काठमाडौं : स्थानीय निर्वाचन नजिक दुई प्रहरी संगठनमा नयाँ महानिरीक्षक नियुक्त हुने बताइएको छ। यसका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ।
बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनायो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन्। ३० वर्षे सेवा अवधिका कारण अहिले महानिरीक्षक शैलेश थापा क्षेत्री अवकाश पाउँदै छन्। वैशाख १८ गते उनी पदमुक्त हुनेछन्। अवकाश अगाडि नै महानिरीक्षक नियुक्त गर्ने परम्पराबाट सरकार केही समय यता चुक्तै आएको छ।