लङ्घन नहुने ईयूले गत हप्ता बताएको थियो।

तर, ईयूको प्रारम्भिक मार्गनिर्देशनलाई कसरी व्याख्या गर्ने भन्नेबारे देशहरूको फरक-फरक विचार छ। ईयूका कूटनीतिज्ञहरूले पनि उनीहरू यस मुद्दामा थप स्पष्टता चाहेको बताएका छन्।

रसियाले युरोपमा कति ग्यास आपूर्ति गर्छ?

२०१९ सम्ममा रसियाले ईयूमा हुने आयातको ४१ प्रतिशत ग्यास आपूर्ति गरेको थियो। युरोपमा रसियाली ग्यास आपूर्ति रोकिए विशेषगरी इटाली र जर्मनी यसको मारमा पर्नेछन्। यी दुई देशले सबैभन्दा बढी रसियाली ग्यास आयात गर्छन्।

बेलायतमा रसियाले ५ प्रतिशत ग्यास आपूर्ति गर्छ भने अमेरिकाले कुनै पनि रसियाली ग्यास आयात गर्दैन।

रसियाले धेरै मुख्य पाइपलाइनमार्फत युरोपमा ग्यास पठाउँछ। सो ग्यासलाई क्षेत्रीय भण्डारण केन्द्रहरूमा संकलन गरिन्छ र महादेशभरी वितरण गरिन्छ।

पोल्याण्डको ग्यास भण्डारणमा करिब ७६ प्रतिशत ग्यास छ। तर, बुल्गेरियाको भण्डारणमा करिब १७ प्रतिशतमात्रै ग्यास छ।

ऊर्जा नीति अनुसन्धान विश्लेषक सिमोन ट्याग्लियापेट्रा भन्छन्, ‘यो अल्पकालिन समस्या होइन, यो समस्या अर्को विन्टरमा पनि देखिनेछ, त्यसैले यो भण्डारण पुनः पूर्ति गर्न महत्त्वपूर्ण हुन्छ।’

रसियाली ग्यासको विकल्प के-के छन्?

बुल्गेरियाले अजरबैजानबाट ग्यास आयात बढाउनुको साथै टर्की र ग्रीससँग सम्झौता गर्न खोजिरहेको बताएको छ।

त्यस्तै, अमेरिका र खाडी राष्ट्रहरूलगायत ‘अन्य साझेदारहरूबाट ग्यास लिने विकल्पहरू’ भएको पोल्याण्डका उप विदेशमन्त्रीले बीबीसीलाई बताएका छन्।

युरोपले विद्यमान ग्यास निर्यातकर्ताहरू जस्तै कतार, अल्जेरिया वा नाइजेरियाको विकल्प प्रयोग गर्न सक्छ। तर, उत्पादन विस्तार छिटो गर्न व्यावहारिक अवरोधहरू छन्।

अमेरिका यस वर्षको अन्त्यसम्ममा थप १५ अर्ब घनमिटर लिक्विफाइड न्युट्रल ग्यास (एलएनजी) युरोप पठाउन सहमत भएको छ।

युरोपले पनि अन्य ऊर्जा स्रोतहरूको प्रयोग बढाउन सक्छ। तर, तत्काल त्यसो गर्न सजिलो पनि छैन।

ईयूले २०३० अघि युरोपलाई रसियाली ‘फोसिल फ्युल’बाट स्वतन्त्र बनाउने योजना प्रस्ताव गरेको छ। जसमा ग्यास आपूर्तिमा विविधता ल्याउने तथा ‘हिटिङ’ र ‘पावर जेनेरेसन’ले ग्यासलाई प्रतिस्थापन गर्ने उपायहरू समावेश छन्।

रसियाली तेल र ग्यासमा कस्ता प्रतिबन्धहरू लागू छन्?

अमेरिकाले रसियाली तेल, ग्यास र कोइला आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।

बेलायतले यस वर्षको अन्त्यसम्ममा रसियाली तेललाई ‘फेज आउट’ गर्ने बताएको छ भने ईयूले ग्यास आयात दुई तिहाइले घटाउँदैछ।

आफ्नो तेलमाथि प्रतिबन्ध लगाउँदा ‘विश्व बजारको लागि विनाशकारी परिणाम’ निम्तिने रसियाले चेतावनी दिएको छ।

प्रतिबन्धहरूका बावजुद युद्ध सुरु भएदेखि तेल र ग्यासको मूल्य बढेसँगै रसियाले ईयूलाई ‘फोसिल फ्युल’हरू बेचेर आफ्नो आम्दानी लगभग दोब्बर गरेको सेन्टर फर रिसर्च अन ईनर्जी एण्ड क्लिन एयरले जनाएको छ।

रसियाले कति तेल निर्यात गर्छ?

अमेरिका र साउदी अरेबियापछि रसिया विश्वकै तेस्रो ठूलो तेल उत्पादक हो। प्रतिबन्धहरू घोषणा हुनुअघि रसियाबाट प्रतिदिन निर्यात हुने करिब ५० लाख ब्यारेल कच्चा तेलमध्ये आधाभन्दा बढी नै युरोप जान्थ्यो।

रसियाले बेलायतमा तेलको मागको ८ प्रतिशत र अमेरिकामा ३ प्रतिशत आपूर्ति गर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell