PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बुटवलमा मेयर र उपमेयरको पदभार ग्रहण, पहिलो निर्णय : सुकुम्बासीलाई लालपूर्जा दिने



बुटवलमा मेयर र उपमेयरको पदभार ग्रहण, पहिलो निर्णय : सुकुम्बासीलाई लालपूर्जा दिने

बुटवल : बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले सोमवार पदभार ग्रहण गरेका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले पदभार ग्रहण गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

बुटवलको प्रमुख समस्याका रूपमा रहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जतिसक्दो छिटो लालपूर्जा उपलब्ध गराउने र उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित रूपमा बजार अनुगमन गरिने र त्यसलाई प्रभावकारी बनाइने निर्णयमा हस्ताक्षर गरेका हुन्।

पदभार ग्रहणपछि बोल्दै नगरप्रमुख पाण्डेयले अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

‘बुटवललाई सवल आर्थिक केन्द्र बनाउने हो यो काम मैलेमात्रै होइन सबैको सहयोगले सबल आर्थिक केन्द्र बन्छ, म जहिले पनि पूर्व जनप्रतिनिधि र बिज्ञहरु सँगै आम बुटवलको बारेमा चासो राख्नेहरुको सुझाव ग्रहण गर्नेछु। आफै बिज्ञ हुने छैन,’ उनले भने, ‘मकै पोलेर जीविका चलाउनेदेखि ठुला उद्योगी सबैको समानहकको बुटवल हो। त्यो समानता सबैका लागि स्थापित भएको छ।’

नगर प्रमुख र उपप्रमुखसँगै सोमबारनै वडा अध्यक्ष तथा सदस्यहरूको सपथ ग्रहण गरिएको हो। यसअघि सोमबार बिहान नगर प्रमुख पाण्डेयलाई जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो। उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई भने नगर प्रमुख पाण्डे आफैंले सपथ ग्रहण गराएका हुन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरी, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाईसहित शुभकामना दिँदै प्राप्त अभिमतलाई उचित कदर गरी जनताको आशा बमोजिम काम गर्न आग्रह गरे।

बुटवलमा नेपाली कांग्रेसका पाण्डेले एमालेका बाबुराम भट्टाराईलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् भने। उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्यालले नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई पराजित गर्दै विजयी भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell