PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्थानीय निर्वाचनको रिजल्ट : कांग्रेसले तोड्यो एमालेको अघिल्लो रेकर्ड, माओवादीलाई पनि फाइदा



स्थानीय निर्वाचनको रिजल्ट : कांग्रेसले तोड्यो एमालेको अघिल्लो रेकर्ड, माओवादीलाई पनि फाइदा

काठमाडौं : स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। करिब ७० भन्दा बढी स्थानीय तहको मतपरिणाम आउनुअघि नै सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गत स्थानीय तहको एमालेको रेकर्ड तोडेको छ।

गत निर्वाचनमा एमाले मेयर/अध्यक्षमा २९४ स्थान जित्दै पहिलो दल बनेको थियो। यसपटक भने कांग्रेसले ७० स्थानको मतपरिणाम आउनुअघि नै ३०५ स्थानमा जित हासिल गरिसकेको छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले ११६ मेयर र १८४ स्थानमा अध्यक्ष जित हासिल गरेको छ।

यसैगरी माओवादीले पनि यो स्थानीय निर्वाचनमा आफूलाई सुधार गरेको छ। गत स्थानीय निर्वाचनमा १०६ स्थानमा मेयर/अध्यक्षमा जित निकालेको माओवादीले अहिलेसम्म ११७ स्थानमा मेयर/अध्यक्ष पदमा जित निकालिसकेको छ।

एमाले भने अहिलेसम्म १८४ मेयर/अध्यक्षमा जित निकाल्दै दोस्रो स्थानमा रहेको छ।

उपमेयर/उपाध्यक्षमा पनि कांग्रेसको 'लिड'

उपमेयर/उपाध्यक्षमा कांग्रेसले हालसम्म २७४ स्थानमा जित निकालेको छ। यसअघिको निर्वाचनमा कांग्रेसले २२३ स्थानमा उपमेयर/उपाध्यक्षमा जित निकालेको थियो। यसपटक गठबन्धन गर्दा धेरैजस्तो स्थानमा कांग्रेसले माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई उपमेयर/उपाध्यक्षको स्थान छोडेको थियो।

एमालेले हालसम्म २०८ स्थानमा उपमेयर/उपाध्यक्ष पद जितेको छ। अघिल्लो निर्वाचनमा एमालेले ३३१ स्थानमा उपमेयर/उपाध्यक्षमा जित निकालेको थियो। माओवादीले यसअघिको निर्वाचनमा १११ स्थानमा उपमेयर/उपाध्यक्षमा जित निकालेको थियो। यसपटक भने १२२ स्थानमा उपमेयर/उपाध्यक्ष जित निकालिसकेको छ।

मिल्दै प्रारम्भिक अनुमान

एमालेविरुद्ध पाँच दलीय गठबन्धनले यसपटक तालमेल गरी जाने सहमति गरेको थियो। यद्यपि कतिपय ठाउँमा तालमेल हुन सकेन। छिटफुट स्थानमा माओवादी र एमालेबीच तालमेल भयो त कतै कांग्रेस र एमालेबीच तालमेल भयो। केही स्थानबाहेक सत्ता गठबन्धनले प्रमुख स्थानमा भने तालमेल गर्‍यो र सफल पनि देखियो।

कांग्रेसले स्थानीय निर्वाचनमा आफ्नो दलले ३३० स्थानमा जित्ने अनुमान गरेको थियो। प्रारम्भिक अनुमानअनुसार कांग्रेसले अहिलेसम्म ३०५ स्थानमा जित निकालेको छ र २४ स्थानमा अग्रता कायम गरिरहेको छ। यस्तै गरी एमालेले २०० स्थानमा जित्ने आँकलन कांग्रेसको थियो। एमालेले अहिलेसम्म १८४ स्थानमा मेयर तथा अध्यक्ष जित्दा १७ स्थानमा अग्रता कायम राखेको छ। यता माओवादीले १४५ स्थानमा मेयर तथा अध्यक्ष जित्ने अनुमान सत्तारुढ दलले गरेको थियो। हालसम्म माओवादीले ११७ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अग्रता कायम राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell