PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

धनुषाका १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक, कुन पालिकामा कसको जित?



सुमित मिश्र

धनुषाका १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक, कुन पालिकामा कसको जित?

जनकपुरधाम : धनुषाको १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये १० वटा पालिकामा नेपाली कांग्रेस, तीन वटामा जनता समाजवादी पार्टी नेपाल (जसपा), तीनमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विजयी हासिल गरेका छन्।

लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन्। मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन्।

त्यस्तै, नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३ हजार ४६० मत ल्याइन्।

त्यसैगरी, औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन्। साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए।

यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन्।

उता, धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन्। उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन्। यस्तै, वडा नम्बर १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर १ मा लोसपाको प्यानल विजयी भएको हो।

यसैगरी, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएका छन्। यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन्। उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याइन्।

त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन्। एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए।

यस्तै, उपमेयरमा भने एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन्। कांग्रेसकी सीमा कुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन्। नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

धनुषाधाम नगरपालिकामा पनि कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्। उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए।

यस्तै, उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन्। उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन्।

त्यस्तै, कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन्। मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले २ हजार ८५९ मत ल्याए।

यस्तै, उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन्।

शहीदनगर नगरपालिकामा भने जसपाले मेयर र कांग्रेसले उपमेयरमा जितेको छ। मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका हुन्। उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुधिर कुमार गोईतले ४ हजार १०५ मत प्राप्त गरेका हुन्। निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मतमा सीमित भएका छन्।

यस्तै, उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन्।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका उम्मेदवार निर्वाचित भएका छन्। बुधवार आएको मतपरिणाम अनुसार जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए।

यस्तै, उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन्। उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन्।

उता, बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन्। उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन्। उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए।

त्यस्तै, मिथिला नगरपालिकामा कांग्रेसका मेयर र एमालेका उपमेयर निर्वाचित भएका छन्। मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन् भने एकीकृत समाजवादीका सूर्य प्रसाद पुडासैनीले ३ हजार ९०३ मत पाएका छन्।

यस्तै, उपमेयरमा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छिन्। उनले ७ हजार ४१४ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याएकी छिन्। त्यस्तै, नेकपा एकीकृत समाजवादीकी कविता कुमारी सिन्हाले ३ हजार ८६२ मत पाएकी छन्।

त्यस्तै, कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका मेयर र एमालेका उपमेयर निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका विनय कुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याएका छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेश चौधरीले २ हजार ७५८ मत पाएका छन्।

यस्तै, उपमेयरमा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन्। उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन्। त्यस्तै, लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत पाएकी छन्।

त्यसैगरी, गणेशमान चारनाथ नगरपालिकामा कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन्।

त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन्। जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत समेत जोगाउन सकेनन्।

यस्तै, उपमेयरमा कांग्रेसकै तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन्। उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन्। त्यस्तै, माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत पाएकी छन्।

माओवादी केन्द्रले पनि खोल्यो खाता

जिल्लाको सबैला नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएकी हुन्। मेयरमा निर्वाचित कारीरामले ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगत सुन्दर साह मधुपले ४ हजार ७६ मत पाएका छन्। त्यस्तै, एमालेका राजकिशोर यादवले ३ हजार ५८१ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी रहिमा खातुनले ४ हजार ६९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी किरण कुमारी कापरले ३ हजार ६०४ मत पाएकी छन्। त्यस्तै, लोसपाकी नितु यादव पासवानले ३ हजार ६० मत ल्याएकी छन्। मेयरमा निर्वाचित कारीराम मातृका प्रसाद यादवका कान्छो भाइ हुन्।

त्यस्तै, हंसपुर नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लोसपा नेपालबाट निर्वतमान मेयर रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन्। उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी दीपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याइन्।

उता, मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन्। कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३०४ मत ल्याएर निर्वाचित भएका हुन्। प्रतिद्वन्द्वी उम्मेदवार एमालेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत ल्याएका छन् भने माओवादीका सुर्यनारायण मण्डलले ३ हजार ७४५ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शोभा देवी साहले ३ हजार ३३० मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७९७ मत प्राप्त गरेकी छन्।

यसैगरी, क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। आइतवार आएको अन्तिम मतपरिणाम अनुसार एमालेका सुख देव यादव ७ हजार ९१३ मत ल्याएर निर्वाचित भएका हुन्। उनले कांग्रेसका जिल्ला सभापति एवं निवर्तमान मेयर योगेन्द्र पजियारलाई पराजित गरेका हुन्। पजियारले ७ हजार ३ सय मत ल्याएका हुन्।

यस्तै, उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएकी हुन्। उनले ७ हजार ५५० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन्।

धनुषामा अब जनकपुरधाम उपमहानगरपालिकाको नतिजा मात्रै आउन बाँकी रहेको छ। जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये २० वटा वाडाको नतिजा आइ सकेको छ भने ५ वटाको नतिजा आउन बाँकि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell