काठमाडौं : नेपाली कांग्रेसबाट वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ स्थानीय तहका ३० हजार ६२८ उम्मेदवारी परेको छ। गठबन्धनसँग तालमेल गरी चुनावमा जान लागेको कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१, अन्य सदस्यमा ११ हजार ७८८ गरी जम्मा ३० हजार ६२८ उम्मेदवारी परेको छ।
कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता लिइसकेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। फिर्ता नलिनेको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने प्रावधान क्रियाशील भएको बताए। 'तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनु भएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेको हकमा यो प्रावधान लागू हुने छैन,' आइतवारको पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने।
कांग्रेसका सबै तहका संरचना र भ्रातृ तथा शुभेच्छुक सङ्गठन पार्टीका आधिकारिक उम्मेदवार प्रचार–प्रसार अभियानमा जुटेका छन्। निर्वाचन अभियानलाई मर्यादित, अनुशासित र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गरिएका छन्। साथै कांग्रेसका सबै तहका संरचनाअन्तर्गत प्रचार–प्रसार र निर्वाचन परिचालन उपसमिति गठन गरिएका छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार–प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिइएको छ।
सातै प्रदेशमा आमसभा, स्थानीय तहमा ‘थोरै सभा, धेरै घरदैलो’
यसबाहेक पार्टीले प्रदेश १ को मोरङमा यही वैशाख २१ गते, मधेस प्रदेशको धनुषामा वैशाख २२ गते, बागमती प्रदेशको काठमाडौँमा वैशाख २३ गते, गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा गर्ने तयारी गरेको नेता महतले जानकारी दिए।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ। पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को आइतवार बसेको बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने÷गराउने निर्णय गरेको छ। बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा प्रदीप पराजुलीको उपस्थिति थियो।