PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भतिजा बाधक बन्दा नरसिंहको ११ औं पटक वडाध्यक्ष बन्ने सपनामा लाग्यो 'ब्रेक'



भतिजा बाधक बन्दा नरसिंहको ११ औं पटक वडाध्यक्ष बन्ने सपनामा लाग्यो 'ब्रेक'

काठमाडौं : ११ औं पटक वडाध्यक्ष बन्ने तयारीका साथ निर्वाचनमा होमिएका नरसिंह ब्यञ्जनकारको सपना यसपटक पुरा हुन सकेन। ललितपुरको वडा १० बाट स्वतन्त्र उम्मेदवार रहेका उनी यसअघि १० पटकसम्म जित्दै आएका थिए।

यसपटक भने उनी आफ्नै भतिजासँग पराजित बन्न पुगे। बिहीवार प्राप्त नतिजाअनुसार कांग्रेसले उम्मेदवार बनाएको उनका भतिजा रविनमान ब्यञ्जनकार ६२५ मत पाउँदै वडाध्यक्षमा निर्वाचित हुँदा नरसिंहले जम्म ५४३ मतमात्रै पाए।

५० वर्षसम्म वडा अध्यक्ष भइसकेका ८१ वर्षे नरसिंह भतिजासँग चुनावमा भिड्नुपर्दा सन्तुष्ट भने थिएनन्। कांग्रेसले आफ्नो घर फुटाएको गुनासो थियो उनको।

‘मैले म उम्मेदवार हुन्नँ। अब कति हुने? नयाँ मान्छे पनि आउनुपर्छ भनेर बसेको। तर, कांग्रेसकै मान्छेहरु तपाईँ नभएर हुन्छ? जसरी पनि हुनुपर्‍यो भनेर उम्मेदवारी दिन लगाए। भतिजोलाई पनि उम्मेदवारी दिन भनेका रहेछन्। अब म उम्मेदवार हुने भनिसकेपछि पछि हट्ने कुरा भएन,’ मतदानअघि नरसिंहले भनेका थिए।

२०२९ सालमा नरसिंहले राजनीतिको पहिलो पाइला नै जितमा कन्भर्ट गरेका थिए। ५० वर्ष अघि ललितपुर नगर पञ्चायत जित निकालेका थिए उनले।

२०३४ मा गाउँ फर्क अभियान लागू हुँदा उनी नै वडा अध्यक्ष छानिएका थिए। २०३९ मा पनि नरसिंहकै पोल्टामा आयो वडा अध्यक्षको जिम्मेवारी।

२०४१ को उपचुनाव र २०४३ मा भएको निर्वाचनमा पनि व्यञ्जनकार नै विजयी भए। त्यसपछि भने उनलाई कांग्रेसले तान्यो। स्वतन्त्र उम्मेदवारको यात्रामा ब्रेक लाग्यो। २०४९ को निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बने, निर्विरोध वडा अध्यक्ष। तर, कांग्रेसमा टिकिरहने वातावरण भने बनेन।

‘कांग्रेसमा चित्तै बुझेन। उनीहरुको अनुसार म हुन सकिनँ होला,’ व्यञ्जनकारले सुनाए।

२०५४ सालको चुनावमा फेरि वडा अध्यक्ष बने। त्यसपछि अर्को चुनाव हुन झन्डै २० वर्ष नै लाग्यो। तर, व्यञ्जनकारको वडा अध्यक्ष यात्रा भने टुंगिएन। २०७४ मा पनि वडा अध्यक्षको चुनाव जिते। ह्याट चुनाव चिन्हबाट व्यञ्जनकारले ६ सय ९१ मत ल्याए। कांग्रेसका कर्मलाल व्यञ्जनकारको ५ सय ९४ मत थियो।

यसपटक पुतली चिन्ह लिएर चुनावमा उत्रेका उनका लागि आफ्नै भतिजा बन्यो बाधक र फेरि वडाध्यक्ष बन्ने उनको सपना रह्यो अधुरै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell