
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हदम्यादसम्बन्धी कानुन पुनर्विचार गर्न माग गरेका छन्। शुक्रवार प्रतिनिधि सभामा सम्बोधनको शुरुमै महामन्त्री थापाले यसबारे धारणा राखेका हुन्।
सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै एक किशोरीले न्यायको माग गरेकी थिइन्। १६ वर्षको उमेरमा भएको यौन शोषण ८ वर्षपछि बोलेकी उनको घटनामा हदम्याद लाग्ने भएपछि उनी हतोत्साही बनेकी थिइन्।
यसै विषयको भिडियो आफ्नो श्रीमती र छोरीले हेरिरहेको आफूले देखेको उल्लेख गर्दै थापाले अभियोत लागेकालाई तत्काल अनुसन्धानको घेरामा ल्याउन आग्रहसमेत गरे।
'हिजो साँझ घर जाँदा श्रीमती र दुई सानासाना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफूलाई बलात्कार गरेको घटना बताइरहेकी थिइन्। त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको मेरो छोरीहरु डराएको म त्यो क्षण सम्झिरहेको छु,' थापाले भने, 'म सरकारलाई अभियोग लागेकोलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन हार्दिक आग्रह गर्न चाहन्छु। संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुनको हदम्याद सम्बन्धी विषयका सम्बन्धमा पनि पुनर्विचार गर्न सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक आग्रह गर्न चाहन्छु।' यसै विषयमा शुक्रवार बिहानै प्रधानमन्त्री निवास बालुवाटार नजिकै अभियन्ताहरुले प्रदर्शन गरेका थिए।