PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा



सुमित मिश्र

नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा

जनकपुरधाम: देशकै पुरानो मध्येको एक हो जनकपुरधाम नगरपालिका। संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि जनकपुरधामलाई उपमहानगरमा परिणत गरियो।

२०१७ सालमा नगरपालिका बन्दा जनकपुरधामको मुख्य समस्या थियो :फोहोरमैला व्यवस्थापन र लामखुट्टे नियन्त्रण।

नगरपालिका स्थापनापछि मधेशमा विभिन्न आन्दोलन भए। मुलुकमै व्यवस्था फेरियो। स्थापनाको ६१ वर्षमा कयौँ जनप्रतिनिधि फेरिए। तर नगरको एजेन्डा फेरिएन।

अहिले पनि उम्मेदवारहरूको एजेन्डा फोहोर व्यवस्थापन र लामखुट्टे नियन्त्रण नै रहेको छ। पछिल्लो स्थानीय निर्वाचनमा समेत उम्मेदवारहरूको एजेन्डा यही थियो।

जनकपुरधामलाई सफा र स्वच्छ बनाउने आश्वासन बाँडेर उपमहानगरको प्रमुखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट लालकिशोर साह निर्वाचित भएका थिए। जनप्रतिनिधिले कार्यपालिकाको पहिलो बैठकमै जनकपुरधामलाई ‘सफा र स्वच्छ’ बनाउने निर्णय पनि गरेको थियो। तर निर्णय कागजमै सीमित भयो। उपमहानगरले ल्याण्डफिल्ड साइटका लागि जग्गाको निर्क्योल समेत गर्न सकेन।

यसपटक फेरि निवर्तमान नगरप्रमुख लालकिशोर सफा र स्वच्छ जनकपुरधाम बनाउने एजेन्डा लिएर मतदाता कहाँ पुगेका छन्।

‘कतिपय काम गर्न बाँकी छ। कयौँ काम अधुरै छन्,’ लालकिशोरले भने, ‘अब त्यो सबै पूरा गर्छु। जनकपुरलाई सफा बनाउनेदेखि महत्त्वपूर्ण काम गर्छु।’

साह अहिले गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार हुन्। उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन्। उनीसँगै जनकपुरधामको नगर प्रमुखका लागि ३९ जना प्रतिस्पर्धामा छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नगर प्रमुख पदका उम्मेदवार मनोज चौधरीसमेत आफू निर्वाचित भए जनकपुरधामलाई सफा र स्वच्छ बनाउने कामलाई प्राथमिकतामा राख्ने दाबी गर्दै आइरहेका छन्। पार्टी र आफ्नो चुनावी एजेन्डामा प्राथमिकता साथ उनले फोहोर व्यवस्थापनको मुद्दा उठाएका छन्।

स्वतन्त्रबाट उपमहानगरको नगर प्रमुख पदमा उम्मेदवारी दिएका बलराम महतोको पनि चुनावी एजेन्डा फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइटको व्यवस्थापन नै रहेको छ। उनी भन्छन् ‘एडिबी परियोजना अन्तर्गत जनकपुरधाममा आफूले सडक तथा नाला निर्माणको कार्य गरे। तर, उपमहानगरको व्यवस्थापकीय कमजोरीका कारण त्यसको अहिले दुर्दशा छ। आफू निर्माण व्यवसायबाट आएको व्यक्ति रहेकाले यसको व्यवस्थापन राम्ररी गर्न सक्नेछु।’

जनमत पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएकी अनिता साह अहिलेको जनकपुरधाम वर्तमान अवस्था देखेर ‘नरकपुर’को संज्ञा दिन्छिन्। आफू निर्वाचित भए जनकपुरधामलाई नरकपुरबाट जनकपुरधाम बनाउने प्रतिबद्धता उनको छ। जनकपुरधाममा सार्वजनिक शौचालय अभाव रहेको उल्लेख गर्दै उनले सबै समस्या समाधान गरेर आदर्श नगरी बनाउने उनको दाबी छ।

यस्तै नेपाली कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको समेत मूल एजेन्डा पनि फोहोर व्यवस्थापन नै रहेको छ। बुधबार जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार साहले पनि आफ्नो २१ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए।

‘हाम्रो जनकपुरधाम : राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने प्रतिबद्धताका उनले व्यक्त गरेका छन्। प्रतिबद्धतापत्रमा उनले जनकपुरधाम उपमहानगरभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषि कार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकता अनुसार सामुदायिक संस्था एवम् निजी क्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने उल्लेख गरेका छन्।

मनोजले जनकपुरधाम उपमहानगरपालिकाका प्रत्येक वडामा यथासम्भव हुने गरी सुरक्षित एवम् साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्‍याउन व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको मरम्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिनेलगायतका बुँदा आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell