PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

के ‘ब्रेकफास्ट’ दिनको सबैभन्दा महत्वपूर्ण खाना हो?



के ‘ब्रेकफास्ट’ दिनको सबैभन्दा महत्वपूर्ण खाना हो?

‘ब्रेकफास्ट’को शाब्दिक अर्थ नै फास्ट ब्रेक गर्ने अथवा व्रत तोड्ने हो। रातभर भोकै रहेपछिको यो दिनको पहिलो खाना हो।

सन् १९६० को दशकमा अमेरिकी पोषण विशेषज्ञ एडेल डेभिसले ‘ब्रेकफास्ट राजाले जसरी, लन्च राजकुमारले जसरी र डिनर गरिबले जसरी खानुपर्छ’ भनेपछि ब्रेकफास्टलाई दिनको सबैभन्दा महत्वपूर्ण खानाको रुपमा हेर्न थालिएको हो। स्वस्थ रहन र मोटोपना हुन नदिन यसो गर्नुपर्ने डेभिसको सुझाव थियो

धेरैले अहिलेको समयमा ब्रेकफास्टमा त्यति ध्यान दिन छोडेको भएपनि अझै अधिकांश मानिसहरुको लागि यो महत्वपूर्ण खाना हो। ब्रेकफास्टले शरीरलाई महत्त्वपूर्ण पोषक तत्वहरू प्रदान गर्ने तथा उर्जावान र पोषणयुक्त महसुस गरी दिनको सुरुवात गर्न मद्दत पुग्ने विश्वास गरिन्छ। यसले वजन घटाउन पनि धेरै हदसम्म मद्दत गर्ने धेरैको विश्वास छ।

तर, के साँच्चै ब्रेकफास्ट दिनको सबैभन्दा महत्त्वपूर्ण खाना हो त?

पोषणसम्बन्धि धेरै चीजहरुमा जस्तै यसको जवाफ पनि जटिल छ। केही अनुसन्धानले ब्रेकफास्ट छोड्दा हानिकारक हुँदैन भन्ने सुझाव दिएका छन् भने अन्य अनुसन्धानको सुझाव विपरीत छ।

ब्रेकफास्टसहित नियमित खाना र खाजा खाँदा शरीरलाई राम्रोसँग काम गर्न आवश्यक ऊर्जा र पोषक तत्वहरू पाउन सकिन्छ। यद्यपि, अन्य समयको खानामा आवश्यक पोषक तत्वको मात्रा पुर्‍याउन सके ब्रेकफास्टलाई त्यति महत्त्व दिन आवश्यक छैन।

ब्रेकफास्टको समर्थनमा पाइएका प्रमाणहरु

ब्रेकफास्टको फाइदाको बारेमा गरिएका अधिकांश दाबीहरू मुख्यतया अवलोकन अध्ययनबाट आएका हुन्। यसबाट कारण र प्रभावबारे प्रमाणित गर्न सकिँदैन।

उदाहरणको लागि हरेक दिन ब्रेकफास्ट खाने मानिसहरुमा यी स्वास्थ्य समस्याको जोखिम नहुने २०२१ मा गरिएको १४ अवलोकन अध्ययनको निचोड छ। 

- हृदय रोग

- मधुमेह

- मोटोपना

- उच्च रक्तचाप

- स्ट्रोक

- पेटको मोटोपना

- कार्डियोभास्कुलरसँग सम्बन्धित मृत्यु

- कोलेस्ट्रोल (एलडीएल)

यो विशेष समूहको अध्ययनले ब्रेकफास्ट खानेहरूलाई माथि उल्लिखित हृदय तथा मेटाबोलिकसम्बन्धि रोगहरूको जोखिम कम हुनेमात्र सुझाव दिन्छ। यसले ब्रेकफास्टकै कारणले सो जोखिम कम गर्छ भनेर प्रमाणित गर्दैन।

यद्यपि, ३० हजारभन्दा बढी उत्तर अमेरिकी नागरिकहरूको विवरणको विश्लेषणले ब्रेकफास्ट नखाने मानिसहरूमा महत्त्वपूर्ण पोषक तत्वको कमी हुने सक्ने देखाएको छ।

ब्रेकफास्ट नखानेहरु यी पोषक तत्वहरू निकै कम पाइएको थियो :

- फोलेट

- क्याल्सियम

- आइरन

- भिटामिन ए

- भिटामिन बी वान, बी टू र बी थ्री

- भिटामिन सी

- भिटामिन डी

ब्रेकफास्ट नखाने मानिसहरूमा खाना खाएपछि रगतमा ग्लुकोजको स्तरमा ठूलो वृद्धि भएको केही अध्ययनले देखाएको छ। हाम्रो शरीरको आन्तरिक घडीलाई चलायमान राख्न ब्रेकफास्ट खानु महत्त्वपूर्ण रहेको केही अनुसन्धानकर्ताहरुको सुझाव छ।

के ब्रेकफास्ट नखाए तौल बढ्छ?

धेरै मानिसहरूले ब्रेकफास्ट खाएर दिनको सुरुवात गर्दा तृप्त भएको महसुस गरेको रिपोर्ट गरेका थिए। तर, एक अध्ययनले ब्रेकफास्ट खाने र नखाने दुवै समूहका मानिसहरुले दिनभर करिब समानजसो क्यालोरी सेवनको गर्ने गरेको देखाएको छ।

अर्को ४ महिनाभन्दा बढीमा समय गरिएको एक अध्ययनमा वजन घटाउन चाहेका ३०९ मानिसहरुमा परीक्षण गरिएको थियो। मोटोपन घटाउन ब्रेकफास्ट खाने वा नखाने भन्नेबारे यो परीक्षण केन्द्रित थियो।

अध्ययनको अन्त्यमा अनुसन्धानकर्ताहरूले ब्रेकफास्ट खाएपनि वा नखाएपनि तौल घटाउनमा खासै प्रभावकारी नहुने सुझाव दिएका थिए।

ब्रेकफास्ट खाने सबै मानिसहरु स्वस्थ हुन्छन्?

सन् २०१८ मा गरिएको एक अवलोकन अध्ययनले ब्रेकफास्ट खानेहरूले प्रायः आफ्नो समग्र पोषणमा बढी ध्यान दिने, नियमित रूपमा शारीरिक गतिविधिमा भाग लिने र पर्याप्त रूपमा तनाव व्यवस्थापन गर्ने गरेको देखाएको थियो।

त्यसको विपरित, ब्रेकफास्ट नखानेहरूमा धुम्रपान र मद्यपान जस्ता अस्वस्थ जीवनशैलीको बानीहरू रहने दखिएको थियो। यस्ता व्यक्तिहरूले बढी बोसो, कोलेस्ट्रोल र क्यालोरी भएका आहारहरु खाने पनि अध्ययनले देखाएको छ।

ब्रेकफास्ट मात्रैले नभई स्वस्थ जीवनशैलीका कारण ब्रेकफास्ट खानेहरूको समग्र स्वास्थ्य स्थितिमा योगदान पुगेको यी अध्ययनको सुझाव छ।

ब्रेकफास्टमा के खाँदा ठीक?

यदि तपाईँ नियमित ब्रेकफास्ट खानुहुन्छ भने आफ्नो दिनको सुरुवात पौष्टिक आहारबाट गर्नु उपयुक्त हुन्छ।

यी हुन् स्वस्थ ब्रेकफास्टमा समावेश गर्नुपर्ने खानेकुराहरु :

- अण्डा

- ओटमिल

- दही

- बेरी

- होल-ग्रेन टोस्ट

- चिज

- एभोकाडो

- बदाम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell