PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भरतपुरमा जगन्नाथको दाबी : आश्चर्य हुनेछ, स्वतन्त्र उम्मेदवारले पनि जिते भनेर सबै दंग पर्नेछन्



भरतपुरमा जगन्नाथको दाबी : आश्चर्य हुनेछ, स्वतन्त्र उम्मेदवारले पनि जिते भनेर सबै दंग पर्नेछन्

भरतपुर महानगरपालिकामा कांग्रेसबाट उम्मेदवार दिन केन्द्रले नै रोकेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दिएका छन्। शनिवार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर उनले घरदैलो अभियान शुरु गरिसके।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले देशभरका महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा तालमेल गर्ने सहमति गर्दा भरतपुर माओवादीको भागमा पर्‍यो। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल पुन मेयरको प्रतिस्पर्धामा छन्। भरतपुर पटकपटक माओवादीलाई दिँदा कांग्रेसमा क्षति पुग्ने दाबीका साथ यहाँका कांग्रेस नेता कार्यकर्ता विद्रोही बनेको बताइएको छ।

यसै चुनावी माहोलमा विद्रोही बनेर स्वन्तन्त्रबाट उम्मेदवार बनेका पौडेलसँग पहिलोपोस्टका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंश :

घरदैलो शुरु गरिसक्नुभएको छ, कस्तो छ मतदाताको प्रतिक्रिया?

अभियान उत्साहजनक छ। कांग्रेसका नेता कार्याकर्ताले आफ्नो मनको कुरा बोलेकोमा धन्यवाद भन्नुभएको छ।

रुखबाहेक अन्त भोट हाल्दिनँ भन्नुभएको थियो, भुईकटहर चुनाव चिन्ह पाउनुभयो नि?

त्यो त मेयरमा रुख चिन्ह नै छैन नि हाम्रो महानगरमा। अब हाम्रो प्रतिस्पर्धा हसियाँथौडासँग हो। केन्द्रीय समितिले माओवादीसँग तालमेल गर्ने भनेर गलत निर्णय गरेकोले यस्तो भएको हो। हाम्रो अभियान हँसियाहथौडामा मत हाल्नु हुन्न भन्ने पनि हो।

तपाईंले पार्टीबाट उपमेयरदेखि राष्ट्रिय सभा सांसद जस्ता लाभ लिएर पनि पार्टीको निर्देशन मान्नुभएन भन्ने आरोप त्यतिकै छ!

यो कुरा मैले धेरै ठाउँमा राखेको छु। कांग्रेस बचाउन हँसियाहथौडामा मत हाल्नुहुन्न भनेर नै म विद्रोहमा उभिएको हुँ।

गठबन्धनका उम्मेदवारहरु के भन्छन् भने, अझै पनि समय छ, तपाईले गठबन्धनलाई सघाउनुहुन्छ?

जगन्नाथ पौडेलले भन्ने एउटा गर्ने अर्को हुँदैन। गठबन्धनलाई सघाउँछ भन्ने कुरा भ्रम हो।

कति मतले जित्नुहुन्छ, के छ तपाईंको अनुमान?

आश्चर्य हुनेछ। परिणाम आउने दिन हेर्नुहोला, स्वतन्त्र उम्मेदवारले पनि जित्ने रहेछ भनेर तपाई दंग पर्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell