PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बागीकै विरासतबाट मनोजको उदय, कांग्रेससँगै बिद्रोह गरेरै पाए सफलता



सुमित मिश्र

बागीकै विरासतबाट मनोजको उदय, कांग्रेससँगै बिद्रोह गरेरै पाए सफलता

जनकपुरधाम : नेपाली कांग्रेसबाट अलग्गिएर जनकपुरधाम उपमहानगरको प्रमुख पदका लागि निर्वाचन लडेका मनोजकुमार साहले जित निकालेसँगै बागी उम्मेदवार जित्ने इतिहास फेरि दोहरिएको छ।

मनोज १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए। गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान रहे। उनले ५ हजार १ सय ९४ मतमात्रै ल्याउन सके। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए।

२०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारले हरेक पटक जित निकालेको इतिहास छ।

प्रजातन्त्र पुनर्वहाली भएपछि २०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भयो। २०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस भित्र दिगम्बर राय र वृषेशचन्द्र लाल अकांक्षी थिए। दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट हुन पुगे। उनले कांग्रेसको बागी उम्मेबार हुँदै मेयरमा उम्मेदवारी दिए। उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारको रुपमा उपमेयर उम्मेदवारी दिए। त्यस वर्ष बृषेशचन्द्र मेयरमा र लालकिशोर साह उपमेयरमा विजयी भएका थिए। कांग्रेसको आधिकारिक उम्मेदवार दिगम्बर रायलाई हार ब्यहोर्नु परेको थियो। प्रजातन्त्र पुनर्वहालीपछि वृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए।

त्यसको ५ वर्षपछि २०५४ सालमा फेरि स्थानीय तहको निर्वाचन भयो। त्यस निर्वाचनमा कांग्रेसबाट दामोदारप्रसाद उपाध्यायले टिकेट पाए। सोही वर्ष बजरंगप्रसाद साह पनि जनकपुरको मेयरका लागि अकांक्षी थिए। बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुर नगरपालिकाका लागि उम्मेदवारी दिए। त्यस निर्वाचनमा पंचायतकालमा दुईपटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे।

यसपाला जनकपुरधाम उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजले जित निकाले पनि उपप्रमुखमा भने गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५ सय २५ मत ल्याएर निर्वाचित भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालका रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन्।

यस्तो रह्यो मनोजको राजनीतिक यात्रा

मनोजको जन्म २०२८ सालमा भएको हो। सम्पन्न परिवारमा जन्मिएका मनोजको बाल्यकाल सुख शयलमै बितेको थियो। उनका बुवा मोहन राजनीतिमा अभिरुची राखे पनि मनोजमा राजनीतिप्रति रुची थिएन।

जनकपुरधाम उपमहानगर वडा २५ मा रहेको कन्टिर झा नमूना माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरेपछि उनको भेट गणेश झासँग भयो। गणेशले नै मनोजलाई २०४५ सालमा नेता विमलेन्द्र निधिसँग भेट गराएका थिए। सो भेटपछि मात्रै मनोज राजनीतिमा रुची राख्न थालेका थिए। र, कांग्रेसको सदस्यता लिएका थिए।

१७ वर्षको उमेरमा मनोजले प्रजातन्त्र पुनर्वहालीका लागि भएको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। उनले नै कांग्रेसलाई आफ्नो वडामा नेतृत्व प्रदान गरेका थिए।

त्यसपछि २०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका तत्कालीन उम्मेदवार स्वर्गीय महेन्द्र नारायण निधिका लागि आफ्नै वडा १५ मा पोलिङ एजेन्ट तथा २०४९ सालको स्थानीय निर्वाचनमा जनकपुरको मेयरमा उठेका दिगम्बर रायको पोलिङ एजेन्ट भएर काम गरेका थिए।

२०५३ सालको प्रतिनिधि सभामा निर्वाचनमा विमलेन्द्र निधिका लागि पनि पोलिङ एजेन्टको रुपमा काम गरेका थिए उनले। त्यसपछि उनी जनकपुर नगर कमिटीको सदस्य, सचिव हुँदै सभापतिसम्म भए। मनोजले कुवा रामपुरमा रहेको विद्यालयको व्यवस्थापन समितिको सभापति भएर २०५६ सालदेखि २०६४ सालसम्म अध्यक्षको रुपमा समेत काम गरेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मनोजले जनकपुरधाम उपमहानगरको प्रमुख पदका लागि निर्वाचन लड्ने अवसर पाए। तर उनी तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहबाट पराजित भए। त्यस निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गर्न सफल भएका थिए।

यस पटक भने नेपाली कांग्रेसबाट फेरि टिकेट पाउने उनलाई पूर्ण विश्वास थियो। तर ५ दलीय सत्तारुढ दलहरुको गठबन्धनले गरेको सहमतिका आधारमा जनकपुरधामको प्रमुख पद कांग्रेसको कोटामा परेन। त्यसलगत्तै उनी कांग्रेसबाट अलग्गिएर स्वतन्त्र रुपमा निर्वाचन लड्ने मनस्थितिमा पुगेका थिए। र त्यो निर्णय उनका लागि फलदायी रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell