PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धाँधलीको आरोपपछि कांग्रेसले फर्कायो जवाफ : परिणाम आफ्नो पक्षमा नआएपछि एमाले अत्तालियो



धाँधलीको आरोपपछि कांग्रेसले फर्कायो जवाफ : परिणाम आफ्नो पक्षमा नआएपछि एमाले अत्तालियो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनमा सत्तारुढ दलले धाँधली गरेको आरोपप्रति नेपाली कांग्रेसले खण्डन गरेको छ। एमालेका महासचिव शंखर पोखरेलले एक विज्ञप्ति जारी गर्दै आइतवार सत्तारुढ दलले योजनाबद्ध धाँधली गरेको आरोप लगाएका थिए। उक्त आरोपको जवाफ फर्काउँदै सोमवार कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले परिणाम आफ्नो पक्षमा नआएपछि एमाले अत्तालिएको दाबी गरे।

'यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं।' 

कांग्रेसले आफ्नो नेतृत्वमामात्र स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन हुने ठोकुवासमेत गरेको छ। 'सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको हो। नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पुर्‍याउन कहिकतै कमी गरेको छै,' विज्ञप्तिमा भनिएको छ, 'यो स्मरण गराउन चाहान्छौं कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ।' 

निर्वाचनको परिणाम आफूले दाबी गरे अनुकुल नआएपछि सरकारी कर्मचारीलाईसमेत दोष दिने गरी एमाले उत्रिएको आरोप कांग्रेसले लगाएको छ। 'निर्वाचनको परिणाम आफूले दाबी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,' कांग्रेसले भनेको छ, 'निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell