PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धनुषाको धनौजीमा मतपत्रको विवाद: ८ राउण्ड हवाइ फायर, मतगणना स्थगित



सुमित मिश्र

धनुषाको धनौजीमा मतपत्रको विवाद: ८ राउण्ड हवाइ फायर, मतगणना स्थगित

जनकपुरधाम: धनुषाको धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मत मतपेटिकामा फेलापरेपछि मतगणना स्थगित भएको छ। मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि उत्पन्न भएको विवादले उग्ररुप लिएको छ।

धनौजीस्थित मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको छ।

प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरुले हो हल्ला सुरु गरेका थिए।

‘मतपेटिकामा मतखसेको भन्दा बढी मत फेला परेको छ। निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ।’ उनले भने,

धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो।

मतगणनाको अन्तिम परिणामसम्म अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाका जिवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका छन्।

काङ्ग्रेस मौन छन् भने लोसपा, एमालेलगायतका दलहरु आन्दोलित भएका छन्। उनीहरुले ४५ वटा मत हेरफेर गरिएको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell