- सुभाषचन्द्र देवकोटा -
राजनीति पार्टी भनेको विचारधाराको संस्थागत, संगठित अभिव्यक्ति हो। कुनै पनि राजनीति पार्टीको पहिचान भन्नु उक्त पार्टीले अंगिकार गरेको विचार र त्यो विचारले निर्दिष्ट राजनीति कार्यक्रम नै हुन्।
नेपालको राजनीतिमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको लामो इतिहास र पहिचान छ। उनीहरुले अँगालेको राजनीति विचार, दृष्टिकोण र लोकतान्त्रिक आन्दोलमा गरेको योगदानले गर्दा नै यस्तो पहिचान कायम भएको हो।
नेपाली कांग्रेस पार्टीले राष्ट्रियता, समाजवाद र लोकतन्त्रमा आधारित लोक कल्याणकारी राज्यको अवधारणालाई आफ्नो पार्टीको विचारधाराको मूलतत्त्वको रुपमा मान्दै आएको छ भने, कम्युनिस्टहरुले निजी स्वामित्वमा आधारित सामाजिक, राजनीतिक अर्थ व्यवस्थाको विकल्पमा सामुहिक स्वामित्वमा आधारित सामाजिक, राजनीतिक अर्थ व्यवस्थाको विषयलाई आफ्नो विचारधाराको रुपमा प्रस्तुत गर्दै आएका छन्। नेपाली कांग्रेस बहुदलवादको अनुयायी हो भने कम्युनिस्टहरु साम्यवादको। यिनै आधारभूत भिन्नता नै नेपाली राजनीतिको बहसका केन्द्रविन्दू पनि हुन्।
तर विडम्बना, आज कांग्रेस र कम्युनिस्टहरुका लागि आफ्ना पूर्ववत विचार र अडानहरू एकादेशका दन्त्य कथाजस्तै भएका छन्। वीपी र पुष्पलालका अनुयायी ठान्ने कांग्रेस र कम्युनिस्टहरु विचार, सिद्धान्तविहीन यात्राका यात्री भएका छन्। मात्र सत्ता भोकले व्याकुल बनेका उनीहरूको मकसद नै जसोतसो सत्तामा पुग्ने र राज्यको सम्पत्ति माथि रजाइ गरी आफू र आफ्नाका लागि सुनको लंका निर्माण गर्नु भएको छ।
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा राजनीति पार्टी हो। तसर्थ, समग्र देशको शान्ति, विकास र समृद्धिका लागि कांग्रेस पार्टीको दृष्टिकोण र गतिशीलताको महत्वपूर्ण अर्थ हुन्छ। तर, आफ्नै पार्टीको मूल्य, मान्यतालाई समेत बेदखल गरेर मौकापरस्त बन्न पुग्दा नेपाली कांग्रेस दिशाहीन र कमजोर बन्न पुगेको छ। यसरी एउटा ऐतिहासिक दायित्व बोकेको अगुवा पार्टीले बाटो बिराउँदा देशमा प्रतिस्पर्धात्मक राजनीतिको जग र नेपाली लोकतन्त्रको वैचारिक ढाँचा समेत कमजोर बनेको छ। जनताको शान्ति, विकास र संमृध्दिको सपना तहसनहस भएको छ।
कुनै पनि राजनीति पार्टीले संचालन गर्ने अभियानहरुले उक्त पार्टीमा अन्तरनिहित विचारको प्रतिनित्व गर्नुपर्दछ। तर, आज कांग्रेस त्यो अन्तरनिहित विचारको निष्ठाबाट स्खलित भएको कारण कुहिराको कागजस्तै दोबाटोमा अल्मलिएको छ।
नेपाली कांग्रेसको वैचारिक भाष्यको व्याख्याता वीपी कोइराला थिए जसलाई उनले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको रुपमा सूत्रीकरण गरेका थिए। देशको राष्ट्रियता, मजदुर र गरिव किसानहरु उनका प्राथमिकताका विषय थिए। देशलार्इ
औद्योगिकीकरण गरी आत्मनिर्भर बनाउने र नेपालको स्वतन्त्रता र स्वाधीनताका लागि सबै छिमेकी र शक्तिसँग तटस्थ सहकार्य वीपीका कार्ययोजना थिए। तर, आज वीपीकै विचारको जगमाथि उभिएको कांग्रेसले वीपीको व्याख्याबाट जन्मेको वैचारिक मार्गदर्शन लत्याएको छ। वीपीका विचारका उद्दरणहरू भित्तामा टाँसेर वीपी कै मानमर्दन गरिरहेको छ। यथार्थमा, आजका कांग्रेसहरु वीपीबाट निस्सृत: विचारहरुको अपव्याख्या गर्नुलार्इ बहादुरी सम्झन थालेका छन्।
सत्तामा हुँदा या सत्ता बाहिर हुँदा नव उदारवादको नाउँमा वीपीको समाजवादको अपव्याख्या सबैभन्दा बढी कांग्रेसहरुले नै गर्दै आएका छन्। २०४६ को राजनीति परिवर्तनपछि बीसौं वर्षसम्म देशको शासनसत्तामा कांग्रेस पार्टीले नै रजगज गरेको थियो। आज पनि सत्ताको शिखरमा बसेर कांग्रेस पार्टीले नै देश हाँकिरहेको छ। तर दूर्भाग्य, हलो जोत्ने किसानको फोटो पार्टी कार्यालयको भित्तामा टाँसेर वीपीको सपना पूरा गर्ने कसम खाएका कांग्रेसहरू तिनै हलो जोत्ने किसानहरूको पसिनामा रजार्इ गर्नमा रमाइरहेका छन्। कृषि प्रधान देश भनिए पनि कृषि उत्पादनहरुमा देशलाई आत्मनिर्भर बनाउन कांग्रेससँग कुनै योजना छैन। औद्योगिकीकरण मार्फत् रोजगार सृजना र स्वाधीन अर्थतन्त्रको कुरा गर्नु पर्ने दायित्व बोकेको कांग्रेस उदारीकरणको नाममा नेपाली उद्योगहरूको निजीकरण गर्नमा अगुवा बनेको छ।
समग्रमा भन्नु पर्दा वीपीले राखेको वैचारिक जगबाट नेपाली कांग्रेस धेरै तल झरिसकेको छ। विडम्बना, यसरी झर्दा पनि वर्तमान पुस्ताका कांग्रेसी नेता, कार्यकतामा कुनै आत्मग्लानी देखिँदैन।
वैचारिक दृष्टिकोणको आँखाबाट हेर्दा नेपाली कम्युनिस्टहरुको हालत त झन् कांग्रेसको भन्दा पनि तल गिरेको छ। विभिन्न गुट उपगुटमा विभाजित कम्युनिस्टहरु सबैले आफैलाई अकबरी सुन जस्तै उम्दा क्रान्तिकारी भएको दावी गर्छन्। तर, उम्दा हुनुको मापदण्ड केके छन् त भनेर कसैले सोध्यो भने उनीहरुसँग जवाफ छैन।
आफूलाई मार्क्सवाद, लेनिनवादका सच्चा अनुयायी ठान्ने कम्युनिस्टसँग अब मार्क्सवादसंगत न त राजनीति विचार शेष छ न त जनपक्षीय कुनै कार्यक्रम नै। मार्क्सवादी विज्ञानका वात मार्न पोख्त कम्युनिस्टहरुले सर्वहारा र श्रमजीवी जनताको मुक्तिका कुरा गर्न छोडेको पनि धेरै वर्ष भइसकेको छ।
कम्युनिस्ट घोषणा–पत्र कम्युनिस्ट पार्टीको मर्गदर्शक सिध्दान्त हो। तर विडम्बना, त्यो मर्गदर्शक सिध्दान्तका सबै मानकलाई वाग्मतीमा बगाएर नेपाली कम्युनिस्ट पूँजीवादी सत्ताको हलोमा नारिन पुगेका छन्। श्रमजीवी जनताको राज्यसत्ताको वकालत गर्न छाडेर दलाल पूँजीवादी भनिने संसदीय व्यवस्थालाई नै अन्तिम सत्य मानेर प्रदक्षिणामा व्यस्त छन्। कम्युनिस्टको नाममा कम्युनिस्ट विचारधाराको नै मानमर्दन गरिरहेका छन्। खिल्ली उडाइरहेका छन्।
कम्युनिस्टहरु विचारका पक्का हुन्छन्, आफ्नै गोडामा उभिएर राजनीति गर्ने ल्याकत राख्छन् भन्ने कुरा नेपाली राजनीतिमा किम्वदन्तीजस्तै भएको छ। विचार र व्यवहारका सबै पक्षमा सामन्ती चरित्र ग्रहण गरिसकेका कम्युनिस्टका लागि हिजो आफैँले साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववाद भनेर व्याख्या गरेका स्वदेशी, विदेशी शक्ति केन्द्र आज आएर मक्का मदिना जस्तै पवित्रस्थल बन्न पुगेका छन्। राय सल्लाह लिने र साँझ बिहानमा चिया, कफीको चुस्की लिने थलो बनेका छन्।
सिध्दान्त: कम्युनिस्टहरु व्यक्तिगत सम्पत्तिको विरोधी हुन्छन् र सामुहिकताको कुरा गर्दछन्। तर, त्यसको ठिक विपरीत कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरू धनकुबेर बन्ने होडमा लागेका छन्। शिक्षा, स्वास्थ्य, स्कुल र जग्गा जमिनका दलाल व्यापारी भएका छन्। उनीहरू नै ठूला–ठूला कम्पनीका मालिक बनेका छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय तहका माफियासँग मिलेर सिण्डिकेट चलाइरहेका छन्। आफूअनुकूल राजनीति पार्टी बनाउँछन्, आफू अनुकूल सिध्दान्तको व्याख्या गर्छन्। नेताका प्यादा बनेका कार्यकर्ता, बुध्दिजीवीहरु घोसे मुन्टो लगाएर ताली बजाउँछन्। हँसिया हतौडासहितको झण्डा टाँगेर दलाल पूँजिवादको व्यापार गरिरहेका छन्।
प्रकरान्तले यस्तो सबै कम्युनिस्ट आन्दोलनको बिसर्जनको पूर्व अभ्यास हो। यसरी विचार, विधिका हरेक कोणहरुबाट बिसर्जनको दिशामा अग्रसर कम्युनिस्ट आन्दोलनबाट जनताले कस्तो कम्युनिस्ट भविष्यको अपेक्षा गर्ने हो? आजको गम्भीर प्रश्न हो।
समग्रमा भन्नुपर्दा, देशको राजनीतिमा ढलीमली गर्दै आएका कांग्रेस र कम्युनिस्ट विचारविहीन प्रतिस्पर्धाको अध्याँरो कुनामा बसेर देशको स्वाधीनतामाथि नै करौंती चलाइरहेका छन्। परिणम: देश अन्यौलको खाडलमा भासिँदै गएको छ। जनताले दु:खकष्ट भोगिरहेका छन्।
लोकतन्त्र विचार प्रतिस्पर्धात्मक राजनीति प्रणाली हो। तर, सबै मूल्य मन्यता त्यागेर सत्ताको छिनाझप्टीमा लागेका नेपालका राजनीति दलहरु बिच विचार, विधि र कार्यक्रममा कुनै प्रतिस्पर्धा देखिँदैन। सबै राजनीतिक दलहरु एउटै ड्याङका मुलाजस्ता भएका छन्।
वैचारिक हिसाबले नेपाललाई सुझबुझका साथ अघि बढाउने राजनीति दृष्टिकोण, कार्यक्रम र प्रतिवध्दता कांग्रेस र कम्युनिस्ट दुवैसँग देखिँदैन। जसले गर्दा राजनीति स्थायित्व, शान्ति र संमृध्दिको नेपाली सपना नै भताभुंग बन्न पुगेको छ।
यदि साँच्चै नेपालको राजनीति, साँस्कृतिक र आर्थिक रुपान्तरण गर्ने हो भने सबैभन्दा पहिला देशको राजनीति नेतृत्व गर्न तम्सिएका राजनीतिक संस्थाहरु विशेषगरी कांग्रेस र कम्युनिस्टकै वैचारिक र सांगठानिक रुपान्तरण हुनु जरुरी छ।