PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मधेशका 'भाग्यशाली' निवर्तमानहरु



सुमित मिश्र

मधेशका 'भाग्यशाली' निवर्तमानहरु

जनकपुरधाम : मधेश प्रदेशकाका अधिकांश स्थानीय तहमा निवर्तमान पालिका प्रमुख तथा अध्यक्षहरुलाई जनताले कुर्सीबाट हटाएका छन्। सबैभन्दा नजिकको सरकारको रुपमा परिकल्पना गरिएको स्थानीय सरकार मार्फत पछिल्लो ५ वर्ष शासन गरेका जनप्रतिनिधिहरुलाई जनताले ब्यालेटको माध्यमबाट फेरि शासित हुनबाट अस्वीकार गरेका हुन्।

धनुषाको सबैला नगरपालिका, नगराईन नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, धनौजी गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाहेक सबै पालिकामा निवर्तमान प्रमुख वा अध्यक्षहरुले उम्मेदवारी दिएका थिए। एकाध बाहेक दोहरिन फेरि चुनावी मैदानमा होमिएका निवर्तमान प्रमुख तथा अध्यक्षहरुलाई जनताले हारको स्वाद चखाएका हुन्।

जनताले जनप्रतिनिधिहरुमा नयाँ अनुहारलाई रोजेको समयमा केही यस्ता निवर्तमान नगरप्रमुरख वा अध्यक्षहरु पनि छन जसलाई भने फेरि अवसर दिइएको छ। ‘भाग्यशाली जनप्रतिनिधि’मा धनुषाको विदेह नगरपालिकामा बेचन दास, धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल, महोत्तरीको मटिहानी नगरपालिकामा हरि मण्डल,महहोत्तरीकै लोहारपट्टि नगरपालिका का शैलेन्द्र यादव रहेका छन्।

धनुषाको विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका बेचन दास तत्मा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। पछि एमालेमा प्रवेश गरेपछि फेरि उनलाई विदेह नगरको प्रमुखका लागि टिकेट दियो एमालेले, जनताले उनलाई निराश पारेनन्।

दास ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार ४२६ मत ल्याए। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत मात्रै ल्याउन सके।

दास जस्तै धनुषाको धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल भाग्यशाली साबित भए। नेपाली कांग्रेसबाट फेरि मण्डल धनुषाधामको नगरप्रमुखमा निर्वाचित भएका छन्। उनले ४ हजार ७१८ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए।

यस्तै, धनुषाको धनौजी गाउँपालिकाको उपाध्यक्षमा दोहरिएकी रामवती देवी मण्डललाई जनताले फेरि अवसर दिएको छ।

महोत्तरीमा समेत १५ पालिकामा निवर्तमान प्रमुख तथा अध्यक्षहरु दोहरिएर उम्मेदवारी दिएका थिए। महोत्तरीमा समेत दोहरिएका अधिकांश पालिका प्रमुख तथा अध्यक्षहरुलाई जनताले निराश बनाएको छ। तर, महोत्तरीको मटिहानी नगरपालिकामा नगरप्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाका शैलेन्द्र यादवलाई जनताले फेरि नगर हाँक्ने अवसर दिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका मण्डल ४ हजार ३ मत ल्याई फेरि नगरप्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मोहम्मद मुजिबुल रहमानले २ हजार ६ सय ७४ मत मात्रै ल्याउन सके। तेस्रो स्थानमा रहेका नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ८ सय ९७ मत मात्रै ल्याए।

लोहारपट्टि नगरपालिकाका प्रमुखमा निर्वाचित भएका शैलेन्द्र यादव २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित भएका थिए। उनी पुनः नेपाली कांग्रेसबाटै ५ हजार ४२९ मत ल्याइ विजय भएका छन्। उनको निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रा सुहाग यादवले  ४ हजार ६७५ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell